सोमवार, जेष्ठ ३, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • समाजमा लैङ्गिक विभेदमा आधारित हिंसा

समाजमा लैङ्गिक विभेदमा आधारित हिंसा

  • बिहिबार, माघ २२, २०७७
समाजमा लैङ्गिक विभेदमा आधारित हिंसा

विश्व नै महिला पुरुष बराबरको र लैङ्गिक समानताको कुरा गरिन्छ । विकसित देशमा त लैङ्गिक विभेद अन्त्य भएको पनि छ, तर अन्य कयौँ राष्ट्रहरू छन् जुन विकासोन्मूख र अल्पविकसित राष्ट्रमा लैङ्गिक विभेदले जरा गाडेको पाइन्छ । लैङ्गिक विभेद छोरा र छोरी, महिला पुरुषमा गरिने भेदभावपूणर् व्यवहार हो । हाम्रो जस्तो विकासन्मूख देशमा ठूला-ठूला नारामा लैङ्गिक समानताका कुरा गरिन्छ, तर पनि व्यवहारमा लागू छैन ।
विश्व २१ औँ शताब्दीमा प्रवेश गरेको छ तर पनि मानिसमा चेतनाको विकास अझ आउन सकेको छैन । “मानव अधिकारका घोषणा पत्रमा धारा १ मा स्वतन्त्रता मानिसको जन्मजात अधिकार हो भनिएको छ । तर हाम्रो समाजमा जन्मदै लिङ्गको आधारमा भेदभाव गरिन्छ । झनै अहिलेको प्रविधिको समयमा त गर्भमा नै लिङ्गको भेदभाव गरिन्छ । गर्भमा नै भ्रूणको पहिचान गरी गर्भमा नै लिङ्गको आधारमा भ्रूण हत्या गरिन्छ । हाम्रो समाजमा पितृसत्तात्मक सोचले गर्दा पहिलो सन्तान छोरा होस् भन्ने चाहना धेरैले राख्ने गरेको पाइन्छ । यदि पहिलो सन्तान छोरी भयो भने अर्को सन्तानको चाहना राख्दा छोराको चाहनाले छोरी भयो भने पटक-पटक भ्रूण हत्या गरिन्छ, जति पटकसम्म गर्भमा छोरा आउदैन । अझै पनि हाम्रो समाजको यस्तो विकराल रूप छ । जन्मदा फरक -फरक लिङ्ग लिएर जन्मेका बालक र बालिकाहरूलाई हुर्कने क्रममा समाजद्वारा महिला र पुरुषको रूपमा स्थापित गराइन्छ । जसले गर्दा महिलाले गर्ने कामहरू र पुरुषले गर्ने कामहरू भनी छुट्टयाइन्छ । महिलाले खेल्ने खेलौना यो पुरुषले खेल्ने खेलौना यो भनी घरबाट विभेद गरिन्छ । घरमा भनिन्छ, महिला र पुरुष रूप, गुण, काम, व्यवहारमा सबै कुरामा फरक हुनु पर्दछ भनी सिकाएर हुर्काएको हुन्छ । महिला र पुरुष फरक – फरक हुनुपर्छ भन्ने मान्यताको कारण समाजले महिला र पुरुषप्रति फरक-फरक धारणा बनाएको छ र त्यसैअनुसार फरक-फरक व्यवहारहरू गरिन्छन् ।
समाजमा महिला र पुरुषप्रति रहेको विभेदपूणर् मान्यताका कारण महिला र पुरुषबीच असमान “शक्ति सम्बन्ध” हुन जान्छ जसले गर्दा पुरुषलाई बलियो बनाउँछ र फलस्वरूप महिलामाथि विभिन्न प्रकारका होच्याउने, दुःख दिने, मानसिक पीडा दिने खालका व्यवहारहरू हुन जान्छ जुन महिलामाथि गरिने हिंसा हो । हुन त कतिपय ठाउँमा महिलाद्वारा पुरुष पनि पीडित भएको पाइन्छ तर महिलाको तुलनामा यो अत्यन्तै कम हुन्छ, किनकि महिला र पुरुष बीचको असमान शक्ति सम्बन्धको कारणले नै पुरुष पीडित हुने छन् ।
हाम्रो समाजमा लैङ्गिक विभेदमा आधारित हिंसाहरू विभिन्न प्रकारका छन् ।
– शरीरिक हिंसा
– मानसिक हिंसा
