सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • प्रदेश ७
  • चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

  • आइतवार, चैत्र १, २०७७
चमेलियाले उज्यालो नदिएको दार्चुलाको चौलानी किनार

निमेन्द्र शाही — दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर वितरण गरिरहेको छ । तर, विकट दार्चुलाबाट कैलाली जोडिने १३१ किलोमिटर लामो प्रसारण लाइन बनाएर विद्युत वितरण गरिँदै आएपनि दार्चुलाको चौलानी किनाराको बस्ती भने अँध्यारोमै छ ।  दुर्गमबाट उत्पादन हुने विद्युतका लागि चौलानी किनाराको बस्ती टाढा भएको छ ।

‘चौलानी नदीबाट उत्पादन गरेको विद्युत आयोजनाको नाम सरकारले चमेलिया बनायो । नाम परिवर्तनसँगै हामीले पनि सेवा लिन पाएका छैनौं,’ अपिहिमाल गाउँपालिकाकी कार्यपालिका सदस्य रुपमनी जाग्रीले भनिन् ।  टुकी झरो र दियालो अँध्यारो हटाउने सारथि बनेको उनले बताइन् ।  अपिहिमाल गाउँपालिकामा बनाएको लघु जलविद्युतले वडा नम्बर तीन र चारमा विद्युत पुगेको छ भने वडा नम्बर १, २, ५ र ६ विद्युतविहीन नै छन् ।

‘घट्टमा पिस्न दिनभर समय लगाएर खोलामा आउनु पर्छ । मोबाइल चार्ज गर्न पनि सोलारको साहरा लिनुपर्छ । बत्ती उपयोग गर्न नपाउँदा कागलाई बेल पाक्यो हर्ष न विस्मात भने जस्तै भएको छ,’ मगडी गाडमा होटल व्यवसाय सञ्चालन गरिरहेका वीरसिंह धामीले बताए । धामीले विद्युत नहुँदा अपिहिमाल घुम्न आउने पर्यटकका राम्रो सेवा दिन नसकेको उनले बताए । ‘बत्ती नहुँदा पर्यटक बस्न मन गर्दैैनन्,’ उनले भने, ‘विद्यार्थीले टुकीको भरमा पढ्नुपर्छ ।’

माम्रो जिल्लामा  नौगाड गाउँपलिकामा ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना पनि निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भइसकेको छ । त्यही ८ मेगावाट क्षमताको अपर नौगाड निर्माणाधीन छ । मार्मा क्षेत्रमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छ ।

दार्चुलामा १३.९४ मेघावाट क्षमताको आयुछटी गाड जलविद्युत आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत आयोजना र १० मेगावाटको मकरीगाड जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छन् ।

जलविद्युतको हब सुदूरपश्चिम

बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया र कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजारौं मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना छ ।

बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा भने कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण कार्य सुरु हुने अवस्थामा छन् । यसरी काम सुरु भइसकेका र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाको काम समयमै सम्पन्न भए सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने प्रदेशको रूपमा परिचित हुनेछ ।

बझाङमा मात्रै झण्डै एक दर्जन जलविद्युत आयोजना निर्माणको चरणमा छन् । निजी क्षेत्रको लगानीबाट निर्माणाधीन प्रदेशकै सबैभन्दा ठूलो आयोजना कालङ्गा जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैत महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । बुङगल क्षेत्रको कालङ्गा नदीमा तीन अलगअलग ठाउँबाट निर्माण सुरु गरिएको १० मेगावाटको कालङ्गा जलविद्युत आयोजना, ३८.४६ मेगावाटको अपर कालङ्गा जलविद्युत आयोजना र १६ मेगावाटको सानीगाड जलविद्युत आयोजना गरी ६५ मेगावाट आयोजनाको काम अन्तिम चरणमा छ ।

चैनपुरनजिकै सुर्मा गाउँपालिकाको ढोगडीमा एक मेगावाट क्षमताको जेउलीगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भई बझाङमा वितरण भइसकेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरिसकेको छ ।

दार्चुलाकै नौगाड गाउँपलिकामा ८ मेगावाट क्षमताको अपर नौगाड र ८.५ मेगावाटको नौगाड जलविद्युत आयोजना पनि निर्माण सम्पन्न भई विद्युत उत्पादन सुरु भइसकेको छ । दार्चुलाकै मार्मा क्षेत्रमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ६० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजना पनि निर्माणाधीन अवस्थामा छ । दार्चुलामा १३.९४ मेगावाट क्षमताको आयुछटी गाड जलविद्युत आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत आयोजना र १० मेगावाटको मकरीगाड जलविद्युत आयोजनाको पनि निर्माण भइरहेको छ ।

बझाङकै तल्कोट गाउँपालिकाको सुनिगाड खोलाबाट चार वर्षभित्र उत्पादन गर्ने गरी २५ मेगावाटको अर्को आयोजना पनि निर्माणाधीन अवस्थामा छ । तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाडबाट ८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ओमेगा इनर्जी डेभलपर प्रालिले निर्माण सुरु गरेको छ । यस्तै सुदूरपश्चिममा दजनौं परियोजना डीपीआरको काम सकेर निर्माणका लागि इजाजत लिने प्रक्रियामा छन् । कतिपय आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माणका लागि बोलपत्रको प्रक्रियामा छन् । नेपाल विद्युत प्राधिकरण आफैँले निर्माण गर्ने गरी तल्कोट गाउँपालिकामै २१० मेगावाटको चैनपुर सेतीखोला जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएर निर्माणको प्रक्रियामा छन् ।

चिलिमे हाइड्रोपावर प्रालि पनि सेती नदीमै १६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजना निर्माणको तयारीमा छ । त्यस्तै साइपाल गाउँपालिकामा निर्माण हुने अपर सेती १४० मेगावाटको आयोजनाको लागि निजी क्षेत्रकै समृद्धि हाइड्रोपावर कम्पनीले प्रक्रिया अघि बढाएको छ ।

डोटीमा १.५५ मेगावाट क्षमताको माथिल्लो गडिगाड जलविद्युत आयोजना पनि निर्माणको चरणमा छ । अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बूढीगंगा  अर्धजलाशययुक्त जलविद्युत आयोजना पनि निर्माणको तयारीमा छ । आयोजनाले विस्तृत परियोजना अध्ययन सक्नुका साथै पहुँचमार्ग, पुल, आयोजनास्थलमा भवन निर्माण र मुआब्जा वितरण सकेर काम सुरु गरेको छ ।

बेतन कर्णाली हाइड्रोले अछाममै ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । बाजुरामा ४.५ मेगावाटको बडिगाड जलविद्युत आयोजना निर्माण गर्ने गरी प्रक्रिया सुरु गरेको छ । पायोनियर हाइड्रोले सम्भाव्यता अध्ययन पूरा गरेर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यस्तै ५ मेगावाट क्षमताको बूढीगंगा जलविद्युत आयोजना पनि निर्माणको तयारीमा छ ।  सुदूरपश्चिम प्रदेशमा बग्ने नदी र खोलाबाट मात्रै १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता रहेको विभिन्न प्रतिवेदनमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार