शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • “अतीतको डायरीबाट…”

“अतीतको डायरीबाट…”

  • सोमवार, जेष्ठ १७, २०७८
“अतीतको डायरीबाट…”

तिमीसँगको पहिलो भेट ताजा छ अहिलेसम्म पनि मेरो मानसपटलमा । साधारण पहिरनमा चिटिक्क परेकी तिमी सायद गाउँबाट पहिलो पटक बजार पस्दै थियौ । निकै शान्त, सालिन, सुन्दर र लज्जालु तिम्रो मुहार, सुस्त गतिको हिडाइ । तिमी मेरै अगाडीबाट पर जादासम्म खुब निहालेर हेरीरहे यी मेरा नयनले । भोलिपल्ट तिम्रै छिमेकीबाट तिमीसँग नजिक हुने अबसर जो मिलेको थियो त्यो बेला भगवानलाई मनै देखि धेरै धन्यवाद दिएको थिए । तिम्री फुपुसँग त मेरो पहिलेकै परिचय । तर, तिम्रो फुपुले कहिल्यै तिम्रो बारे कुरो गर्नुभएन । म शहरीया केटो भएर पनि तिमीमै मेरो दिल बस्नु खै बुझ्दिन म के जादु छ तिमीमा ?

सायद शहरकि केटीलाई प्रपोज गरेको भए एकै झट्कामा आफ्नी बनाउन सक्थे । अहँ सकिन तिमीलाई त्यसो गर्न । कारण तिमी सोझी र इमान्दार गाउँ कि चेली । तिमीलाई थाहा हुनुपर्छ नारीको इज्जत माटोको भाँडा जस्तै हो भन्ने कुरा जो फुट्यो भने कहिल्यै जोडीन्न । त्यसैले तिमीसँग म घुलमिल हुन धेरै दिन लाग्यो, तिमीलाई पाउन यति परीश्रम गरें कि जो वार्षिक परिक्षाको राम्रो प्रतिफल पाउन मैले यती कस्ट कहिल्यै गरिन । मलाई लाग्छ तिमीलाई आफ्नो बनाउनमा तिम्री फूपू नै मेरो पहिलो हतियार । जब तिमी मेरो मायाजालमा पर्यौ र म तिम्रो । यस्तो लाग्थ्यो कुनै महायुद्ध मैले जितेँ तिमीलाई पाएर । विडम्बना हाम्रो चोखो प्रेम बढी समय टिक्न सकेन । हामीले जुनी-जुनीसम्म एकअर्काको भएर जिउने बाचा गरेका थियौं वागेश्वरी मन्दिरलाई साँची राखेर । मैले मनाई सकेको थिए आमाबाबालाई कि तिमी नै मेरी अर्धागींनी बन्ने छौ भनेर । आमाबा भन्नू हुन्थ्यो गाउँले केटी भएर के भो त ऊ सुन्दर छ भने उसको आनिबानी राम्रो छ भने हामी बुहारी स्वीकार्छौं, छोरा तिम्रो सन्तुष्ट नै हाम्रो खुशी हो ।

मैले तिमीलाई गरे जस्तै चोखो माया मालाई गरेकी थियौ भने साच्चिकै अझै भुलेकी छैनौ होला मलाई, मैले गरेको मायालाई र मेरो साथ सहयोगलाई । म एकपटक अतीत तिर फर्किन चाहान्छु । आज भन्दा बाह्र वर्ष पहिले आमाबाबा आफ्नो काम विशेषले सुर्खेत जानुभएको थियो । सोही मौकामा तिमीलाई मेरो घर लगेको थिएँ । तिमी घरभित्र पस्न डगमगाएकी थियौ, तिम्रो मुहार रगिंन भएको थियो म प्रष्ट बुझ्न सक्थे तिम्रो रुप एकाएक बदलिनुमा । तर मैले त्यहाँ तिमीलाई रेप गर्न लिएको थिएन, मात्र हुनेवाली श्रीमती जीलाई आफ्नो घर लिएको हुँ । बैठक कक्षमा बस्दा कम्पित स्वरमा भनेकी थियौ- गाउँमा हाम्रो घर यही बैठक कक्ष जत्रो ठाउँमा दुईकोठामा बनेको छ खरले छाएको, गोबरमाटोले पोतेको । मैले जवाफमा भनेको थिए- यो घर तिम्रै हुनेछ बुहारी बनेर भित्रीयौन मात्र । तिम्रो गाउँको घर गोबरमाटोले पोतेको र खरले छाएको भएपनि महल नै सम्झिनुपर्छ डियर आइमिन मेरो ससुराली घर ।

एकछिनको शान्त माहोल तिमीले मैले एक अर्कालाई हेर्दै लिएको चियाको सुरुप-सुरुप आवाज । आँखा-आँखाको बात, ओठमा मन्द गतिको मुस्कान । त्यतिबेला मलाई लागेको थियो तिमीलाई झम्टिएर पुरै मुहारभरी चुम्बन गरूँ र फेरि अंग-अंग चुमु तर, मैले त्यस्तो गरीन किनकी मैले तिमीलाई यस्तो गर्नु थिएन । मायाप्रेम आलिंगनले यौवनमा मातेर शरीर माथी खेल्नुपर्छ र यौनसम्पर्क गर्नु पर्छ यो गलत हो मेरो बुझाइमा । माया दिलबाट गर्नु पर्छ जो कसैको भावना बुझेर, दुवैको सम्झौतामा होस् र कसैलाई हानी नहोस् बरू फाइदा होस्, कसैसँग सम्बन्ध जोड्दा, मायाप्रेम गर्दा जो अजम्बरी रहोस् स्मृतिको मानसपटलमा सदा छाइरहोस् प्रेरणाको स्रोत बनेर ।

अब त हामी प्रेमी-प्रेमिका नभएर श्रीमान-श्रीमती जस्तै बनिसकेका थियौं । मण्डपमा बसेर बिहे हुन बाँकी थियो, तिम्रो सिउँदोमा मैले सिंदुर हाल्न मात्र बाँकी थियो । तिम्रा माइती र मेरा आफन्तको अगाडी र यो समाजको अगाडी जोईपोइको स्विकृति लिन त बिहे गर्नु नै थियो । तर, यो हुन सकेन । यसमा कमजोर कसको भयो पत्तो पाइन तिम्रो या मेरो, तिम्रो गाउँको या यो शहरको, कि तिम्रो खरको छानोको या मेरो आलिशान महलको ? गाउँले रहनसहन, रीतिरिवाज र संस्कार, सुन्दर, शान्त र स्वच्छ वातावरणमा हुर्किएकी तिमीलाई यो शहरको कोलाहल, प्रदुषित हावापानी मन नपरेको पो होकी ? थिए होलान् मेरापनि गल्तिहरू ।

मैले मेरा गल्ती लुकाएर तिमीलाई माया गर्नु मेरो पनि त भुल हो । उज्ज्वल भविष्यको सुन्दर सपना बोकी पढ्न भनी गाउँबाट शहर आएकी एक सोझी नारीलाई प्रेम पासोमा पार्नु पनि मेरो एक भुल नै सम्झिन्छु । सायद म पनि गाउँको ठिटो भए हर दु:खकष्टलाई चिन्ने थिएँ । म त आमाबाबाको एक्लो लाडे छोरा । दु:ख केहो कहिल्यै महसुस गर्न पाइन । साथीहरूको लहीलहीमा लागेर सानै उमेरबाट ड्रक्सको नसा लिन पुगें पहिला त डर लाग्थ्यो ड्रक्स लिदा, शरीरलाई झ्याम पार्ने सुइ पाखुराका नसामा छिराउँदा । पछि बिस्तारै सबै नसा दैनिक भोजन बन्दै गए । एक दिनमात्रै कुनै नसा नलिए खे के बिर्सिए जस्तो भान हुन्थ्यो, त्यसै मन बेचैन भैइदिन्थ्यो । पछि आमाबाले पनि थाहा पाउनु भयो मलाई ड्रक्सलिन्छ भन्नेबारे । म कुलतमा यसरी फसें कि जति गर्दापनी छोड्न सकिन । त्यसैले मलाई सुधर्ने एक मान्छेको खाँचो थियो । जो तिमीलाई रोजेको थिएँ । मेरो सबै कुलतीपन थाहा पाएर मलाई लत्याएर गयौ तिमी । थाहा छ तिमीले छोडेर गएपछी कति तड्पिए म । पहिला भन्दा झन नसामा लिप्त हुँदै गएँ । तिमीले दिएको धोका र ड्रक्सको नसाले म झन बिग्रेर गएँ, दुब्लाउँदै गएँ ।

जब म हस्पिटल उपचारको लागि गएँ । डाक्टरलाई सबै कुरा बताए र वहाँकै सल्लाहमा मेरो होल बोडी (रगत, भिडियो एक्सरे, इसिजी, अल्ट्रासाउन्ड) जाँच भयो । मेरो सबै रिपोर्ट आयो तर, रगतमा भने खराब देखियो । कुलतका कारण मेरो रगत करिब चालीस प्रतिशत बिग्रीसकेछ । मलाई ब्लड क्यान्सरले छोएर आफ्नो सिकार बनाइसकेछ । यो सुन्दा म ज्युदै मरेतुल्य भएको थिएँ । अब मैले आमाबाबालाई के भन्ने ? आमाबाबाको सपना कसले पूरा गरिदिने भनेर निकै छट्पटीमा परें म । डाक्टरको सल्लाहमा औषधी सेवन सुरु गरें । कसैलाई था नै नदिएर । डाक्टरले भन्नू भएको नियमित औषधि सेवन गरे क्यान्सर निको हुन्छ अरे । तर, सत्य कुरो लुकान निकै गाह्रो हुँदोरहेछ । तिमीले कुलतमा लागेको भनेर छोड्यौ । आमाबाबाले यो थाहा पाएर पनि मलाई हौसला दिरहनुभयो- छोरा संसारमा जेपनि सम्भव छ, पहिले जसरी कुलतमा फस्यौ अब त्यसै गरि ड्रक्सलाई कम गर्दै लियौ भने छोड्न सकिन्छ भने सम्झाउनु हुन्थ्यो । त्यतिबेला दु:खित पनि हुनुहुन्थेन वहाँहरू जति आज मलाई ब्लड क्यन्सर भएको थाहापाएर दु:खि बन्नुभयो । पहिले ड्रक्स लिन्थे मोजमस्तिको लागि आहिले ड्रक्स लिदैछु जीवन जिउनको लागि । थाहा छ अचेल तिमीलाई निकै मिस गरिरहन्छु म ।

ए लाटी थाहा छ तिमीलाई जब तिमी मसँग रिसाउथ्यौ म फकाउँथे । तिमीलाई फकाउनका लागी त धेरै कथा थिए केही सुनाए धेरै सुनाउनै पाइन । इन्डोको कथा, नुनको डिकीको कथा, त्यो भानु भैयाको कथा, कुली मैंयाको कथा यस्ता उटपट्याङ र हाँसोव्यंगले भरीपुर्ण कथा सुनाउथे अनि तिमी निकै हाँस्थ्यौ पेट मिचिमिचि । खुशी हुन्थ्यौ । रिस त पल भरमै स्वाहा हुन्थ्यो तिम्रो । अचेल पनि यस्तै छौ कि बदलियौ तिमी ? सायद बदलिएकी हुनुपर्छ किनकी अब तिमी कसैकी बुहारी बनेकी छौ, कसैकी श्रीमती र कसैकी आमा ! मलाई सम्झिने फुर्सद त कहाँ पो मिल्छ होलार है ? अचेल मेरो प्रेरणाको एक श्रोत बनेकी छौ तिमी । जिउने आधार बनेकी छौ तिमी । सम्झनामा आइदिन्छौ, कल्पनामा आइदिन्छौ, हरपल हरक्षेण मेरो मानसपटलमा छाइदिन्छौ ।

सुन त अचेल ड्रक्स लिन छोडिसके, कुलतको दलदलबाट उक्सिसकें । आमाबाबा पनि निकै खुशी हुनुहुन्छ मबाट । कहिलेकाही तिम्रो कुरोपनि
गर्नुहुन्छ । पश्चातापमा हुनुहुन्छ तिमीलाई बुहारी बनाउन नपाएकोमा जो मेरो पहिलो प्रेम थियौ । तिमी घरवाली बनिसक्यौ म भने अझैं बेघर । अब मर्ने दिन गन्दै बसेको मलाई कुनै घरबार जोड्नुछैन । तिमी नै मेरो पहिलो प्रेम थियौ र अन्त्यपनि । थाहा छ- आमाबाबाले अब छिट्टै अर्को सन्तान जन्माउँदै हुनुहुन्छ टेस्टट्युबबाट । यदी म भइन भने पनि अब आमाबाबासँग एक भाइ या बहिनी हुने छ । तिमी त मेरो एक अचुक औषधी बनेकी छौ आजभोलि । जिन्दगी भरी साथ नदिएपनि त्यो साथ, माया, याद र सम्झनाले मलाई जिउन सिकाएको छ । यो लेख तिमी पड्छौ या पढ्दिनौ त्यो त मालाई थाहा छैन । तिमीले कतैबाट यो लेख भेटाएर पढ्ने समय म यो संसारमै हुनेछैन मेरा यी शब्द बाहेक ।

डाक्टरले मेरो आयु उहील्यै तोकेका थिए कि म पाँच वर्षपनि मुस्किलले बाँच्छु । त्यो पनि औषधिको भरले, आत्मविश्वासले । तर म अब भने बोनसको जिन्दगी जिइरहेको छु । जति जिउँछु तिम्रै याद र सम्झनामा । अब त यस्तो लाग्छ अबका युवायुवती ड्रक्सको कुलतमा नफसुन जसकारण जीवनलाई नर्कमा रुपान्तरण गरोस् । यो लेख पढेर थोरै भएपनि ज्ञात होस् कुनैपनि कुलत ज्यानको लागि हानिकार छ । तिमीले त मबाट धेरै कुरा सिकेर गएकी छौ । अब तिम्रा सन्ततिलाई कुलतले हुने हानीबारे जानकारी दिनसक्छौ तिम्रो र मेरो मायाको कहानी बनाएर, एका देशको कथा बनाए । आज केही खासखुस कुरा लेख्न मन लाग्यो कापीकलमको मिलन गराएँ खै के-के लेखें-लेखे । हस्त औषधि खाने समय भएछ । औषधि खाएर केही समय विश्राम गर्छु । कलम बन्द । उही तिम्रो अतीत….!

चर्चामा

सम्बन्धित समाचार