शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

  • बिहिबार, पुस २३, २०७७
अमेरिकी संसदले प्रमाणित गर्‍यो राष्ट्रपतिमा बाइडेनको जित

अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ।

invotech
स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए।

सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनले जितेको प्रमाणित गरेको हो।

sanimabidh lab box ad 5nbm box ad 4
उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे। बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन्।

यसरी हुन्छ अमेरिकी राष्ट्रपतिका विजयीको घोषणा

बुधबार अमेरिकाका दुबै सदन हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठक बस्दै थियो।

अमेरिकाको ४६ औं राष्ट्रपतिमा को निर्वाचित भयो भन्ने औपचारिक घोषणा गर्ने बैठकको एजेन्डा थियो।

ncell in
गत नोभेम्बर ३ मा भएको चुनावमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए।

अमेरिकामा राष्ट्रपतिका लागि चुनाव हुने भए पनि जसले बढी मत ल्यायो उसले चुनाव जित्दैन। राष्ट्रपतिको चुनाव जित्न इलेक्टोरल कलेज मतमा बहुमत ल्याउनु पर्छ। अमेरिकाभरि ५३८ इलेक्टोरल कलेज मत छन्। राज्यको जनसंख्या र भूगोलका आधार विभिन्न राज्यको फरक-फरक इलेक्टोरल कलेज मत संख्या निर्धारण गरिएको छ। राष्ट्रपति जित्न बहुमत अर्थात् २७० इलेक्टोरल कलेज मत ल्याउनु पर्छ।

कहिलेकाहीँ देशभरिबाट बढी मत ल्याए पनि इलेक्टोरल कलेज मत कम आउँदा उम्मेदवार पराजित हुन्छन्। सन् २०१६ को निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा झन्डै ३० लाख बढी मत ल्याएर पनि इलेक्टोरल कलेजमा हारेकी थिइन्।

कसले कति इलेक्टोरल कलेज मत पायो भन्ने अनौपचारिक रूपमा चुनावको केही दिनमै थाहा हुन्छ। तर त्यसको औपचारिक प्रक्रिया पूरा हुन भने हप्तौं लाग्छ।

बुधबार त्यही प्रक्रियाको अन्तिम चरणको काम हुँदै थियो।

अमेरिकामा चुनाव गर्न राज्यका आ-आफ्नै नियम छन्, देशैभरि एकै नियम छैन। चुनावको कति दिनमा मतपरिणाम पठाउने भन्ने राज्यको नियममा भर पर्छ।

अमेरिकामा हरेक चार वर्षमा नोभेम्बर महिनामा राष्ट्रपतिको चुनाव हुन्छ।

नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार राष्ट्रपतिका लागि मतदान हुन्छ।

यसरी भएको मतदानमा आफ्नो राज्यका इलेक्टोरल कलेज मतको परिणाम निर्वाचन अधिकारीहरूले प्रान्तीय संसदमा पठाउँछन्।

प्रान्तीय संसदले गभर्नरमार्फत् उक्त मतपरिणाम राष्ट्रपति र उपराष्ट्रपतिलाई पठाउँछन्। चुनाव भएको ४१ दिनभित्र गभर्नरले मत परिणाम पठाइसक्नुपर्छ।

उक्त मतपरिणामलाई संघीय संसदका दुबै सदनले जनवरी ६ मा प्रमाणीकरण गर्नुपर्छ। अर्को दिन बैठक बस्नु पर्ने भए कानुन नै बनाउनु पर्छ। मतपरिणाम प्रमाणित गर्न दुबै सदनको संयुक्त बैठक बस्छ। यस्तो बैठकको नेतृत्व उपराष्ट्रपतिले गर्छन्।

बुधबार पनि उपराष्ट्रपति माइक पेन्सले दुबै सदनको बैठक चलाइरहेका थिए।

सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले मंगलबारमात्रै उपराष्ट्रपति पेन्सले संसदको बैठकबाट आफूलाई जिताउन सक्ने बताएका थिए। पेन्सले भने आफूले संविधानले दिएको काममात्रै गर्ने र संविधानले निर्वाचन परिणाम उल्टोपाल्टो पार्न आफूलाई कुनै अधिकार नदिएको जवाफ दिएका थिए।

बुधबार पेन्सले संसदको बैठक चलाइरहेका बेला ट्रम्प समर्थकहरू हुलहुज्जत गर्दै संसद भवनमा पसे।

इँटा, बोतल र बन्दुक लिएर गएका उनीहरूले तोडफोड गरे र हिंसा मच्चाए। संसद भवनभित्र पसेका उनीहरूले पेन्स र सभामुख न्यान्सी पेलोसीको कुर्सीमा बसेर ट्रम्पले चुनाव जितेको घोषणा गरे।

उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो। उक्त हिंसामा अहिलेसम्म चार जनाको मृत्यु भइसकेको छ।

ट्रम्प समर्थकको उपद्रोले संयुक्त सदनको काम केही घन्टा अवरोध भयो।

केही घन्टापछि पेन्सले संसदको बैठक चलाइरहेका छन्। उनले हरेक राज्यबाट आएको मतपरिणाम सुनाउँछन् र कसैको दाबी विरोध छ कि भनेर सोध्छन्।

प्रान्तले पठाएको परिणाममा दाबी विरोध गर्न तल्लो र माथिल्लो दुबै सदनका एक-एक जना सांसद हुनुपर्छ। कुनै राज्यको परिणाममा दाबी विरोध पर्‍यो भने दुबै सदनको छुट्टाछुट्टै मतदान हुन्छ। दुबै सदनको बहुमतले पारित गरेपछि मत परिणाम पारित हुन्छ। सबै राज्यको मतपरिणाम यसै प्रक्रियाबाट पास भएपछि नयाँ राष्ट्रपतिमा विजेताको घोषणा हुन्छ।

नयाँ राष्ट्रपतिले जनवरी २० मा राष्ट्रपतिको सपथ लिन्छन्।

चर्चामा

सम्बन्धित समाचार