बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • गरिबिले आक्रान्त : श्रिमानकाे मृत्युमा न कात्रो, न काजकिरिया

गरिबिले आक्रान्त : श्रिमानकाे मृत्युमा न कात्रो, न काजकिरिया

  • बिहिबार, भदौ ११, २०७७
गरिबिले आक्रान्त : श्रिमानकाे मृत्युमा न कात्रो, न काजकिरिया

प्रकाश सिंह

बाजुरा, ११ भदाै/२४ वर्षदेखि भारतमा बस्दै आएको बाजुराको बडिमालिका नगरपालिका–२ माझीगाउँकी कलमती दमाईको ६ जनाको परिवार कोरोना कहरपछि २८ जेठमा बाजुरा फर्कियो । बाजुरा पुगेलगत्तै बडिमालिका नगरपालिका–२ भौनेराको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कलमतीको परिवारलाई राखियो । क्वारेन्टाइनमा बसेको दुई दिनमै ३० जेठको साँझ उनका पति भुपेन्द्र दमाईले आत्महत्या गरे ।
लामो समयदेखि दमको रोगबाट पीडित भुपेन्द्र कोरोना कहरका कारण आर्थिक अभावले गुज्रिरहेका थिए । भारतको दिल्लीमा कलमती अरूको घरमा काम गरेर पतिको उपचार खर्च जुटाउन र परिवार पाल्न सक्रिय थिइन् । लकडाउन भएपछि भारतको रोजगारी गयो, सपरिवार गाउँ आए, पतिले ज्यान गुमाए । कलमतीको जीवनमा अन्धकार छायो ।
कलमतीको गाउँमा घरजग्गा छैन । पतिको मृत्यु कर्म गर्न खर्च समेत नभएकी कलमतीसँग कात्रो किन्ने रकम समेत थिएन । खर्च अभावले उनले पतिको १३ दिने काजकिरिया समेत गर्न सकिनन् । पतिलाई उनी आफैंले बोकेर क्वारेन्टाइन नजिकै गाडेकी थिइन् । पतिको लास बेर्ने सेतो कपडा मात्र होइन धूप किन्ने पैसा समेत नभएकी कलमतीले रुँदै भनिन्, “मसँग मेरो बूढा मर्दा सेतो लुगा किन्ने पैसा पनि भएन, खर्च अभावले काजकिरिया गर्न पनि सकिनँ ।”
पतिको मृत्युपछि पनि २५ दिनसम्म कलमती छोराछोरी सहित क्वारेन्टाइनमा बसिन् । क्वारेन्टाइनमा खाने व्यवस्था नगरपालिकाले गरेको थियो । क्वारेन्टाइनबाट घर फर्केपछि कलमतीको विजोग शुरू भयो । उनको पुरानो घर भत्किसकेको छ, अरूको घरमा बसिरहेकी कलमतीलाई गाउँलेहरूले खाद्यान्न सहयोग गरेर बिहान–बेलुका खाने व्यवस्था गरेका छन् । उनी भन्छिन्, “श्रीमान् बितिहाले, अब यी चार छोराछोरी कसरी पाल्ने ?” क्वारेन्टाइनबाट फर्केपछि बडिमालिका नगरपालिका वडा नम्बर २ को कार्यालयले कलमतीलाई राहतका नाममा ३० केजी चामल दिएको थियो । वडाध्यक्ष डम्मर महत भन्छन्, “गरीबीमा गुज्रिएको परिवार भएकोले कलमतीलाई अहिले खान लाउनकै समस्या छ, वडाको सहयोगले कति दिन पुग्छ र ?”
कोरोनाका कारणले भारतमा रोजगारी गुमेर बाजुरा फर्किएका विपन्न नागरिकले झेलेका यी केही प्रतिनिधि दृष्टान्त हुन् । यस्तो संकट झेल्ने अरूहरू पनि छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांक अनुसार भारतमा रोजगारी गुमाएर बिचल्लीमा परेकामध्ये लकडाउनको अवधिमा मात्रै ८ हजार ३८१ जना नेपाली बाजुरा आएका छन् । उनीहरूमध्ये सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको थियो ।
बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मी भन्छिन्, “भारतबाट आएकाहरूले राहत वा अन्य विशेष सहयोग पाएका छैनन् । शुरूमा भारतबाट आउँदा चाहिं दलित समुदायलाई यातायात खर्च भनेर केही रकम छुट्याएका थियौं । अरूलाई त्यस्तो केही थिएन ।”
नगरपालिकाले वितरण गरेको राहतबाट अधिकांश क्वारेन्टाइनमा बस्नेहरू वञ्चित भए । क्वारेन्टाइनबाट घर फर्किंदा नगरको राहत वितरण सकिएको थियो । त्रिवेणी नगरपालिका कार्यपालिका सदस्य हरि नेपाली भन्छन्, “नगरपालिकाको राहत वितरण सकिएपछि भारतबाट धेरै मानिस आए । भारतमा रोजगारी गुमाएर सपरिवार नेपाल आउने गरीब श्रमिकहरूले अहिले चरम खाद्य संकट भोगिरहेका छन् ।”
बाजुरामा बूढीगंगा नगरपालिका बाहेक ८ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट ल्याइसकेका छन् । तर, सबैको बजेटमा भारतबाट रोजगारी गुमाएर फर्केका नेपालीको संकट समाधान गर्ने कार्यक्रम परेको छैन । बडिमालिका नगरपालिका प्रमुख पदम बडुवाल भन्छन्, “अहिले बाजुराको ठूलो विपत्ति भनेको बाढीपहिरो नै भएकोले अरू समस्यामा ध्यान दिन सकिएको छैन ।”

चर्चामा

सम्बन्धित समाचार