शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • हामी ´जनता´ कहिले हुने?

हामी ´जनता´ कहिले हुने?

  • आइतवार, जेष्ठ ३२, २०७७
हामी ´जनता´ कहिले हुने?

केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रश्न स्टाटस लेखेँ ।

´सपनाको खेति गरी रगतले सिञ्चन गरेर ल्याएको गणतन्त्रले नेतालाई जे दियो, जनतालाई के दियो?

नाम दियो-दलित, पिछडा

काम दियो-साउदी, कतार

भाषण दियो-विकास, निकास

अखिरीमा धोका दियो ।

थप्दै जानुस्… सबै गणतन्त्रका भुक्तभोगी नै हौँ, आखिर।´

यमराज दाइले व्यङ्ग्य गर्दै जिन्दावाद पनि दियो नि भाइ, लेखेर कमेन्ट गर्नुभो । निकै घतलाग्दो कमेन्ट लाग्यो । तर, त्यो अधुरो पनि लाग्यो, किनकि जिन्दावाद जत्तिकै सशक्त ढंगले मुर्दावाद पनि दिएको छ । यो गलत थिएन । यिनै नाराहरूको सकारात्मक प्रभाव हो, यो लेख तयार पार्दैछु । तर यिनको बदलिदोँ अर्थ र अन्धाधुन्ध प्रयोगले विभिन्न जनअन्दोलन, शसस्त्र संघर्ष र जनयुद्धमा घर,परिवार, नाता,सम्बन्ध बलिदानी गरेर परिवर्तनका सुन्दर सपनाहरू साकार पार्न एकबारको जुनी समर्पण गर्ने महान वीरहरूको सपनामा हिलो छ्यापिएको छ, बलिदानलाइ अपमान गरिएको छ र सहिदका आत्माहरूलाइ भड्काइएको छ । ती पनि जिन्दावाद र मुर्दावाद नै थिए, जसले १०४ वर्षे निरकुंश जहाँनिया राणाशासनबाट देशलाइ मुक्त गरे, प्रजातन्त्रको स्थापना गरे, पुनःस्थापना गरे र अझै पनि परिवर्तनको सुखानुभूति नभएपछि प्रजा र रैति होइन अब जनता हुनुपर्छ, कम्तिमा प्रभुका उपहार यी दश इन्द्रीयहरू आफ्नो मर्जीले चलाउनु पर्छ भन्ने महत्वाकांक्षा पलायो र २४० वर्षीय राजतन्त्रलाइ पनि घुँडा टेकाउँदै क्रमैसँग लोकतन्त्र, गणतन्त्र घोषणा भयो ।

संविधान अनुसार मात्रै  भए पनि हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौँ, तिनै जिन्दावाद, मुर्दावादको कारणले । यी पनि जिन्दावाद र मुर्दावाद नै हुन् जसको कारण संविधान अनुसार मात्र लेख्न बाध्य बनायो । ती वादले देखाएका सारा सपनामा लठ्ठीएर बेपर्वाह सपना कुल्चिदैँ यी वादहरू वात मार्दैछन् । यो भन्दा अतिशयुक्ति नहोला, असलमा त सपनाहरू मार्दैछन् । सपना नै गलत थियो भन्ने साबित गर्न खोज्दैछन् । उहिलेका जिन्दावाद र अहिलेकाबीच मैले अन्वेषण गरेको फरक यहि हो । उहिलेका जिन्दावादले प्रजा र रैतिभन्दा अग्रगामी बन्दै जनता जिन्दावाद भने । विडम्बना, अहिलेकाले दल,बल र फल जिन्दावाद भन्छन् ।

जिन्दावाद अलमलिएको छ, गणतन्त्रमा अएर रूमलिएको छ । र, सत्यको लागि होइन, भीडको लोकप्रियताको लागि कुर्लिन थालेको छ । जब जिन्दावाद अलमलिन्छ तब सारा सपना गलत साबित हुन पुग्छन् । जनताले आफ्नै चाहनाको एकिन गर्न सक्दैनन् । अनि जमाना खराब छ भन्ने निष्कर्ष निकालिन्छ तर चाहनाको खरावी हेरिन्न, स्वीकारिन्न । यस्तै जिन्दावादको दलदलमा दुर्भाग्यपूर्ण भन्नुपर्छ, प्रजाले जनता हुन पाएनन्, जनता हुने बाटोमा गम्भीर घात भयो । विभाजन ल्याइयो र सारा सपनाहरूको तिलाञ्जली दिदैँ नेका, नेकपा र यस्तै हुन बाध्य पारियो । संसदीय प्रणालीको अभ्यास गर्दै गर्दा स्वतन्त्र र देशप्रेमी भएर बाँच्नेलाइ यो समाजले स्वीकृत दिन छोड्यो । विभाजनका रेखाहरूलाइ यति सशक्त पारियो कि, जनतालाइ एउटा न एउटाको झण्डा नबोकी सुरक्षाको अनुभूति नहुने अवस्था सिर्जना गरियो । मान्छेहरूको गरिबी, अज्ञानता र विश्वासको दुरूपयोग लगातार गरियो । म नेका र नेकपा दुवै नभइ मान्छे भएर बाच्न चाहन्छु, के यो विभाजित समाजले स्वीकृति दिन्छ ? मैले मै भएर बाच्न नपाउने कस्तो समाजवाद ? राजनीति विरोध मात्र हो कि, कर्म र कर्तव्य पनि ?

यो स्वीकार्नै पर्छ, परिवर्तन जिन्दावादकै परिणाम हो । तथापि यो सजिलो छैन, थुप्रै जिन्दाहरूलाइ ढलाएर बोल्नुपर्छ, थुप्रै मुर्दाहरूलाइ जगाएर बोल्नुपर्छ, जिन्दावाद, जिन्दावाद । मान्छे स्वास्थ्य चौकी र प्रहरी चौकी त्यसै जादैन र जिन्दावादको चौकीमा पनि त्यसै टेक्दैन । यो कठीन जिन्दावादको यात्रा किन अह्वान गरिदै छ, पूर्वका सारा जिन्दावादको परिणामलाइ खरानी पारेर । हामी कस्तो शासन व्यवस्थाको कुन चरणमा अएर जिन्दगी खेर फाल्दैछैँ, रावणको ठाउँमा इन्द्रजीतको जिन्दावाद गरेर ।

विभिन्न निरंकुशका विरूद्ध हाम्रा प्रतिनिधिको जिन्दावाद भनेर ल्याएको व्यवस्थामा तिनै प्रतिनिधिको मुर्दावाद बोल्नुपर्ने कस्तो दुर्दशा । इतिहासमा केवल निरंकुशता विरूद्ध र स्वतन्त्रता, सार्वभैँमसत्ता प्राप्तिका लागि जनताकै जिन्दावाद गरियो । आज फेरी कसैका विरूद्ध जिन्दावाद भनिएका तिनै हाम्रा प्याराहरूको मुर्दावाद भन्नुपर्नु स्थिति सृजना किन गरिदैछ । साँच्चिकै ती प्याराहरूले हामीमाथि घात गरेकै हुन्, तथापि हामीले अफूमाथि घात हुन हाम्रो भूमिकाको समीक्षा कहिल्यै गरेका छौँ ? हाम्रा कमजोरी तर्फ कहिल्यै नजर लगाएका छौँ ? निरंकुश राजालाइ हृदयमा राख्न सक्ने हामी नेपालीले राजा फाले पनि अरूलाइ राजाको रूपमा शिरमा राख्यौँ, जे जे भन्यो विश्वास गर्यौँ। त्यसैले कसैले भेडा भन्न नि भ्याए । कसैले लुट्न नि भ्याए । यो अधिक विश्वास र अन्धोपनको कारण हो । एउटालाइ काँधबाट हटाएर अर्को लाइ राख्दा काँधका लागि तात्विक भिन्नता नहुन सक्छ । म यति सोध्न चाहन्छु कि अबको जिन्दावाद काँध फेर्न होइन, विपनालाइ रङ्गाउन र सपनालाइ साकार पार्नतिर लक्षित छ कि छैन ?

यही जिन्दावाद र अन्धविश्वासको कारण पार्टी प्रवेशको फोहोरी खेल पचेको छ । कहलिएका नेताहरू पनि यति जनालाइ पार्टी प्रवेश गराइयो भनेर सामाजिक सञ्जालमा पोस्टाउँछन् । यो वास्तवमै लोकतन्त्रको उपहास हो । मानवेतर क्रियाकलाप हो । स्वार्थसिद्धी बाहेक केही पनि होइन । राजनीतिको सबैभन्दा दुषित पक्ष पनि हो । सिद्धान्त र विचार भन्दै मान्छेको किनबेच गर्न पाइन्छ ? नेताहरू नै मन्त्री र सांसद पाउन पार्टी बदल्छन् । तिनीहरू नै विचार, सिद्धान्तबाट च्युत छन्, अनि जनता सँधै नेका र नेकपा भइराख्न जरूरी छ ? स्वतन्त्र भएर, केवल जनता भएर विकासमा योगदान र काम गर्ने क्षमताको मूल्याङ्कन गरेर नेता चुन्न सकिन्न ?

सँधै अरूलाइ दोषारोपण गरेर हुँदैन । हामीले बाटो विराएका छैँ । हाम्रो जिन्दावादले बाटो बिराएको छ । विरोध र समर्थनको व्यवस्था परिवर्तनमा योगदान छ, तथापि अविकासमा पनि त्यत्तिकै योगदान छ । वर्तमानका अन्धविरोधले यो मान्न तयार हुनुपर्छ । र, यो पनि बुझ्नुपर्छ, राष्ट्रियता कसैको अन्धविरोध वा अन्धसमर्थन होइन । अब हाम्रा जिन्दावादलाइ समर्थन र विरोधलाइ संयमित र सचेत बनाऔँ । नत्र जिन्दावादको उपलब्धि अन्जानमै जिन्दावादले नै गुमाउने छ । जिन्दावादको पनि समय हुन्छ, बेमौसमी जिन्दावादले देश र जनताको हित हुन सक्दैन । कहिलेकाही कुनै सार्वजनिक व्यक्ति वा सरकारको विरोधका नाममा अरू कसैको जिन्दावाद गर्दा देशलाइ पुग्ने क्षति  तर्फ पनि सचेत हुन जरूरी छ ।

यहि जिन्दावादको सन्दर्भमा हाल समाजको सामान्यदेखि बैद्धिक वर्गमा स्थापित भएको राजनीतिको बुझाइको विषयमा मनन गरोँ । किनकि प्राय सबै जिन्दावाद राजनीतिबाट जन्मिन्छन् । केही दिनदेखि आइरहने यी समाचार सन्दर्भमा राजनीतिको अर्थ बुझौँ

  • कोरोनामा राजनीति नगरियोस्
  • रूकुम घटनालाइ राजनीतिकरण नगरियोस्
  • मान्छेको जिउज्यानमा राजनीति नगरियोस्

यी र यस्तै समाचार र सन्दर्भबाट समाजमा राजनीतिको कस्तो अर्थ स्थापित भएको छ भन्ने बुझ्न सकिन्छ । नेताहरू आफैले राजनीतिकरण नगरियोस् भनेर भाषण गर्छन् । समाजमा आउने हरेक विकास योजना देखि संकटमा राहत वितरणसम्ममा राजनीतिकरण नगरियोस् भन्ने सबैको धारणा हुन्छ र हरेक हितकारी काममा कतै राजनीति घुस्छ कि भनेर शंका र डरमा बाँच्नुपर्ने हुन्छ । राजनीतिदेखि डराएर भाग्नलाइ तमाम जिन्दगीहरूको समर्पण गर्दै यो व्यवस्था ल्याएको हो ?

केटि पक्ष दिन तयार हुन्छ, केटा पक्ष बिहेको तयारीमा लाग्छ । यत्तिकैमा कुनै कारणवश् केटीपक्षबाट केटी नदिने कुरा आउँछ । बिहे भाँडिन्छ र भनिन्छ, कुन शत्रुले राजनीति घुमायो । त्यस्तै एउटालाइ आज जागिरको वचन दिइन्छ, भोली अर्कैलाइ नियुक्ति दिइन्छ । अनि भनिन्छ, कुन पापीले मेरो पेटमा लात्ति हान्न राजनीति गर्यो । यसरी शत्रु, षड्यन्त्रकारी र विकासविरोधिले राजनीति गर्छन् र राजनीति भनेको बाधाहरू खडा गर्नु हो भन्ने भान पारियो । कस्को कमजोरी ? के सडकमा जीवन खन्याएको यस्तै राजनीतिका लागि हो ?

अनि यस्तै राजनीतिको कारण धोका पाइसक्दा पनि अझै यसैबाट परिचालित हुने? कहिलेकाँही राष्ट्रहितका लागि नेका र नेकपा नभएर बाँच्न र बोल्न सकिन्न ? यिनीहरूको नाममा विरोध गरेर यिनीहरूले भोली सत्ता स्वाद पाउनेछन्, जनताले के पाउनेछन् ? यो जिन्दावादले बुझेको छ की, सँधै एक न एकलाइ सत्तामा चढाउने मात्र हो?

जनताको जीवनको साँचो लिएर राजनीति गर्नेहरू वडादेखि संघीय तहसम्म सरकारमा रहेर वा प्रतिपक्ष भएर यस्तै राजनीति गर्दैछन् । खाने कुरामा मिलिभगत चल्छ र देश र जनताको हित हुने कुरामा झगडा चल्छ । के सत्यको पनि भेद हुन्छ ? जनताका लागि भनेर जीवनको अमूल्य समय जेल बस्यौँ भन्नेहरू जनताको सर्वोत्तम हित खुट्याउन किन सक्दैनन् ? किन हानथाप र तानातान चल्छ ? जनता सचेत हुने बेला अएको छ । विश्वास गरी गरी जीवनको आहुति दिन पनि पछि नपर्ने मान्छेहरूलाइ जनता बनाउने आश देखाएर आज काँग्रेस र नेकपा र यस्तै अन्य बनाइयो । जात र वर्गीयताको अन्त्य गर्ने सपना देखाएर गरिब, दलित र पिछडालाइ पनि यस्तै कार्यकर्ता बनाइयो र वास्तविक मुद्दा ओझेलमा पारियो । उडान भर्ने बेलामा प्वाँखकै सपना देख्नुपर्ने भयो । उडानको सपनाका लागि रगत बगाउने र सम्बन्धको बलिदान गर्नेहरू नराम्ररी भुँइमा थच्चारिए । सपना बाँड्नेहरूले स्वर्ग प्राप्ति गरे । लड्नेहरू वीरको मृत्यु मरे तर ज्युँदाको लागि दुइ छाक जित्न सकेनन् ।

लोकन्त्रको सुन्दर पक्ष भनिने निर्वाचनले केवल विभाजन दिएको छ । यस्तै कुराजनीति मानिसको मानसपटलमा यसरी रोपिएको छ, जसरी धर्म र अन्धपरम्परा रोपिएका छन् । जसरी अर्काको धर्मको विराध गर्दा धार्मिक हिंसा भड्किन्छ, त्यसैगरी अब दलीय हिंसा नभड्किएला भन्न सकिन्न । यसको सूच्म रूप त सबैले देख्दै आएका छैँ । जुन मान्छेको अवचेतनमा भित्रभित्रै सुषुप्त रूपमा विकसित हुँदैछ ।

विविध प्रथा, परम्परा, अन्धविश्वासले जसरी मान्छेको अवचेतनमा गइ स्थायी रूपमा आक्रमण गरेका हुन्छन् । तथापि यो अव्यक्त पनि हुन सक्छ, किनकि पढेका बुझेकाले यो भनेको सर्टिफिकेटको अपमान हुन्छ, अवमूल्यन हुन्छ । त्यस्तै गरी राजनीति घुसेको छ । वर्षौसँगै बस्दा खाँदा पनि चलेकै हुन्छ । जब दलगत आस्था फरक भएको थाहा हुन्छ, तब केहि न केही नमिलेको महसुस हुन थाल्छ । अब  त यस्तो हुन थाल्यो, हरेक नयाँ जन्म प्राय काँग्रेस र नेकपाको हुन्छ । गर्भमा नेका र नेकपाको बिउ रोप्न थालेपछि जनता जन्मन छाडेका छन् । अझै भनौँ, मान्छे जन्मन छाडेका छन् । त्यो मान्छे पो मान्छे, जोसँग सत्य देख्ने निष्पक्षता छ । यसरी जन्मसिद्ध नेका र नेकपाको भरमा देश लुट्दैछन्, नेताहरूले ।

कुराजनीति यसरी घुस्यो कि अन्जान बच्चादेखि विद्वान भनाउँदा सम्म दलगत कित्तामा बाँडिए । मिडिया विभाजित भए । वकालत विभाजित भयो । गाउँका आमा समूह, कृषि समूह, सहकारी देखि लिएर विभिन्न श्रमिक संगठन र निजामति कर्मचारीसम्ममा विभाजन ल्याइयो । यो विभाजनको चक्करमा पार्टी कमजोर भएको सबैले देख्छन् तर जनता कमजोर, यहाँ सम्मकी आफै कमजोर भएको पनि कसैले देख्दैनन् । श्रमिक र गरिबका अन्दोलनहरू, सपनाहरू यिनै विभाजनको चक्करमा फनफनी घुमेर ढलेको तर्फ कसलाइ ध्यान छ र? कुन पार्टिको समर्थन र कसको विरोध गर्ने भन्नेमा नै ठीक्क छन्, मान्छेहरू । नागरिकतामा मात्र जनता छन्, वास्तवमा कि त नेकपा छन्, कि त काँग्रेस र अन्य ।बुद्धिजीवीहरू भ्रम छर्नै ठीक्क छन् । विद्धानहरू छँदै छैनन् कि मौन छन् ? संसार विग्रेको मुर्खको मुर्खताले भन्दा विद्वानको मैनताले हो, भनिन्छ । यो देशमा कोहि हित र अहित देख्न सक्ने विद्वान छन् भने बोलुन् । वास्तविकता भन्न नसक्ने के को विद्वान र आलोचनाको डरले देशको दुर्दशा हेर्न तयार हुने कस्तो देशप्रेम ?

सबै विभाजित भएको यस दुखद घडीमा सबैलाइ प्रश्न, राष्ट्रभक्ति कि पार्टी भक्ति ? पार्टी भक्तिलाइ राष्ट्रप्रेम नठानियोस् । र, कसै प्रतिको अग्रह, पूर्वाग्रह र घृणाको दुष्प्रभाव राष्ट्रमाथि नपरोस् । दुर्भाग्य भन्नुपर्छ संसदीय व्यवस्थाको अभ्यासमा स्वतन्त्र र देशप्रेमी भएर बाच्नेलाइ यो समाजमा ठाउँ र स्वीकृति छैन । यिनीहरूले यस्तै खेल खेलिरहने र मान्छेले हुर्र हाहा गरिरहने हो भने परिवर्तन अझै पनि सपना मात्रै हुनेछ । यस्तै फोहोरी खेलको चपेटामा जनताको जिन्दगी परेको छ ।

विकास केवल सँधैको सपना मात्र बनाइएको छ । गर्भ बोकाएर मात्र नहुँदो रहेछ, भारी बोकाउन नछोडेपछि । त्यसैले त जनताका सपनाहरू दैनन्दिन तुहिन्छन् र नेताका सपनाले सगर चुम्छन् । जनतालाइ ह्याक गरिएको छ, के कतिखेर बोल्दा जनता उत्तेजित हुन्छन्, राजनीतिमा लागेका ह्याकरहरूलाइ सबै थाहा हुन्छ । र, सपना छरेर चुनाव लडिन्छ । उम्रिन नपाउँदै पुनः त्यही बीउ फेरी राहतमा बाँडिन्छ, सपनालाइ षड्यन्त्रपूर्वक जनताकै पेटमा कुहाइन्छ । यसरी अनुदानको जिन्दगी त चल्छ, ह्याकरहरू दयालुको श्रीले सुशोभित भइराख्छन् तर सपनाहरू कहिल्यै फक्रिदैनन्,कहिल्यै फुल्दैनन्, फल्दैनन् । र, परिवर्तनका सम्बाहकहरू सदा दयामा बाँच्न बाध्य हुन्छन् । कुराजनीतिको तमाम व्याख्या गरिरहँदा मैले उदाहरण दिनु वा कुनै विषेश विषय वा घटनालाइ उल्लेख गर्नु उचित ठानिनँ । किनकि हामी यसका भुक्तभोगी छौँ । तथापि यी हरेक प्रसंगलाइ समकालीन राजनीतिसँग जोडेर बुझ्न सकिन्छ, एक निष्पक्ष नागरिकको अँखाबाट ।

अब विश्वासले सीमा नाघेको छ । र, घातले पनि । विश्वासमै दशकौँ बिते । अब बाँकीको जिन्दगी सुखमय देख्न विश्वास र अन्ध समर्थन, विरोधमा लगाम लाउनु अवश्यक भएको छ । राष्ट्रहित र जनहितका मुद्दामा कांग्रेस, कम्युनिष्ट वा अरूलाइ पनि समर्थन गरौँला तर सँधै कांग्रेस र कम्युनिष्ट हुने प्रवृतिलाइ आफ्नै हितका लागि दुरूत्साहन गर्नु पर्ने भएको छ ।

आफ्नो दलको काम भनेर सबै सकार्ने र अरूको भनेर सबै नकार्ने कामले गलत काममा पनि भीडको समर्थन जुटिरहन्छ । त्यसैले हामी सचेत बनौँ । हाम्रा समर्थन केवल सहमति होइन, जनमत हो । त्यसैले राष्ट्रहितको पक्षमा मात्र समर्थन गरौँ । यो सबै गर्नका लागि कार्यकर्ताबाट जनता हुन जरूरी छ । हामी सबै जनता बनौँ । र, सहि काममा समर्थन र गलत काममा विरोध तथा दबाब सिर्जना गरौँ । कसैको भक्तिमा अलमलिने र दयामा टहलिने हो भने हाम्रा सहिद पुर्खाहरूको रगतको अपमान हुनेछ, हाम्रो अमूल्य जिन्दगी भोली भोली भन्दै समयको गर्तमा गुमनाम हुनेछ । र, एकबारको जुनी त्यसै जानेछ ।

चर्चामा

सम्बन्धित समाचार