
बाजुरा– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बाजुराको लाम्पाटामा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन् । बुधबार फेसबुकमा भिडिओ सन्देश जारी गर्दै हमालले आफ्नो टोलीले त्यहाँ ड्रोन उडाएका कारण घटना नघटेको दाबी गर्दै त्यसको छानबिन हुनुपर्ने माग गरेका हुन् । ‘ड्रोन उडाएर लाम्पाटामा घटना घट्यो भनिएको छ, त्यो गलत हो । प्रहरी प्रशासनबाट जुन सूचना दिइएको छ त्यो गलत छ,’ उनले भने ।
घटना जेठ २ गते नै घटिसकेको उनले दाबी गरे । ‘२ गते नै वडा सदस्यलाई पिटेर मर्ने हालतमा पुर्याएर उनलाई उपचारका लागि पनि जान दिइएको थिएन । कब्जा गरेर राखिएको थियो,’ उनले भने । उनको घर र रासन सबै कब्जा गरिएको उनले दाबी गरे । तर, त्यो विवादबारे आफूलाई पूर्वसूचना नभएको उनले बताए । उनले अगाडि भने, ‘हामी ५ गते मात्रै पुगेको हो त्यहाँ, हामी पुग्नुभन्दा अगाडि त हिमाली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई पिटिसकेका थिए । त्यहाँको अरु कर्मचारीलाई पिटिसकेका थिए । मोबाइल खोसिसकेका थिए ।’ ड्रोन उडाएर घटना भयो भन्नु हाँस्यास्पद रहेको उनले दाबी गरे ।
आफू बाजुराको रानीसैन सुन्दर ठाउँ छ भनेर त्यहाँको प्रवर्द्धन गर्न टोलीसहित जान लागेको उनले बताए । तर, विवादका कारण टोली नै लखेटिन परेको बताए । ‘रानीसैन धेरैलाई थाहा छैन, आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको ध्यान जाला, बाटोघाटो पुग्ला, मान्छे पुगे त्यहाँको सामान बिक्रि होला भन्ने हिसाबले त्यो सुन्दर ठाउँ देखाउन गएको हो । त्यो पवित्र उद्देश्य हो हाम्रो,’ उनले भने । त्यो घटनामा पत्रकारका ड्रोन फुटालिएको, क्यामरा खोसिएको र समाचार संकलन पनि गर्न नदिएको उनले बताए ।
‘हाम्रो टिममा पनि पत्रकार जानुभएको थियो । उहाँहरूलाई समाचार संकलन गर्न दिइएन,’ उनले भने । यसको उच्चस्तरीय छानबिन हुनुपर्ने उनले माग गरे । ‘यसको उच्चस्तरीय छानबिन होस् र छानबिन भएर दोषी को हो ? दोषी ड्रोन उडाउने हामी दोषी हौँ, हाम्रो कारणले यो घटना भएको हो भने सजाय भोग्न तयार छौं,’ उनले भने ।


