शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • अर्थ
  • ‘लकडाउन’ले ‘लक’ नभएको उद्योग

‘लकडाउन’ले ‘लक’ नभएको उद्योग

  • शनिबार, कार्तिक ८, २०७७
‘लकडाउन’ले ‘लक’ नभएको उद्योग

प्रकाशविक्रम शाह

फूलबारी (कैलाली), कात्तिक ८ गते । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीमगरको फूलबारी दुना–टपरी उद्योगमा टपरी बनाउने व्यस्तता बढेको छ ।
सुरुमा टपरी कोही किन्न मान्दैनथे तर अहिले माग निकै छ, भावनाले भन्नुभयो, “लकडाउनमा सबै कारोबार लक भए हामीले भने त्यो बेलासमेत धेरै टपरी बनायौँ । अहिले फेरि दशैँ, तिहारमा चाहिने दुना–टपरी बनाइरहेका छौँ । ”
उहाँले पुराना कुरा सुनाउँदै भन्नुभयो, “तीन वर्ष टपरीका बारेमा प्रचार गरिसकेपछि अहिले टपरी उद्योगले कमाइको लय समातेको छ । फाइबरभन्दा अर्गानिक सालको पातको टपरीमा खाने कुरा खाँदा सजिलो हुन्छ भन्ने सम्झाउन सकेपछि अहिले माग पु¥याउनै गाह्रो छ । ” उहाँका अनुसार आजभोलि मःम, चाउमिन, अरू खालका नास्ता, खानाका लागिसमेत टपरी प्रयोग हुने गरेको छ ।
सुरुमा आफूलाई थोरैले मात्र पत्याएको बताउँदै उहाँले काठमाडौँ, डडेल्धुरा, महेन्द्रनगर, धनगढी र फूलबारीका विभिन्न व्यवसायीले अहिले आफ्नो टपरी लैजान थालेको जानकारी दिनुभयो ।
विदेशमा कार्यरत श्रीमान्ले समेत ‘टपरीसितै बिहे गर, मैले डिभोर्स गरेँ’ भनेर दुईपटक फोनमा भनेको स्मरण गर्दै भावनाले आफू महोत्सवहरूमा उद्योगीका रूपमा सम्मानित हुन थालेपछि भने श्रीमान् सकारात्मक भई नेपाल आएर घरमा म अरू नै व्यवसाय गर्छु भन्न थालेको बताउनुभयो । “त्यसो गर्नुभयो भने म अर्को ठाउँमा उद्योग खोल्छु । म अब यो व्यवसायमा भिजिसकेकी छु,” उहाँले भन्नुभयो ।
वातावरण र स्वास्थ्यमा कुनै खालको असर नपार्ने भएपछि आजकल जताततै टपरी रुचाउन थालिएको छ । त्यसैले बजारको समस्या पनि छैन । त्यसै हुँदा पहिलो वर्ष घाटा नभएको, दोस्रोमा दुई लाख जति बचत भएको र तीन÷चार लाखको टपरी त गोदाममै रहेको बताउनुभयो ।
उहाँ र उहाँका साथीहरूले अनुरोध आउँदा दुना–टपरी बनाउने र मेसिन किन्नेलगायतका विषयमा तालिमसमेत दिने गर्नुभएको छ । भावनाको साहस र लगनशीलता देखेर अहिले वडादेखि प्रदेश सरकारसम्मले सहयोग गरेका छन् । भावनाका अनुसार नगरपालिका, वन डिभिजन कार्यालयले समेत छुट्टाछुट्टै मेसिन किनिदिएका छन् । उहाँले नवलपरासीमा टपरी बनाउने काम गरेर आएकी साथीको प्रेरणाले टपरी उद्योगमा हात हाल्नुभएको थियो । उहाँको उद्योगमा दैनिक ३०÷३५ जनाले काम पाइरहेका हुन्छन् ।
फुर्सदको समयमा टपरी उद्योगमा आउने महिलाहरू कसैले मेसिनमा साँचोअनुसारको दुना, टपरी बनाउने गरेका हुन्छन् भने कोही दुना, टपरीमा सिन्का हालेर मिलाइरहेका हुन्छन् । अलिकति बलिया महिला जङ्गल गएर पात टिपेर ल्याउने गर्छन् । भावनाले बूढापाका मेसिन चलाउन पनि नसक्ने र जङ्गलमा पनि जान नसक्नेलाई दुना–टपरीमा सिन्का हाल्ने काम दिइरहनुभएको छ ।
अहिले बुवाको अटोरिक्सामार्फत १४ किलोमिटर टाढाको धनगढी बजारमा दुना–टपरी पठाउने गरेकी भावनाले चाँडै स्कुटी किनेर
बजार जाने योजना रहेको पनि बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार