शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

  • शनिबार, फाल्गुन १४, २०७८
खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ : मन्त्रालय

काठमाडौँ — खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ। खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याए।

राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ। अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ। यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ। उनी भन्छन्, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न। शिक्षा प्रमुख, खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ।”

शिक्षालाई जागिर खाने, व्यवसायमा प्रवेश गरी आर्जन गर्ने माध्यमका रुपमा बुझिन्छ भने खेलकुदलाई व्यक्ति विशेषका रुचिसँग मात्रै हेरिएको छ। अभिभावकले मात्र हैन शिक्षकले समेत खेलिरहेका बालबालिकालाई हप्काउने प्रवृत्तिले खेल क्षेत्रकै विकासमा बाधा अड्चन खडा गरेको छ। आफ्ना बालबालिका खेल विधामा प्रवेश गरेको भनी गौरव गर्ने अवस्था अझै समाजमा विकसित भइसकेको देखिन्न, जुन चिन्तनमा अब व्यापक सुधारको खाँचो छ।

शक्तिशाली र आर्थिक पाटोबाट समृद्ध मुलुकका उच्च ओहोदाका व्यक्तिको तुलनामा खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान माथि छ। ब्राजिल, जर्मन, स्पेन, बेल्जियम, डेनमार्क, क्यामरुन, अर्जेन्टिना, इटालीलगायतका मुलुकमा खेलाडीको हैसियत संसारका कुनै राजनीतिक खेलाडीभन्दा कमजोर छैन।

दक्षिण एसियाली मुलुककै कुरा गर्दा पनि यस क्षेत्रका क्रिकेटप्रतिको सम्मान कुनै राजनेताभन्दा बलियो छ। युरोपेली र अफ्रिकी देशमा फुटबल खेलाडीप्रति लोकप्रियता अझ शिखरमा छ। विश्व वरियातामा रहेका क्रिकेट होस् वा फुटबल खेलका चर्चित खेलाडी युवापुस्तका लागि मात्र होइन, हाम्रै मुलुकका कयौँ पुराना नेताका फ्यान छन्। विश्वका प्रमुख खेलाडीको नाम अहिलेको युवा पुस्तामा मुखाग्र छ, तर त्यही देशका राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको नाम जान्दैनन्, चिन्दैनन्। कुनै मुलुक विशेषभन्दा खेल रङ्गशाला र मैदानको नाम कण्ठस्थ छ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बताउँछन्, “राज्यको उच्च प्राथमिकतामा राखिनुपर्ने खेलकुद क्षेत्रलाई आवश्यकताका आधारमा नभई दयाका आधारमा बजेट छुट्याइने गरेकोप्रति गम्भीर असहमति छ। खेलकुदप्रतिको बुझाइमा व्यापक परिवर्तन ल्याउनुपर्छ।” राजनीतिक दलले खेलाडीलाई सत्तामा पुग्ने भर्याङका रुपमा प्रयोग गर्दै आएको समेत आरोप छ।

मुलुकमा अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएका कारण प्रतिभाशाली खेलाडी अवसर प्राप्तिमा ओझेलमा पर्ने गरेको घटना सुनिँदै आएको छ। राजनीतिक हस्तक्षेपकै कारण कतिपय प्रतिभावान खेलाडीको मनोबल घटाएको छ, कमजोर तुल्याएको छ। खेलकुद विधामा लागेकै कारण हाम्रै कतिपय नेपाली खेलाडी विश्वमा कहलिएका छन्। विभिन्न देशका रङ्गशाला हुन वा खेल मैदानमा मुलुकको शान राष्ट्रिय झण्डा फहराउने र राष्ट्रिय गान घन्काउने अवसर खेल विधाले मात्रै प्रदान गर्दैआएको छ।

खेलकुदका लागि पूर्वाधार, प्रतिभाशाली खेलाडी छनोट र प्रतियोगिता आवश्यक शर्त मानिन्छ। खेल विधा र खेलाडीको महत्व समाजलाई मात्र होइन, सरकारलाई पनि बुझाउन जरुरी छ। मुलुकको खेलकुद क्षेत्रको बजेट विनियोजनको परम्परागत ढर्राले न खेल नत खेलाडीलाई नै प्रेरित गर्न सकेको छ। खेलकुद विधालाई आकर्षित गर्न यसलाई पेसा व्यवसाय बनाएर आयआर्जन गर्न सकिन्छ भन्ने मान्यता र मानसिकता स्थापित गर्न आवश्यक देखिएको छ।

विश्वका धेरै देशमा पर्यटक भित्र्याउने र आर्थिक उपार्जन गर्ने मुख्य माध्यम नै खेलकुद बनिरहेको छ। खेलकुदले मानिसलाई समूहमा काम गर्न र समयको महत्व सिकाउँछ। खेलकुदको विकासमा रेफ्री र प्रशिक्षकको पनि ठूलो हात रहन्छ। खेलकुद क्षेत्रमा लागेर आयआर्जन गरेको विगतमा हामी कहाँ उदाहरण नभए पनि पछिल्ला समय कयौँ खेलाडी विभिन्न क्लबमा अनुबन्धन हुनु यस क्षेत्रका लागि सफल उदाहरण हो।

सचिव रेग्मी भन्छन्, “विद्यालयस्तरबाटै खेलकुद र पढाइलाई सँगसँगै लैजानुपर्छ। खेलकुदसग सम्बन्धित विद्यालय, एकेडेमी र विश्वविद्यालय खोल्नुपर्छ। पढाइमा सबै विद्यार्थीको एउटैस्तर हुँदैन। कुन कक्षाबाट कुन विद्यार्थीलाई कसरी खेलसँग जोड्ने भनी स्पष्ट नीति ल्याउनुपर्छ।” प्रतियोगिता र प्रतिस्पर्धा नहुँदा प्रयोग गर्न नपाएर विद्यार्थीबाट खेल्नेमात्र काम भएको बताउँदै उहाँले विद्यालय तहमै खेलकुदका गतिविधि र प्रतिस्पर्धा बढाउन अब बालबालिकाका लागि खेल प्रतियोगिता हुन पर्यो, त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाउने तयारी गरेको छ।

बालबालिका तहमै खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले ओलम्पिकमै पनि चिल्ड्रेन विधा जोडी सकिएको छ। मुलुकका बालबालिका र युवा जनशक्तिलाई खेलकुद क्षेत्रमा प्रेरित गर्न तलबभत्ता, पुरस्कार र पेन्सन सुनिश्चित गर्न सल्लाह दिइएको छ। खेलकुद विधालाई शिक्षासँग आबद्ध गर्न, आयआर्जनका लागि पेसा÷व्यवसायसँग जोड्ने तथा खेलकुद विद्यालय नै खोल्न विज्ञको सुझाव छ। रासस

चर्चामा

सम्बन्धित समाचार