सोमवार, साउन ११, २०७८
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

  • बुधबार, साउन ६, २०७८
पूर्खाका यी उखान-टुक्का, स्वस्थ र सन्तुलिन जीवन बाँच्न प्रेरित गर्छ

कुनै कुरा व्यक्त गर्ने सबैभन्दा छरितो र चोटिलो माध्याम हो, उखान-टुक्का । नेपाली समाजमा यस्ता उखान–टुक्का सदियौंदेखि प्रचलनमा छन् । कुनै कुराको दृष्टान्तसहित भन्नु परेमा हामी उखान–टुक्काको साहारा लिन्छौं । यि उखान-टुक्काले हामीले भन्न खोजेको कुरा दुरुस्तै र चोटिलो रुपमा व्यक्त गर्छ ।

हाम्रा पूर्खाहरुले आफ्नो भोगाई, बुझाई आदिका माध्यामबाट यस्ता उखान–टुक्का रचना गरे । खासगरी यी उखान-टुक्काले सकारात्मक कुराहरुमा जोड दिएको छ । सही खानपान, सही सोच, सही व्यवहार आदिलाई दर्शाउन पनि उखान–टुक्का रचना गरिएको छ ।

खाने बेला घिन नमान्नु, सुत्ने बेला ऋण नसम्झनु

यो उखान मानसिक स्वास्थ्यसँग जोडिएको छ । अक्सर मान्छे खाना खानेबेला अनेक कुरा सोच्छन्, सुत्नेबला पनि । खानापिन र निद्रा मान्छेको लागि अपरिहार्य हो । खाना खाइरहँदा वा सुतिरहँदा निर्धक्क हुनुपर्छ, अनावश्यक कुराहरु मनमा खेलाउनु हुन्न भन्नका लागि यो उखानले संकेत गर्छ ।

आफु भलो त जगतै भलो

यसले व्यक्तिगत प्रवृत्ति र सामाजिक व्यवहारको तालमेलबारे स्पष्ट पार्छ । आफु राम्रो भएमा वा आफ्नो व्यवहार राम्रो भए, अरुबाट असहयोग, असुविधा झेल्नुपर्दैन । परिवार, आफन्त, गाउँ–छिमेक आदिबाट राम्रो व्यवहार पाउनका लागि आफुले पनि सोही अनुसारको व्यवहार गर्नुपर्ने यसले संकेत गर्छ ।

घाँटी हेरी हाड निल्नु

मान्छेले आफ्नो स्थिती र यर्थाथलाई बुझ्नुपर्छ भन्ने सन्देश छ यसमा । व्यवहारिक बन्न प्रेरित गर्छ । मान्छेलाई आफ्नो हैसियत एवं आफ्नो अवस्था बोध गरेर सोही अनुसार अपेक्षा राख्न सुझाएको छ । अक्सर हामी ठूल–ठूला अपेक्षा गर्छौं । यस्ता इच्छा र अपेक्षाहरुले हामीलाई अरु दुःखी बनाउँछ ।

दुध दिने गाईको लात्ती पनि सहनुपर्छ

यसले खासगरी सहनशिल र क्षमाशिल हुनुपर्छ भन्ने बोध गराउँछ । कुनै कामको प्रतिफलसँगै त्यसमा आउने वाधा–अवरोध पनि झेल्नुपर्छ भन्ने बुझाउँछ यो उखानले । हामी विभिन्न कुराबाट प्रतिफलको आश राख्छौं, लाभको अपेक्षा गर्छौं । तर, त्यसमा आइपर्ने सानोतिनो बाधाहरु छिचोल्न डराउँछौं । यो उखानले कुनैपनि प्राप्ति गर्नुछ भने त्यसमा आइपर्ने चुनौतीसँग पनि जुध्नुपर्छ भन्ने बुझाउँछ ।

जिउँदाको जन्ती मर्दाको मलामी

यो उखानले सामाजिक सद्भाव र परस्पर सहयोगबारे सुझाउँछ । गाउँघर, टोल छिमेक वा समाजमा एकअर्कासँग साथ–सहयोग लिएर–दिएर बाँच्नुपर्छ । छिमेकीको खुसीमा र दुःखमा दुबै असस्थामा सहभागी बन्नुपर्छ । समाजलाई एकढिक्का राख्न र आपसी सम्बन्ध सुमधुर बनाउन यो उखानले प्रेरित गर्छ ।

एक हातले ताली बज्दैन

यो उखान मुलत दाम्पत्य जीवनको तालमेल मिलाउनमा प्रयोग गरिन्छ । साथै कुनैपनि सफलताका लागि एकजुट हुनुपर्ने कुरा सुझाउँछ । एक जनाको वा एक्लो प्रयासबाट केही कुरा संभव हुँदैन । चाहे त्यो पारिवारिक व्यवहार चलाउन होस् वा सामाजिक कार्य गर्न नै, एकअर्काको साथ र सहयोग चाहिन्छ ।

खासगरी श्रीमान र श्रीमतीले पारिवारिक सुखका लागि उत्तिकै सक्रियतासाथ लाग्नुपर्ने बताइन्छ ।

जसले मह काड्छ, उसैले हात चाढ्छ

यसले काम गर्ने, जाँगर चलाउने एवं जागरुक मान्छेलाई प्रेरित गरेको छ । काम गर्ने व्यक्ति नै त्यसको सफलताको हिस्सा हुन्छन् भन्ने कुरा बुझाउँछ । साथसाथै कुनैपनि काम गरेपछि त्यसबाट स्वतः लाभान्वित भइन्छ भन्ने पनि यसले संकेत गर्छ ।

काग कराउँदै गर्छ पिना सुक्दै गर्छ

कुनैपनि काम गर्दा थरीथरी आलोचना, आरोप वा झै–झमेला खेप्नुपर्छ । सार्थक कामहरु गरिरहँदा आउने यस्ता आरोप र आलोचनाप्रति बेवास्ता गरेर अगाडि बढ्नुपर्छ भन्ने यो उखानले दर्शाउँछ ।

चर्चामा

सम्बन्धित समाचार