
बाजुरा– बाजुरा उद्योग वाणिज्य संघको २५ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशन आगामी जेठ १६ गते मार्तडीमा हुने भएको छ । संघले सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी सदस्यलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेको हाे । यस पटकको अधिवेशनलाई भने केवल नियमित नेतृत्व चयनको प्रक्रिया मात्रै नभई “नेतृत्व हस्तान्तरणको ऐतिहासिक मोड” का रूपमा हेरिएको छ । व्यवसायी समुदायले पनि यस निर्वाचनलाई निकै महत्वका साथ हेरेका छन्। नयाँ नेतृत्वबाट निजी क्षेत्रको हित संरक्षण, आर्थिक सुधारमा सक्रिय भूमिका र प्रभावकारी समन्वयको अपेक्षा गरिएको छ। विशेषगरी साना तथा मझौला ब्यववासायीहरुको समस्या समाधान, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिएको छ।
लामो समयदेखि संघको नेतृत्वमा प्रभाव जमाउँदै आएका अध्यक्षले करिब २५ वर्षको नेतृत्व यात्रापछि पुनः अध्यक्ष पदमा नदोहोरिने निर्णय गरेपछि नयाँ नेतृत्वका आकांक्षीहरू खुला रूपमा मैदानमा उत्रिएका छन् । अध्यक्ष देब बहादुर रोकायाले लामो सयम अर्थात स्थापनाकाल देखी हालसम्म नेतृत्व गरेर बिश्राम लिने लाइन रहेको बताएका छन । उनले भने अव धेरै समय एकै ठाउँमा लागिराख्न नहुने मोडमा आफु रहेको र अन्य साथिहरुलाइ पालो दिनुपर्ने हुदा अव अध्यक्ष पदमा नलाग्ने बताएका छन । उनले अघिल्लो अधिबेशनमै अन्तिम मौकाका रुपमा आफुलाई स्विकार गर्न आग्रह गरिएको र आउने अधिबेशनमा आफु नदोहोरिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए ।
व्यवसायिक वृत्तमा यो निर्णयलाई “पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण” का रूपमा विश्लेषण गरिएको एक ब्यवासायीले बताए । लामो समय एउटैको प्रभावमा चलेको संघ अब नयाँ सोच, नयाँ कार्यशैली र नयाँ प्रतिस्पर्धाको दिशामा प्रवेश गर्ने संकेत देखिएको व्यवसायीहरू बताउँछन् ।
को–को छन् आकांक्षी ?
अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि आधा दर्जन व्यवसायीहरूको नाम चर्चामा आएको छ । अध्यक्षका उम्मेद्धवारका आकाङ्गीक्षीहरुमा प्रथम उपाध्यक्ष चक्रबहादुर रोकाया, पूर्व कार्यसमिति सचिव तथा प्रदेश सदस्य गोपाल कार्की,े द्वितीय उपाध्यक्ष तुला रोकाया, महासचिव रमबहादुर शाही, कोषाध्यक्ष हंसबहादुर सिंह र गोरख बहादुर बोहरा रहेको उध्योग बाणिज्य संघको एक श्रोतले जनाएको छ । अध्यक्षका सम्भावित दाबेदार मध्ये संघका प्रथम उपाध्यक्ष चक्रबहादुर रोकाया लामो समय संघभित्र सक्रिय रहेका रोकाया संगठनको अनुभव र व्यवसायीहरूसँगको सम्बन्धका कारण अग्रपंक्तिमा देखिएका छन् । यस्तै, द्वितीय उपाध्यक्ष तुला रोकाया पनि नेतृत्वका आकांक्षीका रूपमा सक्रिय भएका छन् । उनी युवा व्यवसायीहरूबीच लोकप्रिय मानिन्छन् । महासचिव रमबहादुर शाहीले पनि नेतृत्वका लागि तयारी थालेको श्रोतले जनाएको छ । संघको प्रशासनिक र संगठनात्मक गतिविधिमा लामो अनुभव भएकाले उनलाई “संगठन बुझेका उम्मेदवार” का रूपमा हेरिएको ब्यवासयीहरुले बताएका छन ।
कोषाध्यक्ष हंसबहादुर सिंह आर्थिक अनुशासन र व्यवसायिक छविका कारण चर्चामा छन् भने पूर्व कार्यसमिति सचिव तथा प्रदेश सदस्य गोपाल कार्की पनि अध्यक्षको चर्चामा छन् । प्रदेशस्तरको राजनीतिक तथा सामाजिक पहुँचका कारण कार्कीको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसै गरी पुर्व उपाअध्यक्ष गोरख बोहराको पनि अध्यक्ष उम्मेद्धवारको चर्चामा रहेका छन् ।
ब्यवासायीहरुले भने हाम्रो अधिबेशन सहमतीमै टुगिंनेमा ढुक्क भएको बताएका छन । उनीहरुले भने हामी सबै मिलेर जान्छाँै सहमतीमै हाम्रो अधिबेशन सम्पन्न हुनेमा दृढ बिस्वास रहेको बताएका छन । बाजुरामा निजी क्षेत्र अहिले आर्थिक मन्दी, बजार संकुचन, सडक पूर्वाधार, बैंक ब्याजदर, कर प्रणाली र सीमित लगानीको समस्याबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले व्यवसायीको आवाज बलियो रूपमा उठाउनुपर्ने अपेक्षा गरिएको ब्यवासायीहरु बताउछन ।
स्थानीय व्यवसायीहरूका अनुसार संघ विगतमा केही सीमित घेराभित्र केन्द्रित भएको आरोप खेप्दै आएको थियो । अबको नेतृत्वले सबै क्षेत्र र सबै तहका व्यवसायीलाई समेटेर अघि बढ्नुपर्ने चुनौती रहेको उनीहरूको भनाई रहेको छ । अर्कोतर्फ, अधिवेशनले व्यवसायिक राजनीतिमा नयाँ ध्रुवीकरण पनि ल्याउन सक्ने संकेत देखिएको छ । आकांक्षीहरूको संख्या धेरै भएकाले सहमतीय नेतृत्व सम्भव हुन्छ वा चुनावी प्रतिस्पर्धा चर्किन्छ भन्ने चासो व्यवसायी वृत्तमा बढेको छ ।
संघले जारी गरेको सूचना अनुसार उद्घाटन कार्यक्रम बडीमालिका नगरपालिकाको सभाहल मार्तडीमा जेठ १६ गते बिहान ११ बजे हुनेछ भने बन्दसत्र सोही दिन दिउँसो ३ बजेबाट सुरु हुनेछ । अधिवेशनमा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरिने जनाइएको छ । यसपटकको अधिवेशनले केवल नयाँ नेतृत्व चयन मात्र होइन, बाजुराको निजी क्षेत्रको आगामी दिशा तय गर्ने विश्वास व्यवसायीहरूले गरेका छन्।
नयाँ कार्यसमितिले आगामी तीन वर्षमा संगठनलाई कस्तो दिशा दिन्छ भन्ने कुराले जिल्लाकाे आर्थिक गतिविधिमा समेत प्रभाव पार्नेछ। अहिलेको प्रतिस्पर्धात्मक चुनावी वातावरणले संघभित्रको सक्रियता र नेतृत्वप्रतिको चासोलाई झल्काएको छ, जसले आगामी दिनमा निजी क्षेत्रलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।


