बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा जटिल प्रसूति अवस्थाको सफल शल्यक्रिया, आमाशिशु सुरक्षित

बाजुरामा जटिल प्रसूति अवस्थाको सफल शल्यक्रिया, आमाशिशु सुरक्षित

  • आइतवार, जेष्ठ १७, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा जटिल प्रसूति अवस्थाको सफल शल्यक्रिया, आमाशिशु सुरक्षित

बाजुरा– बाजुरामा एक जटिल प्रसूति अवस्थाको सफल शल्यक्रिया गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले आमा र नवजात शिशुको ज्यान बचाउन सफल भएका छन् । शनिवार जिल्ला अस्पताल बाजुरामा जिल्लाको बडीमालिका नगरपालिकाकी ३२ बर्षकी गर्भवती महिलाको जटिल प्रसूति अवस्थाको सफल शल्यक्रिया गरिएको हो ।

४० हप्ता ५ दिनको गर्भावस्थामा रहेकी गर्भवती महिला प्रसव पीडासहित अस्पताल आइपुग्दा बच्चा तेस्रोतिर रहेको तथा बच्चाको हात बाहिर निस्किएको अवस्था रहेको थियो । यो अवस्था अत्यन्त जोखिमपूर्ण मानिन्छ, जसमा सामान्य प्रसव सम्भव हुँदैन र समयमै शल्यक्रिया नगरेमा आमा तथा शिशु दुवैको ज्यान जोखिममा पर्ने चिकित्सकहरु बताउँछन् ।

दुर्गम जिल्लामा समेत गुणस्तरीय आकस्मिक प्रसूति सेवा प्रदान गर्न सकिने उदाहरण प्रस्तुत गर्दै जिल्ला अस्पताल बजुरामा एक जटिल प्रसूति अवस्थाको सफल व्यवस्थापन गरिएको छ ।

जिल्ला अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर आशिष कार्की सहितको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोलीले निकै जटिल खालको प्रसूति अवस्थाको सफल शल्यक्रिया गरेका हुन् । एमडीजीपी डाक्टर कार्कीले समयमै गरिएको निर्णय, चिकित्सकीय दक्षता तथा स्वास्थ्यकर्मीबीचको समन्वयका कारण आमा र शिशु दुवैको ज्यान जोगाउन सफल भएको बताएका छन् । उनले भने, “यस्तो निकै जटिल खालको प्रसूति अवस्थाको शल्यक्रिया यसअघि पनि गरेका थियौं, तर त्यस बेला शिशु बचाउन सकिएन, यो पटक भने समयमै सही निर्णयका कारण आमा र शिशु दुवैको ज्यान बचाउन सफल भयौं ।” यस्तै उनकाअनुसार अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो छ भने दुवै सुरक्षित छन् । अवस्थाको गम्भीरता मूल्यांकन गरी जिल्ला अस्पताल बाजुराको स्वास्थ्य टोलीले तत्काल आकस्मिक शल्यक्रिया गर्ने निर्णय गर्यो । सीमित स्रोत–साधन र दुर्गम क्षेत्रको चुनौतीपूर्ण परिस्थितिका बाबजुद शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको डाक्टर कार्कीले बताए ।

यसले दुर्गम जिल्लाहरूमा समेत आकस्मिक शल्यक्रिया तथा प्रसूति सेवाको उपलब्धता कति महत्वपूर्ण छ भन्ने कुरा पुनः पुष्टि गरेको भन्दै समयमै उपचार नपाएको खण्डमा यस्ता जटिल अवस्थाले मातृ तथा शिशु मृत्युदर बढ्ने अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरा सीमित स्रोत–साधन र जनशक्तिका बीच पनि नागरिकलाई गुणस्तरीय तथा जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार