शनिबार, कार्तिक १५, २०७७
  • होमपेज
  • बुढिनन्दा
  • स्याउ बेचेर मार्सी धान काट्ने तयारी

स्याउ बेचेर मार्सी धान काट्ने तयारी

  • आइतवार, अशोज १८, २०७७
स्याउ बेचेर मार्सी धान काट्ने तयारी

निमेन्द्र शाही —  बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ । किनकि, यस वर्षदेखि राम्रो मूल्यमा बारीबाटै स्याउ बिक्री हुन थालेको छ ।

कतिपय किसानले आफू कहिल्यै जहाज नचढे पनि बारीको स्याउलाई जहाजमार्फत तराईका जिल्लासम्म पठाउन पाएका छन् । उनीहरू अब खेतमा पाकेर पहेँलै भएको मार्सी धान काट्ने तयारीमा छन् ।

‘हामी उड्न पाएका छैनाैँ, हाम्रो स्याउले जहाज चढ्यो’
त्यसाे त बाजुरा मात्र हाेइन, कर्णाली र सुदूरपश्चिमका अन्य जिल्लाका किसान पनि खेत पस्न लागेका छन् । यसपालि मौसम अनुकूल नहुँदा धान उत्पादनमा कमी आएको छ । अर्कातिर, जुम्लामा फल्ने मार्सी र अन्य जिल्लामा फल्ने मार्सी उस्तै भए पनि बजारमा जुम्ली मार्सीको माग बढी छ । बाजुराका स्थानीय जयलाल विकका अनुसार मार्सी पाकेसँगै व्यापारीहरूले धान संकलनका लागि किसानलाई केही रकम पेस्की छोड्न थालेका छन् ।

कर्णालीका र सूदूरपश्चिम प्रदेशका उच्च भेगमा मार्सी धान उत्पादन हुन्छ । कतिपयले जुम्लामा मात्रै मार्सी धान उत्पादन हुन्छ भन्ने ठान्छन्, जुन सत्य होइन । बाजुरासँगै हुम्ला, मुगु र बझाङमा पनि मार्सी धान उत्पादन हुन्छ । तर, यी जिल्लाबाट बजारमा पुर्‍याएपछि व्यापारीले जुम्लाकै मार्सी धान भनेर बेच्ने गरेका छन् ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल भन्छन्, ‘जुम्लाको जस्तै मार्सी धान हाम्रोमा प्रशस्त हुन्छ । हामीबाट पनि व्यापारीले धान किनेर लान्छन् तर जुम्लाको भनेर बेच्छन् ।’

उनका अनुसार अरु धानभन्दा केही चाँडो लगाउनुपर्ने र ढिलो पाक्ने भएकाले पछिल्लो समय यस्तो धान अलिक कम लगाइन्छ । हुम्ला र मुगुमा यसलाई ‘जुम्ली मार्सो’को नामले चिनिन्छ भने बाजुरामा ‘मार्सो’ मात्र भन्ने गरिएको छ । बझाङमा यसलाई ‘जुगोटे मार्सो’को नामले चिनिन्छ ।

आकाशे पानीको भर
बाजुरा जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेका स्वामी कार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका, बूढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा मार्सी धानको खेती गरिएको छ । तर, सबै क्षेत्रमा सिँचाइको असुविधा छ । ‘यस वर्ष धेरै पानी पर्‍यो । सिँचाइका लागि बनाइएको नहरको बाँध खोलाले बगाएपछि आकाशे पानीको भर पर्दा धान उत्पादन घटेको छ’, बूढीनन्दा नगरपालिका–१ का जयलाल विक भन्छन् । उनका अनुसार पानी कम भएको धान कुट्दा चामल कम र भुस धेरै आउँछ ।

उसो त बाजुरा जिल्लाको पूरा क्षेत्रफलमा ९.२१ प्रतिशत खेतीयोग्य जमिन छ । त्यसमा जम्मा सिञ्चित क्षेत्र १.४२ प्रतिशत मात्र छ । अर्थात् ७.७९ प्रतिशत जमिनमा सिँचाइ सुविधा छैन । जिल्लाको कुल २० हजार १ सय ५५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ हजार १ सय १५ हेक्टरमा मात्र सिँचाइ सुविधा छ । यहाँ आकाशे पानीकै भरमा खेतीपाती गरिन्छ ।

‘मौसमले साथ नदिएकाले यस वर्ष धान कम फलेको छ । सिँचाइ सुविधा भएको भए आकाश हेरेर पुर्पुरोमा हात राख्नु पर्दैन थियो’, स्वामी कार्तिक खापर गाउँपालिका– १ का कार्तिके विकले भने ।

बाजुरा जिल्लामा ७ हजार २ सय ३० हेक्टरमा धान खेती हुन्छ । त्यसमा १३ हजार ८ सय मेट्रिकटन धान फल्ने गरेको छ । जसको उत्पादकत्व १.९ मेट्रिक टन छ । जुम्लाको कालो मार्सी भनिने तर बाजुरामा मार्सो भनिने धान बाजुरा जिल्लामा ३ सय ७५ हेक्टर जमिनमा खेती गरिन्छ भने हरेक वर्ष ४ सय ८७ मेट्रिकटन फल्ने गरेको छ, जसको उत्पादकत्व १.३ मेट्रिक टन हो ।

मार्सीको चर्चा
विगतमा राजपरिवारको भान्सामा पाक्ने मार्सी चामलबारे धेरै नेपालीलाई थाहै थिएन । तर, सामाजिक सञ्जालमा चर्चापछि भने यसको राम्रो ‘ब्राण्डिङ’ भएको छ । झापाको बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले भक्तपुरस्थित आफ्नो घरमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाउँदाको तस्वीर फेसबुकमा शेयर गरेसँगै मार्सी धानबारे धेरैले थाहा पाएका हुन् ।

‘जुम्लामा मार्सी भनिए पनि बाजुराका स्थानीयले मार्सो भन्ने यो धान समुद्री सतहभन्दा १० हजार फिटको उचाइमा फल्छ । यो धानको खेती हाम्रो जिल्लाका उच्च हिमाली भागका सबै गाउँमा हुने गरेको छ । यसको चामल रातो र भात पकाउँदा हल्का गिलो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुने बताइन्छ । मार्सी चामलको भात खाँदा चाँडो भोक नलाग्ने, आइरन र आयोडिनको मात्रा प्रशस्त हुन्छ’, कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले भने ।

सामान्यतया चैतको दोस्रो साता लगाइने यो धान असोजको दास्रो सातातिर काट्ने बेला हुन्छ । अहिले काठमाडौंलगायत शहरमा मार्सी चामलको मूल्य प्रतिकेजी २ सय १० रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म पर्छ ।

चर्चामा

सम्बन्धित समाचार