सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश
  • विकास ऋणपत्रमार्फत पौने ६ अर्ब आन्तरिक ऋण उठाइँदै

विकास ऋणपत्रमार्फत पौने ६ अर्ब आन्तरिक ऋण उठाइँदै

  • बुधबार, साउन ३१, २०८०
विकास ऋणपत्रमार्फत पौने ६ अर्ब आन्तरिक ऋण उठाइँदै

काठमाडौँ — नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । ऋणपत्रका लागि बिहीबार (साउन ३२ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र शुक्रबार भदौ १ मा ऋणपत्र निष्काशन गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ‘विकास ऋणपत्र ०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ‚ जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारको लक्ष्यअनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउँदै आएको छ । गत आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकोमा त्यसको ९९.९९ प्रतिशत प्रगति गरेको थियो ।

यद्यपि गत वर्ष सरकारले पहिलो त्रैमासमा आन्तरिक ऋण संकलन नगरी दोस्रो त्रैमासबाट मात्र सुरु गरेको थियो । यस वर्ष वित्तीय प्रणालीमा तरलता अधिक रहेको र ब्याजदर पनि कम रहेकाले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन लागेको हो ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचतपत्र र १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

चालु आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचतपत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको हिस्सा ०.४ प्रतिशत रहेको तालिकामा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार