• होमपेज
  • राजनीति
  • ओलीले भने– डेढवर्ष एउटा नालायक सरकार बन्यो, अर्थतन्त्र ध्वस्त पार्‍यो

ओलीले भने– डेढवर्ष एउटा नालायक सरकार बन्यो, अर्थतन्त्र ध्वस्त पार्‍यो

  • बिहिबार, माघ १९, २०७९
ओलीले भने– डेढवर्ष एउटा नालायक सरकार बन्यो, अर्थतन्त्र ध्वस्त पार्‍यो

विराटनगर  –  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशपछि बनेको सरकारका कारण अर्थतन्त्र डामाडोल बनेको आरोप लगाएका छन् । उनले सोही अवधिमा अर्थतन्त्र ऋणात्मक पुग्न लागेको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरिने बताए । विराटनगरमा आजदेखि सुरु भएको सि आइएन कोसी एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले पुस १० गते यताको सवा महिनामा देशको अर्थतन्त्रमा सुधार गएको दाबी पनि गरे । अहिलेको सरकारले हाताहाती काम गर्नुपर्ने र हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि ? हुँदै छ, मैले तपाईँका कुरा सुने भनेर नहुने पनि बताए ।

‘हाम्रो जीवन जीविका चलाउन तथा राज्य सञ्चालनका लागि मात्रै पनि ऋणात्मक हुने अवस्थामा छौँ । यो अत्यन्तै गम्भीर कुरा हो,’ ओलीले भने, ‘पुस १० गतेसम्मको अवस्था अत्यन्तै निराशाको अवस्था हो । त्यही हिसाबले देश अगाडि जाने हो भने देश बरबाद हुने अवस्था थियो । त्यसयताको सवा महिनामा गरेको प्रयासले केही सकारात्मक कदमहरू चाल्ने र अर्थतन्त्रलाई सकारात्मक दिशामा ल्याउन ठोस कदम चाल्ने काम भएको छ ।’

उनले अहिले कुराको जुहारी गर्ने अवस्था नरहेको पनि बताए । ‘कुराको जुहारीले केही हुनेवाला छैन । कुराले च्यूरा भिज्दैन । अहिलेको औद्योगिक व्यावसायिक क्षेत्रको कुरा पनि त्यही हो । सरकारको कुराले उद्योगीको च्यूरा भिज्दैन,’ ओलीले पूर्व प्रधानमन्त्री तथा नेकपा एसका नेता माधवकुमार नेपालले भनेको कुरा तर्फ व्यङ्ग्य गर्दै भने, ‘एक जना मान्छेले भन्थे नगदा नगदी, हाताहाती भन्ने गर्थे । त्यो उनको पदको कुरा हो । म पदको कुरा होइन । समस्या समाधानको कुरा गरिरहेको छु । अहिलेको सरकारले नगदा नगदी पुरा गर्नुपर्छ, तत्कालको तत्काल । हेर्दै जाउँला, गर्दै जाउँला, ठिक छ नि हुँदै छ । मैले तपाईँका कुरा सुने भनेर हुँदैन । कुरा सुनेर के पशुपतिलाई सुनाएको हो ? यस कुरालाई यो जवाफ यसको समाधान यो भनेर दिनुपर्छ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्धमा आक्रोश व्यक्त गरे । ‘डेढ वर्ष एउटा नालायक सरकार बन्यो । अर्थतन्त्र ध्वस्त भयो । यस्तो निराशा कहिल्यै आएको थिएन । अब फेरि अर्थतन्त्र उँभो लाग्छ । हाम्रा ऋषिमुनीहरु डेढ वर्ष त तपस्या गरेरै बिताउँथे । अलिअलि समस्या आयो भने आत्माहत्यै गर्ने ?’ उनले उद्योगीले गरेको आत्महत्याको कुराप्रति इङ्गित गर्दै भने, ‘कहिले कहिले त नोक्सान हुन्छ, कहिले कहिले घाटा पनि लाग्छ । सूर्यजस्तो चिजलाई त ग्रहण लाग्छ भने हाम्रो उद्योगलाई कहिलेकाहीँ लाग्यो होला ।’

