शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • २० जिल्लामा अत्यधिक गर्मी, एक–दुई स्थानमा वर्षाको सम्भावना

२० जिल्लामा अत्यधिक गर्मी, एक–दुई स्थानमा वर्षाको सम्भावना

  • शुक्रबार, जेष्ठ २२, २०८३
सेयर गर्नुहोस् :
२० जिल्लामा अत्यधिक गर्मी, एक–दुई स्थानमा वर्षाको सम्भावना

बाजुरा– जल तथा मौसम विज्ञान विभागले तातो दिन र तातो हावाको लहरका कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान गरेको छ । कम्तिमा दुई दिन गर्मीका कारण जनजीवन प्रभावित हुने भएकाले सतर्कता अपनाउन मौसमविदहरुको सुझाव छ ।

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै १४ जिल्लामा तातो हावाको लहर चल्ने र ७ जिल्लामा तातो दिन हुने जनाएको छ ।

तातो हावाको लहरबाट प्रभावित हुने जिल्लाहरुमा बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी छन् । यी जिल्लाका बासिन्दालाई गर्मीबाट सतर्क रहन विभागले भनेको छ ।

यसैगरी कञ्चनपुर, कैलाली, नवलपरासी पूर्व (नवलपुर), चितवन, सुनसरी, मोरङ र झापामा तातो दिन हुने भएकाले मौसम सम्बन्धी सूचनामा अद्यावधिक भइरहन भनिएको छ ।

विभागका अनुसार हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यसको प्रभावले देशका पहाडी भेगहरुमा बदली र वर्षा पनि हुनसक्छ । तर तराईका जिल्लाहरुमा पानी पर्ने सम्भावना कम भएकाले गर्मी बढ्ने छ ।

महाशाखाले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य हिमाली र पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ । मधेश कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मात्र पनि वर्षाको सम्भावना छ ।

तर मधेश र लुम्बिनी प्रदेशका तराई भागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मी बढ्ने सम्भावना छ ।

तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार