शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • जनतालाई बुझ्ने शासनव्यवस्था आजको आवश्यकता

जनतालाई बुझ्ने शासनव्यवस्था आजको आवश्यकता

  • बिहिबार, असार ११, २०७७
जनतालाई बुझ्ने शासनव्यवस्था आजको    आवश्यकता

नेपालीको शासन शब्द अंग्रेजी भाषाको governance बाट आएको हो | यसको अर्थ कुनै पनि संगठन वा राज्य व्यवस्था संचालन गर्ने तौरतरिका वा पर्णाली भन्ने  बुझिन्छ | त्यस्तै नेपाली बृहत् शब्दकोश अनुसार, शासन भनेको प्रबन्ध गर्ने वा सञ्चालन गर्ने कार्य हो | यसमा अनुशासन, मर्यादा पालना गराउने काम, आज्ञा, आदेश वा हुकुमी हुन्छ| तसर्थ शासनको शाब्दिक अर्थ हेर्ने हो भने सरकारद्वारा राज्य व्यवस्था संचालन गर्ने कार्य शासन हो |

 परम्परागतरुपमा शासनलाई शासक द्वारा जनता उपर गरिने नियन्त्रण आदेश वा हुकुमी भनेर भनिन्छ | परापूर्वकालमा शासनको मुख्य कार्य भनेको जनताको शान्ति सुरक्षा कायम गर्नु,अर्थतन्त्रको जोहो कालागि राजस्व संकलन गर्नु, देशको सिमा सुरक्षा गर्नु, जस्ता कार्यहरुमा मात्र सिमित थियो | वर्तमान समय भनेको हो विज्ञान र प्रविधिको युग हो | हाल विश्वलाई global village का रूपमा लिइन्छ | अहिलेको एक्काइसौँ शताब्दी तथा उत्तरआधुनिक बादलले   शासनको अर्थ तथा प्रवृत्तिमा पनि निकै फेरबदल लिइसकेको छ |

 वर्तमान समय र सन्दर्भ अनुसार शासन भनेको जनताको सर्वोत्तम हित तथा समुन्नतिमा केन्द्रित लोककल्याणकारी विकास र व्यवस्थापन राज्यका सर्वांगीण गतिविधिहरूको एकमुष्ट रुपलाई बुझाउँदछ| यसमा औपचारिक तथा अनौपचारिक क्षेत्रका गाविसमा सहकार्य सहभागिता समन्वय तथा बराबरीको उपस्थिति हुनु जरुरी छ शासनको बहुआयामिकतता, गतिशीलता र समय सन्दर्बीकतालाई बढी जोड दिन्छ | निजी सहकारी सामुदायिक नागरिक समाज तथा जनताहरु को बिचमा प्रत्यक्ष र परोक्ष रुपमा समन्वय हुने गर्दछ |

 निष्कर्षमा भन्नुपर्दा शासन भनेको  सहयोगात्मक व्यवस्थापन, परिचालन, नियमन, सहजीकरण तथा असल र चुस्त दुरुस्त सार्वजनिक सेवा प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा लिइन्छ | अर्को शब्दमा भन्ने हो भने शासन भनेको देशको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधिनता ,स्वाभिमान र  राष्ट्रियतालाई अछुर्ण  राखी राज्यशक्ति बैधानिक अभ्यास, नीति निर्माण र निर्णय निर्माणमा सरकारले जनहितको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न अन्य शासकीय सहयात्रीहरु सँग गर्ने सहमति, सहकार्य र साझेदारीको एकीकृत रूप हो |

 नेपालको शासन व्यवस्थालाई यकदमै  सूक्ष्म रूपबाट नियालेर हेर्दा प्राचीनकाल, मध्यकाल र आधुनिक काल भनेर विभिन्न विद्वान तथा लेखहरुमा उल्लेख गरिएको पाइन्छ |

 प्राचीन काल 

 प्राचीनकालमा आधिकारिक अभिलेखहरु पर्याप्त मात्रामा उपलब्ध छैन | यात्रीहरूको  यात्रा विवरण, पुरातात्विक अभिलेख अनुसार  प्राचिनकालमा   गोपालवंशी र सोमवंशी,   आभिरवंशी, किराँतवंशी, र लिच्छवीवंसी राजाहरुले शासन गरेको पाइन्छ | यस अवधिका प्रमुख शासकहरुमा भुक्तमान,  बरसिंह,  निमिश  ,मानदेब, अंशुवर्मा र नरेन्द्रदेव आदि प्रमुख हुन् | जसमा  8 जना गोपालवंशी हरुले 521 बर्ष शासन गरे |  तीनजना   आभिरवंशीले 143 वर्ष शासन गरे | 29 जना किराँत वंशी हरुले 1118 वर्ष शासन गरेका थिए | गोपालवंशीका अनुसार अन्तिम किराँती राजा गस्तीलाई युद्धमा पराजित गरी भारतको वैशालीबाट आएका लिच्छवीहरुले नेपालमा शासन व्यवस्था सञ्चालन गरेका थिए |

 इतिहासविद् बाबुराम आचार्यका अनुसार इस्वी सम्भव 250 तिर लिच्छवीहरुले नेपालमा शासन शुरु गरेका थिए | जयदेव, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव तथा गुणकामदेव जस्ता शासकहरूले लिच्छविकालमा शासन चलाएका थिए | नेपालको राजनीतिक शासनकालमा  लिच्छवीकाल  स्वर्ण युग भनेर चिनिन्छ | मानगृहको निर्माण , मानाङ्क मुद्राको प्रचलन, कैलाशकुट भवनको निर्माण, शब्दविद्या ग्रन्थको रचना, मनुस्मृति का आधारमा न्याय,  कान्तिपुर राज्यको स्थापना, नेपालको प्रमाणिक इतिहासको सुरुवात, नेपालको सामाजिक आर्थिक तथा राजनीतिक क्षेत्रमा सुधार, वास्तुकलाको विकास तथा प्रचार, भारत तथा तिब्बतसँग व्यापारको विस्तार, जनता र  शासक अधिक घनिष्ट र असल सम्बन्ध तथा जनसहभागितामूलक शासनव्यवस्था को शुरुवात यस कालका केही महत्वपूर्ण उपलब्धीहरू थिए |

 मध्यकाल/ मल्लकाल ( विसं 937 देखि विसं 1825 सम्म )

 इतिहासकारहरूले नेपालमा  विभाजन गर्दा विसं 937 देखि अर्थात नेपाल सम्वतको थालनी भएदेखि नेपालको एकीकरण हुनु अगाडी  समयसम्म लाई मध्यकाल भनेर परिभाषित गर्ने गरेको पाइन्छ |यस समयमा मल्ल राजाहरुनै शासनव्यवस्था भएकाले मध्यकाल लाई मल्लकाल भनेर पनि चिनिने गरिएको छ | यस कालमा कला, संस्कृति, ज्ञान, विज्ञान, धर्म, दर्शन  आदिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ | त्यस्तै नयाँ राज्यहरूको उदय तथा विभाजन पनि भएको पाइन्छ | यक्ष मल्ल, प्रताप मल्ल,  जयस्थिति मल्ल, महेन्द्र मल्ल तथा रामशाह यस कालका प्रमुख शासन कर्ता हुन् | सामाजिक सुधारक काम कानुनको सुधारकालागि न्यायशास्त्रको निर्माण तथा आर्थिक सुधारका कामहरु पनि यस समयमा भएको पाइन्छ | प्रजाको घरमा   धुवा आएसम्म खाना नखाई बस्ने र त्यस घरमा खाना पठाएर मात्र आफू खाना खाने शासकहरु पनि  यस कालमा थिए | त्यतिमात्र होइन धर्म हराए काशी जानु तथा न्याय नपाए गोर्खा जानु भन्ने उखान पनि मध्यकालमा निकै प्रचलित थियो |

 आधुनिक काल (विसं 1825 देखि हालसम्म)

 पृथ्वी नारायण शाहको एकीकरण अभियान, राणाशासन, प्रजातन्त्रको प्राप्ति, पञ्चायतकाल , प्रजातन्त्रकाल,  तथा गणतन्त्रको स्थापना र संघीयताको  कार्यान्वयन  सम्मको समयलाई नेपालको राजनीतिक इतिहासमा आधुनिक काल भनेर चिन्ने वा मान्ने गरिन्छ | यस समयावधिमा पृथ्वी नारायण शाह, प्रतापसिंह शाह, बहादुर शाह, रणबहादुर शाह, राजेन्द्र लक्ष्मी, भिमसेनथापा, जङ्गबहादुर राणा ,राजा त्रिभुवन, राजा महेन्द्र, राजा बिरेन्द्र, राजा ज्ञानेन्द्र तथा तत्पश्चात का प्रधानमन्त्रीहरु लाई यस कालका मुख्य शासक प्रयोगका रुपमा लिने गरिन्छ |

 यसरी नेपालको शासन काल वा शासनव्यवस्थालाई विभिन्न तीन चरणमा बाँडेर अध्ययन गर्ने गरिन्छ | अब प्रसङ्ग  कुन कालखण्डमा कस्ता, कस्ता प्रकारका आन्दोलन वा परिवर्तनहरू भए भन्दा पनि नेपाली जनताले के उपलब्धी प्राप्ति गरे भन्ने तर्फ उन्मुख हुनु बढी सान्दर्भिक होला | प्राचीन कालमा भएका राम्रा प्रयासहरुलाई माथि नै उल्लेख गरिसकेको छ | प्राचीन समयमा शासनको क्षेत्राधिकार संकीर्ण भएकाले सोहीबमोजिम  नेपालमा पनि शासन संचालन भएको देखिन्छ | समय, विज्ञान र प्रविधि तथा शिक्षाको हिसाबले प्राचिनकाल अलि कम विकसित भएकाले शासन सञ्चालनमा पनि त्यति राम्रो विकास भएको हो देखिँदैन | शासकहरु पनि जनताका एकदमै प्रिय पात्र भएका उदाहरणहरु पनि देखिसकेका छौं | जुन कुरालाई मध्यकालीन राजा महेन्द्र मल्ल तथा रामशाहको  स्वागतयोग्य  क्रियाकलापले  पुष्टि गरिसकेको छ |

 वर्तमान अवस्था अनुसार सबैभन्दा सुक्ष्म तरिकाले आधुनिक काललाई नियालेर  हेर्नु जरुरी देखिन्छ |आधुनिक कालको कुरागर्दा हामीले नेपालको भौगोलिक विखण्डनलाई एकीकृत गर्ने, बाइसे, चौबिसे राज्यहरु लाई एउटै सूत्रमा बाँध्ने राजा श्री 5 पृथ्वीनारायण शाहलाई कदापि भुल्नु  हुँदैन | हुन त हामीले अहिले पनि श्री 5 पृथ्वी नारायण शाहलाई शाहवंशीय भएकै आधारमा उहाँको शालिक भत्काउने, गालीगलौज गर्ने जस्ता अत्यन्त गैरजिम्मेवार नश्लीय चिन्तनहरूको विकास  नदेखेका होइन| त्यतिमात्र होइन एकदमै दुःखपूर्ण तथा कष्टपूर्ण  नेपाल राष्ट्रलाई जीवित राख्ने पृथ्वी नरनारायण शाहको जन्मोत्सव पृथ्वी जन्मजयन्तीलाई सम्झिन छोडिएको दुखद अबस्था छ| यदि तत्कालीन समयका बाइसेचौबीसे स-साना  राज्यहरुलाई एउटै मालामा पृथ्वी नारायण शाहले नगासेको भए आज हामी हाम्रो नेपाल र हामी नेपाली भनेर छाती फुलाएर गौरव गर्न सक्ने ठाउँ हुनेवाला थिएन |

नेपाल राज्यको एकीकरण गर्नुपर्ने, नेपालका दुई बिशाल छिमेकी राष्ट्रहरु भारत र चीनको नकारात्मक सोच र चिन्तनबाट नेपाललाई सुरक्षित राख्न बढी समय खर्च गर्नुपर्ने भएकाले  श्री 5 बडामहाराजाधिराज पृथ्वीनारायण शाहले देशको आर्थिक विकास गर्न चुक्नु भएको  अवश्य पनि हो | तर पनि उहाँका  अर्थी उपदेशबाट उहाँको शासनकालको परराष्ट नीति, आर्थिक नीति तथा देश र जनताप्रतिको राष्ट्र भाव र देशभक्तिको प्रष्टरुपमा झल्किन्छ | नेपालको एकिकरणमा पृथ्वी नारायण शाहले मात्र योगदान दिए भने पनि होइन | उनलाई सहयोग र  समर्थन  गर्ने तथा हौसला प्रदान गर्ने थुप्रै वीर सहिदहरु भएता पनि आफ्नो कार्यकालमा सुरु गरेको  एकीकरण अभियानलाई प्रतापसिंह शाह, बहादुर शाह,  राजेन्द्र लक्ष्मी, रणबहादुर शाह तथा भीमसेन थापा जस्ता  बिर सपुतहरुले पूर्णता दिएका थिए | सोहि  समयमा  थुप्रै  अन्तर्राष्ट्रिय शक्तिहरूसँग पनि आफ्नो देश र सिमानाको लागि केवल खुकुरी र भाला को सहारा लिएर लड्नुपर्ने अवस्था थियो | कतिपय ठाउँमा आफूले सोचे अनुसारको प्रगति हासिल गर्न सकियो भने कतिपय अवस्थामा आफ्नो इच्छाविपरीत भनी नेपालको सिमाना गुमाउनु परेको पिडा अहिले भनी सर्वविदितै छ |  देशप्रतिको माया तथा राष्ट्रभक्ति राजपरिवारमा हुँदाहुँदै पनि दरबारिया षड्यन्त्रका कारण देशको  शासनव्यवस्था सञ्चालन गर्ने अभिभारा चतुर जंगबहादुर राणाले आफ्नो पोल्टामा पार्न सफल भएको दृष्टान्त हाम्रा सामु छर्लङ्गै छ |

राणा खानदानी हरुका लागि मात्र भएपनि एक वर्षको बेलायत यात्रा ले नेपालमा अङ्ग्रेजी शिक्षाको सुरुवात जंगबहादुरले गरेका थिए |यो नेपालको शैक्षिक इतिहासमा सबैभन्दा ठूलो उपलब्धि का रूपमा लिइन्छ | आफ्नै शाखा सन्तानको लागि मात्र  भएपनि विभिन्न दरबार तथा भवनहरुको स्थापना गरे | नेपाली जनताहरूको लागि भने राणाशासन अहिलेसम्मकै राजनीतिक इतिहासमा एउटा कालो समयका रूपमा चित्रण गर्ने गरिन्छ | नेपाली जनतालाई सम्पूर्ण हकअधिकार प्राप्त गर्न बाट  बन्देज लगाएको थियो | जसको प्रष्ट रुपमा व्याख्या राणा प्रधानमन्त्री चन्द्रशमशेरले त्रिचन्द्र कलेजको स्थापना गर्दा आफ्नै खुट्टामा बन्चरो हान्नु पुगे भन्ने भनाइबाट प्रष्ट हुन्छ |

नेपालको राजनीतिक इतिहासमा विसं 2004 साल देखि विसं 2072 सालसम्म सातवटा संविधान हरु जारी भइसकेका छन् | नेपाली जनताहरुले आफ्नै शासकहरूका विरुद्धमा पटक-पटक आन्दोलनमा होमिनु पर्ने बाध्यता सिर्जना धेरै पटक भएको छ | कहिले जहानिया राणा शासनको विरुद्धमा, कहिले प्रजातन्त्रको नाममा , कहिले पन्चायतको बिरुद्धमा, कहिले बहुदलको नाममा, कहिल्यै लोकतन्त्र तथा कहिले गणतन्त्र र संघीयताको नाममा नेपाली जनताले धेरैपटक आफ्नो ज्यानको बलिदान दिईसकेका छन् | शान्तीको देश नेपालमा धेरै पटक रगतको खोलो बगिसकेको छ | नेपाली जनताले आफ्नो सपनालाई साकार गर्नकोलागि जेजस्ता  प्रकारका व्यवस्थाहरुलाई अन्त्य गर्न बाध्य भएका छन् |  समय फेरिएको छ, वातावरणमा परिवर्तन आएको छ, वादविवाद र विचारविमर्श  गर्ने मुद्दाहरुमा परिवर्तन आएका छन् तर नेपाली जनताको जीवनस्तरमा भने केही पनि परिवर्तन आएको देखिँदैन | विसं 2007 सालदेखि हालसम्म उही र उस्तै प्रवृत्ति भएका पात्रहरू राज्यशक्ति वरिपरि घुमिरहेका छन् | देश र जनताको लागि भन्दै छिमेकी देशहरुसँग विभिन्न प्रकारका असमान राष्ट्रघाती सन्धि र सम्झौताहरू विगतमा जनताहरुलाई ढाड छल गरेकाप्रमाणहरू आज एकाएक खुल्दै गइरहेका छन् |

दशवर्षे सशस्त्र जनयुद्ध, 62 /63 सालको दोस्रो जनआन्दोलन, लोकतन्त्र तथा गणतन्त्र को स्थापना र संघीयताको पूर्णरूपमा कार्यान्वयन भइरहेको आजको अवस्थामा पनि नेपाली जनताहरुले चित्त बुझाउनुपर्ने अवस्था कतै पनि देखिँदैन| जनताले के पायो वा के गुमायो भन्दा पनि जनताको मागलाई, जनताको इच्छा र आकांक्षालाई परिपूर्ति गर्ने गरी देशमा शासन व्यवस्था सञ्चालन भइरहेको छ कि छैन भन्ने प्रश्न सबैभन्दा  जटिल तथा प्रबल रुपमा लिने गरिएको छ | हाल देशमा एउटा संघीय सरकार सातवटा प्रादेशिक सरकार र 753 वटा स्थानीय सरकार रहेका छन् | यो शासन व्यवस्थालाई नेपालको संविधान मार्फत नै स्थापित गरिसकेको अवस्था छ |

वास्तवमा संघीयता भनेको केन्द्रमा केन्द्रित भएर रहेको  शक्ति  र स्रोत  साधानलाई जनताको स्तरमा पुर्याएर सेवा प्रवाह गर्नु हो | प्रदेश तथा स्थानीय सरकारलाई पनि अधिकार तथा कर्तव्य  प्रदान गरिएको छ | अब मुख्य प्रश्न भनेको अधिकार मात्र प्राप्त गर्ने   वा आफ्नो कर्तव्यको सहीरूपमा बोध गरेर त्यसबाट जनतालाई पनि सही प्रकारले सेवा प्रवाह गर्न सक्ने हो भने मूल कुरा हो |  विगतमा देशमा एउटामात्र संवैधानिक राजा हुँदा राज्यको खर्चको भार बढी भयो भनेर कडा भाषण गर्ने देशका राजनीतिज्ञहरू हाल आफै जनताले तिरेको कर तथा विदेशबाट प्राप्त विप्रेषणमा  आफ्नो मात्र  दुनु सोझ्याउने काम गरिरहेका देखिन्छन् |

अहिलेको समयमा गाउँ गाउँमा सिंहदरबार  केवल कागजमा मात्र सीमित भएर  भौतिकरुपमा   सिंह हरूको उपस्थिति गाउँमा भएजस्तो   अनुभूतिजनताहरुलाई भइरहेको छ | यसो भनिरहँदा कतिपय ठाउँमा राम्रा काम कारवाहीहरु नभएका भने होइनन् | यसै सन्दर्भमा एउटा विश्व प्रख्यात व्यक्तित्व vole tire को भनाईलाई चरितार्थ मान्न सकिन्छ | उनका अनुसार “सयवटा मुसा को शासन भन्दा एउटा सिंहको शासन धेरै राम्रो हुन्छ “ |  हाल नेपालमा पनि यस्तै अवस्था सिर्जना भएको देखिन्छ |

 अब प्रसङ्ग अहिलेको विषयवस्तुसँग जोडिएर हेरौ | हाल विश्व COVID 19 सँग लडिरहेको अवस्था छ | नेपालमा पनि यसको प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ |देशको अर्थतन्त्र निकै तहसनहस हुने अवस्थामा छ | विश्वबजारमा रोजगारी गुमाएका नेपाली श्रमिकहरु स्वदेश फर्किने क्रम तीव्र छ | नजिकैको छिमेकी देश भारतबाट स्वदेश फर्किने नेपालीहरु लाई सहि रुपमा व्यवस्थापन गर्न नसक्दा अवस्था झन् जटिल भएको छ |

  covid रोकथामका लागि सरकारले भएसम्म प्रयास गरे तापनि यो नियन्त्रण भन्दा बाहिर गैसकेको छ |   स्थानीय तहहरुले  संक्रमितको RDT परीक्षण गरेर  विदेशबाट फर्केका  नागरिकलाई घर पठाउँदा संक्रमणको जोखिम एकदमै उच्च देखिएको छ |  कतिपय स्थानीय तहहरु संक्रमणलाई नियन्त्रण गर्न परदेश र  संघीय  सरकारको मुख ताकेर ताकेर बसीरहेको अवस्था छ | संघीय सरकारले भने आफूसँग भएको आर्थिक सहयोग स्थानीय तहलाई दिएर सबैभन्दा बढी जिम्मेवार र अधिकारसम्पन्न  बनाएको जस्तो देखिन्छ| देशभित्र  स्थापना भएका क्वारेन्टिन हरु न्यूनतम मापदण्ड अनुरुप छैनन् |

करिब 30 दिनभन्दा बढी समयसम्म जोखिमयुक्त क्वारेन्टाइन हरुमा संक्रमितहरु बसिरहँदा समेत पनि धेरैजसो स्थानीयतहमा रहेका संक्रमितहरूको PCR  नमुना संकलनको प्रतिवेदन अझै आउन सकेको छैन | कतिपय स्थानीय तहहरुले आफ्नै लगानीमा परिक्षण यन्त्र खरिद गरेर संक्रमितहरूको परीक्षण गरिरहेको खबर पनि सुन्न पाइन्छ | अर्कोतर्फ कतिपय स्थानियतह  परीक्षण  यन्त्र  खरिद गर्ने रकम नभएको हो बहानाबाजी गरिरहेका छन् | गत  2076साल चैत्र महिनाको 11 गतेबाट सुरु भएको बन्दा बन्दी हाल केही मात्रामा खुकुलो भएको अबस्था   छ|  बजारहरु केही मात्रामा खुलेका छन् | भाडाका गाडी बाहेक अन्य निजी गाडीहरु पनि सञ्चालनमा आएका छन् | विकास निर्माणका कार्य असारे  भेल छोप्ने पुराने प्रवृत्तिको निरन्तरता भएको देखिन्छ |

उद्योगधन्दाहरु, कलकारखानाहरु होटल व्यवसाय तथा पर्यटन व्यवसाय हालसम्म पनि खुल्न सक्ने अवस्था छैन | सम्पूर्ण शिक्षण संस्थाहरु बन्द रहेका छन् | अस्पतालहरुमा covid 19 बाहेक अरु बिरामीहरूको उपचार राम्रोसँग हुन सकेको छैन | सरकारले भर्खरै मात्र कक्षा 10 को अन्तिममा लिने SEE. परिक्षा रवि 11को परिक्षा विद्यालयको आन्तरिक मूल्यांकन बाट गरिने निर्णय गरेको छ |  ढिलै भएपनि  करिब चार लाख विद्यार्थीहरूका लागि स्वागतयोग्य काम भएको छ|

कक्षा 12 को अन्तिममा लिइने एसएलसी परीक्षा, विश्वविद्यालयका अन्य परीक्षा तथा सेवा आयोगका विभिन्न परीक्षाहरु अहिलेसम्म सञ्चालनमा हुने कुनै अनुमान गर्न सक्ने अवस्था छैन  | एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न सरकारले आधिकारिक पासको व्यवस्था गरेको  भएतापनि पहुँच भएका तथा चिनजान भएका मानिसहरु भने निर्वाद रुपमा आवतजावत गरिरहेको अवस्था छ | गत असार 1 गतेदेखि सम्पूर्ण सार्वजनिक कार्यालयहरु खुलाउने सरकारको निर्णय  भएको छ | कर्मचारीहरुले दिनहुँ कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था सिर्जना भएको छ |

विगत लामो समयदेखिको बन्दा बन्दीका कारण ले गर्दा मानिसहरु  जो जुन ठाउँमा छन् रहिरहन बाध्य भएका छन् | कर्म थलोमा भित्रीन यी मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ | मुख्य शहरहरु भित्रिने नाकाहरूमा मानिसले दुख कष्ट झेल्नु परेको अवस्था छ | कतिपय ठाउँमा अत्यन्तै नाजुक अवस्थामा रहेका बिरामीलाई बोकेर कुदिरहेका एम्बुलेन्स तथा गाडीहरु पनि रोकिएको हो अवस्था छ | यसो किन गरिएको भनेर जिज्ञासा गर्दा माथिको आदेश भएकाले जो जो जुन ठाउँबाट आएको हो उतैतिर फिर्ता हुनु भन्ने सन्देश नेपाल प्रहरी हरुबाट सुन्निने गरिएको छ |लामो समयदेखिको बन्दका कारण ले आफ्नो रोजीरोटी खोज्दै  हिँड्ने  श्रमिक, कामदारहरू,  तथा सर्वसाधारण जनताहरु एकदमै मारमा परेको अवस्था छ | बाहिरबाट उपत्यकाभित्र भित्रिने आम सर्वसाधारणहरुलाई विभिन्न नगरपालिका तथा घर  धनीहरुले coronaपरीक्षणको प्रतिवेदन हातमा नभई घर प्रवेश गर्न नदिने निर्णय गरेका छन् |

यो अत्यन्तै राम्रो तथा स्वागतः के काम भएतापनि नेपाल सरकारले  परिक्षण गर्ने निश्चित ठाउँ उपलब्ध नगराउँदा जनताहरुले सास्ती व्यहोर्नुपरेको छ | अर्को तर्फ कोरोनाको परीक्षण गर्न सर्वसुलभ रुपमा उपलब्ध हुन पनि सकेको छैन | यो बन्दा बन्दीको समय अवधिभित्र मात्र धेरै मान्छेहरूले विभिन्न समस्याका कारण आत्महत्या गरेर ज्यान लिएका छन् | जटिल अवस्थामा रहेका सुत्केरी हरूको तत्काल उद्धार हुन नसक्दा अवस्था भयावह हुन पुगेको छ | बाढी तथा पहिरो ले मानिसहरूको मृत्यु भएको खबर दिनप्रतिदिन आइरहेको छ | quarantine हरु  व्यवस्थित नहुँदा विभिन्न वर्गका महामारी रोगहरु फैलने  डर तथा आशंका पैदा भइरहेको छ |

सामुदायिक तथा संस्थागत विद्यालयहरुमा काम गर्ने शिक्षकहरूले तलब प्राप्त नगरेको पनि धेरै भएको भन्ने गुनासो आम सामाजिक सञ्जालहरुमा आइरहेको देखिन्छ |  लामो समयसम्म विद्यालयहरु बन्द भएका कारणले विद्यार्थीहरु को ड्रपआउट संख्या बढ्नसक्ने समस्या देखिन्छ | कृषकहरुलाई  बीउ तथा मलको समस्या भइरहेको अवस्था छ |  कोरोना नियन्त्रण भनेर नेपाल सरकारले  देश तथा विदेशमा रहनुभएका  नेपालीहरुबाट ठूलो धनराशि मा पैसा पनि संकलन गरेको छ |

कोरोना नियन्त्रणका लागि भनेर विभिन्न समिति तथा उपसमितिहरु पनि गठन गरिएका छन् | विभिन्न समितिहरु, विभागहरु मन्त्रालयहरु तथा मन्त्रीहरुमा आपसी सहमति नहुँदा महामारीले झन् जटिल रुप लिँदै गरिरहेको छ |  सरकार भनेको  देशको अभिभावक हो  | जनताको रक्षक  हो |  जनतालाई समस्या परेको समयमा टुलुटुलु हेरेर सरकार वा जनताको अभिभावक बस्नु कदापी पनि उचित होइन | हालसम्म गरिएका कदमहरु केही सही तथा केही अपुग भएतापनि अझै सरकारले महामारी नियन्त्रण दायरालाई फराकिलो बनाउनु जरुरी देखिन्छ | को सरकार  को प्रतिपक्ष,  नभनी  सबै एक आपसमा मिलेर हातेमालो गर्नुपर्ने अवस्था सिर्जना भएको छ |

   अचम्मकाे प्रसङ्ग के छ भने नेपालमा हालसम्म पनि शासक र शासित भनिने कथित मान्यता तथा मनोवृत्ति को अन्त्य हुन सकेको छैन |लुई चौधौं  “म  सरकार तथा राज्य हुँ” भन्नेखालको सोचाइ नेपालमा पनि हालसम्म रहेको देखिन्छ | प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र जे भएता पनि सार्वभौमसत्ता जनतामा निहित हुन्छ | शासन सत्ताका मालिक भनेका जनता हुन्  |

जनताको भावना र इच्छाबमोजिम यदि देशमा शासन व्यवस्था सञ्चालन  हुन सकेन भने लोकतन्त्र, गणतन्त्र वा संघीयता जेसुकै व्यवस्था भएपनि यसको  कुनै अर्थ रहन्न सक्दैन | यो जटिल परिस्थितिमा जनतालाई सही प्रकारको सेवा सुविधा वा मार्गनिर्देशन गर्न नसकेमा जनताको हकअधिकार सधैं भरेका लागि अवमूल्यन भएको अवश्य ठहरिनेछ | यस्तो विषम परिस्थितिमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको तथा  पारदर्शी रुपले खरिद नभएको भन्ने  खालका विभिन्न समाचार , समाचार माध्यममा दिनप्रतिदिन आइरहेका छन् | यो संक्रमण कालिन समयमा यस्तो गैरजिम्मेवारपूर्ण तथा गैरकानुनी र अमानवीय काम सरकारको तर्फबाट कदापि हुनुहुँदैन यदि  भुलचुक भइहाले छ भनेपनि यथाशिघ्र सरकारले कानूनी  कठघरामा ल्याउनु पर्दछ | हालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकार भनेको जनताको सरकार हो | यो जनाद्वारा निर्वाचित जनप्रतिनिधिहरु द्वारा  निर्माण गरिएको सरकार हो |

त्यसैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसले जनताको सेवा गर्नु आजको आवश्यकता हो | यो या त्यो बहानामा जनतालाई झुकाउन सरकारले कदापी मिल्दैन | त्यसो गरेमा अहिलेको लोकतान्त्रिक शासन व्यवस्थाको  विकल्पको खोजीमा जान सक्ने सम्भावना जनता रहनसक्छ|  त्यसैले अब संविधान निर्माण भइसके पछिका जतिपनि सरकारहरु बन्दछन्  सबै  जनताको हितमा बन्नु जरुरी छ | लोकतन्त्र तथा गणतन्त्र मा सरकार कहिले पनि जनता भन्दा माथि हुन सक्दैन | जनता नै  सर्वेसर्वा भएकाले हरेक प्रकारका समस्याहरूको समाधान गर्नु सरकारको दायित्व तथा जिम्मेवारी हो | विगत धेरै लामो समयदेखि नेपाली जनताले विभिन्न शासन व्यवस्थाको विरुद्धमा आन्दोलन गर्दै आएका पनि छन् | गरेका पनि छन् र सफल पनि भएका छन् |

संसारको सबैभन्दा उत्तम शासनव्यवस्था भनेको  संघीय लोकतान्त्रिक गणतन्त्रात्मक हो भनेर नेपालले पनि त्यसै अनुसार आफूलाई अगाडि बढाएको छ |  यस्तो अवस्थामा जनतालाई आतंकित गर्ने, आन्दोलित गर्ने तथा समाजमा  विद्रोह ल्याउने किसिमका व्यवहारहरु सरकारबाट हुनुहुँदैन | त्यसो भएमा लामो समयदेखिको जनआन्दोलन, जनसंघर्ष ,हजारौँ  सहिदहरूको बलिदान, त्याग  र तपस्याको अपमान गरेको ठहर्नेछ |

अन्त्यमा, नेपालमा करिब एक शताब्दीभन्दा बढी समय जहाँनिया राणाशासनले शासन गर्यो | करिब दुई शताब्दीभन्दा बढी समय निरङ्कुश राजतन्त्रले शासन गर्यो | तीन दशक पञ्चायती व्यवस्थाले शासनमा हालीमुहाली गर्यो | त्यस्तै विसं 2046 देखि विसं 2062/ 63 सम्म बहुदल  शासन गर्यो | विसं 2064 देखि हाल  सम्म गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास भइसक्दा पनि सर्वसाधारण जनताको जीवनस्तरमा खासै केही परिवर्तन भएको छैन | नेपालमा विगत देखि वर्तमानसम्म थुप्रै राजनीतिक व्यवस्थाहरु परिवर्तन भए तर राजनीतिज्ञहरूको प्रवृत्ति र व्यवहारमा परिवर्तन कहिल्यै भएको अनुभुति नेपाली जनतामा भएको छैन |

जबसम्म नेपालको राजनीतिक शासन व्यवस्थामा  शासक वा राजनीतिक पात्रहरूको चरित्र  प्रवृत्ति र  व्यवहारमा परिवर्तन हुँदैन तबसम्म जतिसुकै राजनीतिक परिवर्तन  भएतापनि भुइ मानिसको जीवनमा कुनै फरक पर्नेवाला छैन | शासकहरूको मनोविज्ञान र जीवन शैलीमा आमूल परिवर्तन आउँदैन तबसम्म जस्तोसुकै  व्यवस्थाहरु आए पनि आम सर्बसाधारण को जीवनमा कुनै उल्लेखनीय प्रगति भएको देखिने छैन | अब आउने समयको मुख्य चुनौती भनेको शासन व्यवस्थाको परिवर्तन गर्नु नभई शासकहरूको प्रवृत्तिमापरिवर्तन ल्याउनु हुनेछ |परिमाणात्मक परिवर्तनहरू धेरै भएका होलान् या  नहोलान् तर वास्तविक  गुणात्मक परिवर्तन र विकास हुनु  अत्यन्त आवश्यक छ  | जुन आजको आवश्यक्ता पनि हो |नेपालको राजनीतिक शासन व्यवस्थामा गुणात्मक बिकास हुन निकै समय लाग्ने अनुमान हालको राज्य व्यवस्था र त्यसभित्रका सङ्लग्न पात्रहरूको प्रवृत्तिले प्रष्ट पार्दछ |

चर्चामा

सम्बन्धित समाचार