शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • वडाध्यक्षले नै गरे तेस्रो बिहे

वडाध्यक्षले नै गरे तेस्रो बिहे

  • बिहिबार, मंसिर ४, २०७७
वडाध्यक्षले नै गरे तेस्रो बिहे

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष ५२ वर्षीय इन्द्र कुमाई तेस्रो बिहे गरेर गाउँबाट भागेका छन् । तेस्रो बिहे गरेको भन्दै स्थानीय बासिन्दाले जानकारी दिएपछि पक्राउ गर्न गएको प्रहरी टोली गाउँमा नपुग्दै उनी पत्नीसहित भागेका हुन् ।

वडाध्यक्ष कुमाईले यसअघि दुईवटा बिहे गरेका छन् । उनका दुई श्रीमती सँगै बस्दै आएका छन् । उनले बिहे गरेपछि स्थानीय बासिन्दाले घरमा थुनेर राखेका थिए । ‘दुवैजनालाई थुनेर राखेको खबर आएपछि प्रहरी टोली गाउँमा गएको थियो, तर प्रहरी नपुग्दै उनीहरू भागिसकेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी गोविन्द थापाले भने ।

बहुविवाहको मुद्दाका लागि उनकी पत्नीले उजुरी दिनुपर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघिका दुवै बिहे दर्ता भएको पाइएको डिएसपी थापाले बताए । ‘अब दुईमध्ये एउटी पत्नीले उजुरी दिए पनि कारबाही प्रक्रिया अघि बढ्छ,’ उनले भने । वडाध्यक्ष कुमाईको पहिलो श्रीमतीबाट दुई छोरी र दोस्री श्रीमतीबाट दुई छोरा छन् । अहिले बिहे गरेकी स्थानीय महिलाका पनि पाँच छोराछोरी छन् ।

वडाध्यक्ष इन्द्र कुमाईले आफूले तेस्रो बिहे गरेको स्वीकार गरेका छन् । टेलिफोनमा कुरा गर्दै वडाध्यक्ष कुमाईले भने, ‘हाम्रो पहिलेदेखि मायाप्रेम थियो । गाउँमा सबैले थाहा पाएपछि उनका श्रीमान्ले मार्ने धम्की दिइरह्यो । उनलाई घरबाट निकाल्यो । त्यसैले मैले बिहे गरेको हुँ ।’

चर्चामा

सम्बन्धित समाचार