उनले परमादेशबाट आएको ग्रहणले डेढ वर्ष छोप्यो भन्दैमा आत्महत्या गर्न नहुने पनि बताए । ‘दौडिँदा लड्यो भने, खेल्दा लड्यो भने घर गएर आत्महत्या गर्ने हो र ? जुरुक्क उठेर दौडनुपर्छ । फेरि खेल्नुपर्छ । म उद्योगी व्यवसायीलाई आत्महत्याको धेरै चर्चा नगर्न आग्रह गर्छु । अरूलाई पनि त्यसमा प्रोत्साहन हुन्छ । त्यो विषय पनि सोच्ने कुरा हो ? यस्तो सोच्न मिल्छ ? यस्तो हुतीहारा हौं हामी ?,’ उनले आफूले बिताएका कष्टपूर्ण दिन सम्झँदै भने, ‘मलाई डेढ महिनासम्म केही पनि खान नदिएर प्रहरी हिरासतमा राखेर बुट र लाठी मात्रै हान्थे । त्यति गर्दा पनि कहिल्यै पनि हिम्मत हारिएन । ४ वर्ष चिसो सिँढीमा राखेर मन्त्री हुन लागेका होइन भन्दै लात्ताले हान्थे । हुन त प्रधानमन्त्री हुन परेको रहेछ ।’

उनले आफूले भोगेको अरू कथा पनि सुनाउँदै आत्महत्याको बाटो कहिल्यै पनि रोज्न नहुने भन्दै उद्योगी व्यापारीलाई सम्झाए । ‘चिसो छिडिमा बेलुका बस्यो चिसो पानी खनाइरहेको हुन्थ्यो । सुकुलमा बस्यो तलबाट पानी हालिदिन्थे । त्यस्तो जिन्दगी पनि मैले बिताए । तर, आत्महत्याको बाटो कहिल्यै सोचिन,’ उनले भने, ‘बाँचुन्जेल हिम्मत हार्नु हुँदैन । ज्यूँदो मान्छे त मान्छे जस्तै हुनुपर्‍यो नि । बिना मुद्दा थुनेको थुन्यै गरेको अवस्था त भोगेर आइयो । राजनीतिमा मात्रै होइन ग्रहण भनेको सबै ठाउँमा लाग्छ । हामी आशावादी हुनुपर्छ । आत्तिन हुँदैन ।’ उनले उद्योगी व्यापारीको समस्या समाधानका लागि आफूले निरन्तर छलफल गरिरहेको पनि बताए ।

‘मैले चीनतिरबाट पनि बाटो खोलेको छु । कुनै पनि मौसममा नरोकिन डबल लेनको हाइवे किमाथांका–विराटनगर बाटो बन्छ । उतापटि आइसकेको छ,’ आफूले गरेको कामको फेहरिस्त सुनाउँदै उनले भने, ‘मैले चिनिया राष्ट्रपति सी जिङ पिङसँग पनि कुरा गरेको छु । उहाँले तपाईँहरू जति उत्पादन गर्नुहुन्छ । जे जे कुरा उत्पादन गर्नुहुन्छ यहाँ पठाउनुहोस् हामी किन्छौँ भन्नुभएको छ । तपाईँका स्टल राख्नुहोस् कि स्वरुम राख्नुहुन्छ कि सोझै पठाउनु हुन्छ हामी लिन्छौँ भन्नुभएको छ । त्यो भन्दा बढी के भन्नु । उत्पादन बढाउनका लागि पनि सहयोग गर्छौँ भन्नुभएको छ । मैले मोदीजी सँग पनि मैले कुरा गरेको छु,’ ओलीले थपे, ‘अहिले भारतको एउटा बौद्धिक टोली नेपाल आएको छ । नेपाल, भारत, बङ्गलादेश र म्यानमार चारवटा देशको कनेक्टिभिटी, व्यापार, सडक पूर्वाधारको विषयमा अध्ययन गरिरहेको छ । त्यो टोलीसँग हिजो मात्रै मैले लामो समय छलफल गरेको छु । मैले विराटनगरका समस्या भनेको छु, यहाँका जुटका कुरा पनि भनेको छु ।’

चर्चामा

सम्बन्धित समाचार