– सामाजिक हिंसा
– यौन हिंसा
शारीरिक हिंसा समाजमा धेरै भएको पाइन्छ , जव महिला गर्भवती हुन्छिन् ,उनलाई परिवारले हरेक प्रकारको दबाब दिने बरु ढिलो होस् छोरा होस् भन्ने उखान गर्न र भ्रूणको जाँच गराई छोरीको भू्रण हत्या गर्न, कुटपिट गर्न, एसिड हाल्ने, आगोले पोल्ने, डाम्ने, आफ्नो आफन्त दाजुभाइ, काका, बुबाबाट हेला गर्ने, खानपिनमा छुट्टयाउने, महिनावारी भएको समयमा नछुने, कोठामा थुनेर राख्ने वा छाउ गोठमा राख्ने छोरीलाई घरभित्रको काम धेरै लगाउने आदि जस्ता शारीरिक हिंसा गरिन्छ ।
यसै क्रममा एक जना बालिकाले भनेकी छिन् – छोरीले त धेरै काम गर्नु पर्दछ । आमाले मलाई भन्नुहुन्छ र मलाई धेरै काम लगाउनुहुन्छ । म बिहानै उठेर आमालाई सबै काममा सघाउँछु । मेरो दाइ अबेरसम्म सुतेर खान खान पनि समयमा आउनु हुन्न तर पनि मलाई खाने बेला खानामा छुट्टयाइन्छ र दाजुलाई गिलासभरि दूध, दही, घिउ दिइन्छ मलाई भने आधा गिलास दूध आमाले दिनुहुन्छ । कहिले खाना खाँदै गर्दा घरको छोरा मान्छेले पहिला खाना खाने हँुदा हामीले खाने बेला खाना नै पुग्दैन र थोरै खानुपर्ने हुन्छ । नछुने भएको बेला म भुइँमा सुत्छु र मेरी आमा पनि त्यसरी नै सुत्नुहुन्छ । पर सरेको बेला यो खान हुन्न, त्यो खान हुन्न भनेर केही खान पनि राम्रोसँग पाइँदैन ।
हाम्रो समाजमा यस्ता थुप्रै घटनाहरू छन् । अझ मानसिक हिंसा झन् बढी छ । महिलालाई अपशब्द बोलेर गाली गर्ने, महिलाको आत्मविश्वास कम गराउने खालको वचन तथा व्यवहारहरू गर्ने जस्तै “छोरी मान्छे भएर बिस्तारै हिँड्नुपर्छ । राति ढिलासम्म घरबाट बाहिर हिँड्नु हुदैन, आइमाईको बुद्धि हुदैन” भन्ने जस्ता वचनहरू महिलामा प्रयोग गरिन्छ र आत्मबल, हिम्मतलाई कमजोर बनाइन्छ । भर्खरै बिहे गरेर गएकी बुहारीलाई मेरो छोरा त ढाका टोपी रे जति नै जाँड खाएर बरालिएर हिँड्ने भए पनि असल बुहारी, पढेकी बुहारी भए पनि “बुहारी त ढाका टोपीमा गोएलुको फूल” यस्तो यस्तो वचनहरू प्रयोग गरिन्छ । हाम्रा घर परिवार र समाजमा महिलालाई विभिन्न तरिकाबाट नीच देखाउनको लागि छोरी जन्माएमा महिलालाई नै दोष दिने , परिवार नियोजन पुरुषलाई गर्न नदिने र त्यसको भार पनि महिलालाई नै दिने गरिन्छ ।
यसै क्रममा कस्तो घरको छोरी रहिछ भनेर रगत नै खराब कस्ता बाबुआमाले जन्माएको भनेर बाबुआमालाई गाली गरेको पाइन्छ । दिनभरि जागिर खाने महिला भएमा त झन् अफिस र घरको काम पनि सबै महिलाले नै सक्नुपर्ने नभएमा सम्बन्धमा फाटो आउने समेत गरेको पाइन्छ । जसले गर्दा महिलाले यस्तो मानसिक हिंसा सहेर पनि आफ्नो घर, परिवार गृहस्थी जीवन सफल बनाउन हरेक तवरबाट सम्भव भएसम्म गर्ने गर्छिन् । अझ प्रमुख र ठूलो समस्या भनेको र अहिले पछिल्लो समयमा भएको घटनाहरूमा त यौन हिंसा जटिल बन्दै गएको छ । विभिन्न पत्रपत्रिका मिडियाबाट पनि सुन्दै आएको पाइएको छ । आफ्नो घरभित्रबाट आफ्नो बाबुले नै छोरीलाई यौन शोषण गरेको खबर सुन्नमा दिनहुँ आएको छ । घरका अन्य सदस्यले, आफन्तले छिमेकका केटा मानिसले विभिन्न बाहनामा यौन अङ्गहरू छुने , चलाउने , अश्लील तस्बिरहरूसँगै बालिकालाई राखेर हेर्ने, अश्लील शब्द प्रयोग गर्ने, बलात्कार गर्ने, जति नै शिक्षित र उच्च पदमा बसे पनि पुरुषबाट महिलामाथि यौन शोषण गरेको घटनाहरू हाम्रो समाजमा घटेको पाइएको छ ।
राज्यस्तरबाट असमान कानुन, असमान नीति नियमहरू र नियम बनाउने ठाउँमा भए पनि निणर्य गर्न महिलालाई नदिने अरूले निणर्य गर्ने, वंशजको हक महिलालाई नदिनु, नागरिकता वा पासपोर्ट दिँदा पुरुषको सिफारिस माग्नु, आमाको नामबाट नागरिकता नबन्नु कारण महिलालाई कमजोर अनुभूति गराउने जस्ता व्यवहार राज्यद्वारा महिलामाथि गरेको विभेद र महिला हिंसा नै हो । ज्याला मजदुरी गरेको ठाउँमा ज्यालामा श्रम शोषण गर्ने गरेको पाइन्छ । हाम्रो समाजमा जति नै ठूलो पदमा जागिर खाने महिला पुरुष भए पनि घरको हिसाब पैसा अझ “गाउँ घरमा त जनैको साँचो भन्ने चलन छ ” त्यो पुरुषले नै लिने र हरेक हिसाब किताब पुरुषले नै राख्ने गरेको पाइन्छ । जसले गर्दा महिलाले आफ्नो आम्दानी भए पनि आवश्यकता अनुसार खर्च गर्न पाउने अवस्था छैन । महिला भएर धेरै केटा साथी बनाउनु हुदैन भन्ने गरिन्छ । बाहिर जानु हुदैन , महिलाले काम गर्ने क्षेत्रमा पनि यस्ता विभिन्न कुरामा रोक लगाइन्छ । महिलाको शरीर उत्पादन र गतिशिलता माथिको नियन्त्रण गरेको पाइन्छ । जस्तै झनै घरमा एक्लो छोरा परिवार छ भने महिलाले कति बच्चा जन्माउने ,कहिले जन्माउने,छोरा नै जन्माउनुपर्ने नभए त अपूताली पर्छ वंश धान्ने छोरा चाहिन्छ । नातिको मुख नदेखि मरे भने त स्वर्ग जान पाइँदैन भन्ने जस्ता कुराहरू गरी महिलाको निणर्यमा अंकुश लगाउने परम्परा विद्यमान रहेको छ जुन लैङ्गिक विभेदको ज्वलन्त उदाहरण हो ।
हाम्रो समाजमा सामाजिक हिंसाहरू पनि लैङ्गिक विभेदका आधारमा गरिन्छ जस्तै, समाजको हरेक काममा महिलालाई भन्दा पुरुषलाई बढी मान्यता दिने, धेरै उमेरको अन्तरमा विवाह गराउने केटाको उमेर ३५ वर्ष भए केटीको १८ / २० वर्षको उमेरमा विवाह गराउने, जसले गर्दा उमेर नमिल्दो मानिससँग विवाह गरिदिने , घरमा एउटी श्रीमती हुँदाहुदै अर्को श्रीमती ल्याउने, छोरी छोरी भए भनेर २/३ वटा श्रीमती छोरा पाउने आशामा विवाह गर्ने र ल्याउने काममा सार्वजनिक स्थलहरूमा यौन दुव्र्यवहार, गाली र अपशब्दहरूको प्रयोग महिलामाथि गर्ने, एकल महिला, वृद्ध गरिब महिलालाई बोक्सी भनी विभिन्न प्रकारका यातना दिने, हेप्ने लुगामा रातो कपडा लगाउन एकल महिलालाई बन्देज गराउने जस्ता सामाजिक हिंसा हाम्रो समाजमा भइरहेको पाइन्छ ।
यस्ता लैङ्गिक विभेदमा आधारित हिंसाले हाम्रो समाजका मानिसमा विभिन्न प्रभाव पारेको पाइन्छ । शारीरिक रूपबाट चोटपटक लाग्ने , अपाङ्ग हुने , शारीरिक विकास राम्ररी हुन नसक्ने , विभिन्न स्वास्थ्य समस्याहरू आई ज्यानसमेत जाने गरेको छ । मानसिक र सामाजिक रूपले आत्मविश्वासमा कमी , आत्मसम्मानमा चोट लाग्नु, व्यक्तित्व विकासमा असर, मानसिक रोगी, झगडा, मनमुटाव, समाजमा विभिन्न विभेद र विभाजन बढ्नु जस्ता असरहरू देखापरेको छ । जसले गर्दा व्यक्ति , परिवार समाज र सिङ्गो राष्ट्रलाई नै असर पर्ने गर्दछ ।
यस्ता विभिन्न किसिमबाट गरिएको लैङ्गिक विभेदबाट उत्पन्न भएका हिंसाका कारण महिला नै बढी जोखिममा परेको पाउन सकिन्छ । महिला बिरामी दर बढ्नु , मृत्यु दर बढ्नु र संसारकै मातृ मृत्यु दर बढी हुने देशहरूमध्ये नेपालमा पनि एक हो । नेपालबाट वर्षेनी किशोरी युवतीहरू हजारौँको सङ्ख्यामा बेचिने , घरेलु कामदारको रूपमा लगाउने, यौन व्यापारमा लगाउने जस्ता क्षेत्रमा दासतापूणर् जीवन बिताउन बाध्य छन् । समग्रमा लैङ्गिक विभेदमा आधारित हिंसाबाट बच्न हामी सबै एकजुट भएर लाग्नु पर्दछ । र महिला र पुरुषलाई समान व्यवहार गर्नु पर्दछ । लैङ्गिक विभेदमा आधारित हिंसाहरूको मुख्य कारणमा पितृसतात्मक सामाजिक सोच हो त्यसलाई परिवर्तन गर्नु पर्दछ । यसका लागि महिला पुरुष किशोर , किशोरी, युवायुवती उत्तिकै जिम्मेवार हुनु पर्दछ ।
सबै मानिस समान हुन् , कसैलाई पनि लिङ्गको आधारमा भेदभाव गरिनु हुदैन भन्ने सूचना सबैमा पुर्‍याउनु पर्दछ । यसका लागि विभिन्न खालका चेतना अभिवृद्धि गर्ने जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्दछ , श्रममा समान पारिश्रमीक दिनु पर्दछ । निणर्य गरिने ठाउँमा समान आवाज पर्‍याउनुपर्छ । समान अधिकार दिनु पर्दछ ।राज्यको कानुन सबैको लागि समान हुनु आवश्यक छ , त्यसैले भेदभाव गर्ने वा भेदभावलाई बढवा दिने सबै खालका कानुनहरू परिवर्तन र परिमार्जन गर्नृु पर्दछ । यसका लागि हरेक महिला दिदी बहिनी, सङ्घ संस्था, व्यक्तिहरूद्वारा दबबामूलक कार्यक्रमहरू गर्नु आवश्यक छ ।
त्यसैले लैङ्गिक विभेदमा आधारित हिंसा भनेको अपराध हो , जो कोहीले यो सहेर बस्नु भनेको अपराधीलाई अपराध गर्न झन् बढवा दिनु हो । त्यसैले यसको विरुद्ध बोल्न, आवाज उठाउनु आवश्यक छ । जसले गर्दा लैङ्गिक विभेदको हिंसा जराबाटै उखलेर हाम्रो समाजबाट फल्नु पर्दछ । लैङ्गिक समानता ल्याउनको लागि विभिन्न महिला सशक्तिकरणका कार्यक्रमहरू भएर महिलावादी नेता तथा मानववादी अन्तर्राष्ट्रिय रूपमा अभियान पनि सुरु भयो । महिला सशक्तिकरणको विकासक्रम हेर्दा अमेरिकामा सन् १९०८ मा न्युयोर्कको एउटा कपडाको मिलबाट काम गर्ने महिला मजदुरहरूले आफू माथिको श्रमशोषण विरुद्धमा आन्दोलन गरे । र हालसम्म पनि आन्दोलन निरन्तर र विश्वव्यापी बनेको छ । त्यसैगरी सन् १९१०, मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सुरु भयो । त्यसपछि निरन्तर रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन घोषणा पत्रहरू बने । जहाँ महिला र पुरुष समानताका लागि लैङ्गिक विभेद अन्त्यका लागि जुन अन्तर्राष्ट्रिय रूपमा भएका अभियान तथा प्रयासहरू यसप्रकार पनि छन् । सन् १९४८ मा विश्वव्यापी मानव अधिकार घोषणा पत्र सन् १९६३ मा संयुक्त राष्ट्र सङ्घद्वारा महिला उपर हुने सम्पूणर् भेदभाव निर्मूल गर्ने घोषणा पत्रको मस्यौदा निर्माणको आह्वान पनि भयो । तर लिखित मात्र भयो । व्यवहार लागू हुन त्यति सफल भएन । त्यसैगरी सन् १९७५ मा प्रथम विश्व महिला सम्मेलन, मेक्सीकोमा भएको थियो । महिला विभेद हटाउन यस्ता विभिन्न थुप्रै कार्यक्रमहरू भयो । जुन कागजमा मात्र सीमित हुन पुग्यो । त्यसैगरी सन् १९७९ मा महिला उपर हुने सबै प्रकारको भेदभाव उन्मूलन महासन्धी पारित भयो । त्यस लगत्तै दोस्रो विश्व महिला सम्मेलन डेनमार्कमा १९८० मा सम्पन्न भयो ।
कतिपय विकसित राष्ट्रमा ती महासन्धी लागू पनि भयो तर हाम्रो देशमा जुनसुकै अन्तर्राष्ट्रिय महासन्धी आए पनि महिला माथिको अन्याय अत्याचार कम हुन सकेन । यसरी तेस्रो चौथो महासन्धी सम्बन्धी सम्मेलनहरू हुँदै गयो । सन् १९९५ मा हाम्रो छिमेकी राष्ट्र चीनको बेइजिङ सहरमा गरिएको थियो । तर हाम्रो राष्ट्रमा त्यसको कुनै महिला सम्बन्धीको हिंसाको , विभेदको अन्त्य हुन सकेन । ३८ बुँदे घोषणा पत्रमा सबै कुराहरू समावेश गरियो तर अझै व्यवहारमा लागू भएन । हाम्रो जस्तो देश जो आफू डा. पदमा जागिर खान्छ ऊ स्वयम्ले पनि श्रीमतीको हत्या गरेको छ । खै शिक्षित वर्गमा पनि लैङ्गिक विभेदको अन्त्य भएको यस्ता थुप्रै ज्वलन्त उदाहरणहरू छन् । जुन घरमा वकिल छ त्यस घरको महिला मानसिक हिंसा, शारीरिक हिंसामा परेको हाम्रो समाजमा धेरै उदाहरणहरू छन् । बालिकालाई कामदारको रूपमा राख्ने जो व्यक्ति सरकारी पदको उच्च पदको जागिरे छ उसले आफ्नो घरको छोराछोरी हेरचाह र कामकाजको लागि धेरै देख्न सक्छौँ । त्यसैगरी साक्षरता दर हेर्‍यो भने २०६८ को सर्वेक्षणमा महिला साक्षरता ५७.४ प्रतिशत रहेको छ भने पुरुष साक्षरता ७५.२ प्रतिशत रहेको छ । त्यसपछिको २०७० को तथ्याङ्क हेर्दा महिला साक्षरता बढेर ६२.० प्रतिशत छ भने पुरुषको ८०.० प्रतिशत रहेको छ ।
स्रोत राष्ट्रिय“ महिला आयोग लैङ्गिक आधारमा विभाजित तथ्याङ्क २०७४ ” राष्ट्रिय जनगणना २०६८ अनुसार जनसङ्ख्याको अनुपातमा महिलाको साक्षरता जनसङ्ख्या पुरुषको तुलनामा कम देखिएको छ । शिक्षाको सुरुवातदेखि हालसम्म नै लैङ्गिक को आधारमा महिला साक्षरता दर कम आएको छ । छोरीलाई शिक्षा दिँदा अरूको घरमा जाने , अनुउत्पादक ठाउँमा शिक्षामा लगानी भनेर छोरीको पढाइ बीचमा नै छोडिदिने गरेको पाइन्छ । यसरी हरेक क्षेत्रमा लैङ्गिक विभेद भएको पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार