आइतवार, मंसिर २१, २०७७
  • होमपेज
  • विचार/ब्लग
  • प्रेमका नाममा ज्यान गुमाएका नवराजको आमालाई पत्र : सपना अर्को जुनीमा पूरा गरौंला

प्रेमका नाममा ज्यान गुमाएका नवराजको आमालाई पत्र : सपना अर्को जुनीमा पूरा गरौंला

  • बुधबार, जेष्ठ २१, २०७७
प्रेमका नाममा ज्यान गुमाएका नवराजको आमालाई पत्र :  सपना अर्को जुनीमा पूरा गरौंला

प्रिय आमा, 
परलोकबाटै भए पनि तिमीलाई न्यानो माया। क्षमा पाऊँ आमा कति तिम्रा अनि कति मेरा इच्छाहरु पूरा गर्न सकिनँ। मेरा सपनाहरु अब त सपना पनि रहेनन्। थाहा छैन आमा कति दिन भो परलोकमा आएको पनि दिन त गन्नै छाडिदिएँ। एक दिन त उदाउँदो सूर्यसँगै मेरो पनि दिन आउला नि भनी धेरै दिन गनिरहन्थें। दिन त आयो तर मेरो आएन। अनि गन्नै छाडेँ दिनहरु। अब तिमि पनि दिन गनेर नबस्नु है आम किनकि दिन त हुने खानेहरुले आफ्नो नाममा गर्ने रहेछन् झिसमिसेमै। दुखी, गरिब अनि दलितका पनि दिन आउलान् भन्नु त पश्चिमबाट सूर्य उदाउनु जस्तै रहेछ।

आमा सुनेको थिएँ प्रेमले संसार जितिन्छ भनेर, तर होइन रहेछ आमा। संसार त युद्धले जितिने रहेछ। युद्धको अगाडि म र मेरो प्रेम टिक्नै सकेन आमा। म रोएँ, कराएँ, भावविह्वल भएर बिन्ति बिसाएँ। सके जति त प्रतिकार पनि गरे तर अहँ सकिनँ आमा दानवको बस्ती रहेछ जो।

दोष उनीहरुको मात्रै पनि थिएन होला। दोष मेरो मात्रै पनि थिएन होला। दोष दलितको छोराले उपल्लो जातकोलाई प्रेम गर्नु पनि थिएन होला। सायद दोष त सदिँऔंदेखि एउटै मान्छेलाई सानो जात अनि ठूलो जात भनी विभाजन गर्नुमै रहेछ। न त जात विभाजन हुन्थ्यो न त उनी र म तल्लो अनि उपल्लो जातको हुने थियौं। न त म र मेरा साथीहरु त्यो कलकल बगिरहने भेरीमा विलीन हुनुपथ्र्यो। हुन त आमा सदिँऔंदेखि चलिआएका धेरै कुराहरु परिवर्तन भए। मान्छेहरु शिक्षित बन्दै गए। कति अन्धविश्वासहरु फेरिंदै गए तर जात माथिको अन्धविश्वास अझै फेरिन सकेन।

आमा तिमी मलाई भन्थ्यो नि तैंले पढेको हो र सडेको हो भनेर। त्यसतै यहाँ कति मानिस पढेरै सडेका छन्। समानताको नाममा झन् तार्किक भेदभाव गर्छन्। भाषण हामी अब सबै एक भनेर गर्छन् तर व्यवहार म एक भनेर गर्छन्। जातलाई त पुर्खाले आर्जेको सम्पति जस्तै गरी मन अनि मस्तिष्कबाट हटाउँनै चाहँदैनन्। यिनीहरुको कोटभित्रको खोट निकाल्न साह्रै गाह्रो छ आमा। मत बँच्न सकिनँ तर तिमी सकेसम्म बँचेर हिँड्नु है यो स्वार्थी समाजबाट मेरी आमा।

आमा सुनेको थिएँ प्रेमले संसार जितिन्छ भनेर, तर होइन रहेछ आमा। संसार त युद्धले जितिने रहेछ। युद्धको अगाडि म र मेरो प्रेम टिक्नै सकेन आमा। म रोएँ, कराएँ, भावविह्वल भएर बिन्ति बिसाएँ। सके जति त प्रतिकार पनि गरे तर अहँ सकिनँ आमा दानवको बस्ती रहेछ जो। 

यहाँ म जस्ता धेरै छन् आमा जसले अझै न्याय पाएका छैनन्। सदिऔंदेखि त्यो एकदिन पर्खेर बसेका छन्। तर आमा तिमी चिन्ता नगर म त्यो दिन पर्खेर बस्दिन। बाह्र वर्षमा त खोलो पनि फर्किन्छरे भन्ने उखान उखान मात्र हो रहेछ भन्ने मैले बुझिसके। यतिका समय भयो नत चुलो छोएको निहुँमा ज्यान गुमाएका मनवीरे सुनारलाई लग्ने खोला फर्कियो नत बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारलाई लग्ने खोला फर्कियो। अन्यायसँगै बगेका यस्ता हजारौं खोला न्याय लिएर आजसम्म फर्केका छैनन्। हाम्रा चेलिबेटीलाई बन्दकोठाभित्र कालो विस्तारामा भोग गर्दा उपल्ला जातले जात देख्दैनन्। जब त्यसको विरुद्धमा आवाज उठ्छ अनि बल्ल तिनीहरुको स्वर्गीय आनन्दबाट आँखा खुल्छ अनि आवाज दबाइन्छ नदबे घाँटी दबाइन्छ। झुमा विकलाई जस्तै, रुपमती कुमारी दासलाई जस्तै, माया विकलाई जस्तै।

आमा तिमी कानुन छ भनी भ्रममा पनि नपर्नू है। कानुन त किताबको पानाभित्रै च्यापिएर बसेको छ। भेरीको भुमरीमा म रुमलिएजस्तै कानुन नामको किताब पनि मूर्खहरुको हातमा पिरोलिरहेको छ। हाम्रो नामको न्यायको पाना कहिल्यै पल्टिनै पाउँदैन अझ भनौं पल्टाउनै दिँदैनन्। भन्छन् नि आमा सानालाई ऐन ठूलालाई चैन त्यस्तै रहेछ। नत्र कानुन बनेको यतिका समय हुँदा पनि छुवाछुत अनि भेदभावका घटनाहरु कहिल्ये घटेनन् बरु झन् नयाँनयाँ स्वरुपमा थपिँदै छन् किन ? न्यायको तराजुको आँखाको पट्टि पनि भ्रम रहेछ आमा जहाँ न्यायको पल्ला कहिल्यै भारी भाको छैन। होस् पनि कसरी जबजब न्यायको पल्ला भारी हुँदै जान्छ तबतब अन्यायले पैसाको बिटो थप्दै जान्छ। कानुनका अंगरक्षक भनिनेहरु बेचिदै जान्छन्। सरोकारावालाहरु कराउँदै जान्छन् सरकार कान थुन्दै जान्छ। दुखी, गरिब अनि दलितको सरकार भएन यहाँ।

प्रिय आमा म घरको भित्तामा त पहिल्यै थिएँ। मुसुक्क हास्दै अडेको थिएँ। तर जब ढलें हरेकको फेसबुकको भित्तामा ठडिएको छु। अनलाइनको पानाभरि भरिएको छु। टिभीको पर्दाभरि सजिएको छु। पत्रिकाको पानाभरि कोरिएको छु। यो सब देख्दा तिमी कम्ता रुँदी हौ। तिमी कम्ता भावविह्वल भएर मूच्र्छा पर्दी हौ। तिमी यसको कुनै सुर्ता नगर्नु है। मेरो न्यायको लागि यो सब गर्दै छन्। हिजो त दमै, म कामी, त सार्की आदि इत्यादि भन्दै तँ भन्दा म ठूलो भन्दै, दलितभित्रै विद्रोह गर्नेहरु पनि अहिले एक भाका छन्।

दलितहरु एक भएर फेरि अर्को काण्ड गर्छन् कि भनेर तिमी चिन्ता नगर्नू आमा। किन कि यी सबैका भित्ताहरुमा मेरो फोटाहरु हराउँदै जान्छन्, बिनाहुरी यो जमात पनि हराउँदै जान्छ। यो मानवता हराएको स्वार्थी समाजमा  तिम्रो छोराको न्यायका लागि लड्छु भन्नेहरु पनि हराउँदै जान्छन्।

आमा जबसम्म मान्छेहरुको मन अनि मनैदेखि व्यवहार फेरिँदैन नि शताब्दि नै फेरियोस् तबसम्म केही हुने वाला छैन। अरु जे जस्तो भए पनि आमा तिमी चाहिँ फेरिनु है। सबैलाई माया गर्नु है। घृणा शत्रुलाई पनि नगर्नू है। अनि तिम्रा आखाँका गहभरि आँसु हुने गरी मलाई नसम्झनू है। 

अर्को चुनावमा म तिम्रो छोरालाई न्याय दिलाउँछु भन्दै झूठा आश्वासन बाँड्दै भोट माग्न आउलान् आमा। ती जाली नेताको झन् कत्ति पनि भर नपर्नु है। तिम्रो एक भोटभन्दा मल्ल गाउँको दुईसय भोट नै ठूलो नि आमा नेतालाई। समाज परिवर्तन गर्छु देश बनाउँछु भन्दै गएका नेताहरुको बोली पनि सुनियो। काम पनि देखियो। यहाँ सबैलाई आफ्नो दुनो सोझाउँदैमा फुर्सद छैन। आमा म भेरी नदीको भुमरीमा ठक्कर खाएर ढलिसकेँ। न्याको भुमरीको ठक्करमा तिमी नपर्नु है। तिमी नढल्नु है। यो भिड हराए पनि म मन्द हावाको सुवाससगै बहिरहने छु। तिम्रो न्यानो अनि निस्वार्थ माया स्पर्श गर्ने छु।

आमा मैले न्याय पाउँदै नपाउने पनि होइन। आज मेरो नाममा एकजुट भएको यो भिड कसैसँग नबिके अनि नझुके त मेरो मात्र होइन वर्षौदेखि न्यायको दिन पर्खिबसेकाहरु सबैको दिन आउने थियो। तिमी भन्थ्यौ नि आमा घर बलियो हुन थाम, निराल अनि दलिन बलियो हुनुपर्छ भनेर। म अनि हामी सबैले न्याय पाउन समाजले बनाइदिएको हाम्रो दलित भन्ने घर पनि बलियो हुनुपर्छ। दमै थाम भए, कामी निराल बन्नुपर्छ, सार्की दलिन बन्नुपर्छ। यो घर जति नै स्केलको भूकम्प गएपनि ढल्नु हुँदैन। सम्पूर्ण जातका दलितहरु केही न केही रुपमा अडिनुपर्छ। एउटै छानोभित्र मिल्न सक्नुपर्छ। अनि मात्र यो न्याय सम्भव हुन्छ आमा। आमा जति पनि दलित आन्दोलनको नाममा काम गर्नेहरु छन् नि तिनीहरुले सबैभन्दा पहिला हामी दलितभित्रको भेदभाव हटाउन सक्नुपर्छ। व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्नुपर्छ। रोटी र बेटी, आनीबानी र पानी निसंकोच साट्न सके भने ढुक्क हुनू आमा तिम्रो छोराले न्याय पाउने छ भनेर।

अहिले मेरो नाममा तातेको यो सञ्जाललाई यही भन्न मन छ तर के गर्नु आमा तरबारले चिरफार गरिएको यो राताम्मे शरीर अदृश्य भएको छ। रिस त यति उठेको छ नि आमा कोरोना भाइरस बनेर अन्याय गर्ने अनि मेरो प्रेमको हत्या गर्नेहरुको शरीरभित्र छिरेर साम्राज्य बनाऊँ ! जातको नाममा उदन्डता मच्चाउने समाजको बीचमा गएर आत्मघाती बम विस्फोट गरौँ  अनि सबैलाई सखाप पारीदिऊँ तर के गर्नु आमा म त मायाले नै संसार जितिन्छ भनी विश्वास गर्ने जो परे।

हुन त यत्रो कोरोना भाइरसले बुझाउन नसकेको मान्छेलाई कसले पो बुझाउन सकोस् कि अजम्बरी जीवन कसैको पनि छैन भनेर आमा। कसले बुझाओस् कि जीवन आखिर मरेरै जाने हो भनेर। कसले सम्झाओस कि दुई दिनको जिन्दगानीमा सबैसँग मिलेर बाँचौं भनेर। कसले बुझाई देओस् कि हामी मानिस सबै भन्दा चेतनशील प्राणी हो भनेर ?

आमा जबसम्म मान्छेहरुको मन अनि मनैदेखि व्यवहार फेरिँदैन नि शताब्दि नै फेरियोस् तबसम्म केही हुने वाला छैन। अरु जे जस्तो भए पनि आमा तिमी चाहिँ फेरिनु है। सबैलाई माया गर्नु है। घृणा शत्रुलाई पनि नगर्नू है। अनि तिम्रा आखाँका गहभरि आँसु हुने गरी मलाई नसम्झनू है।

आशा गर्छु यो युग फेरिने छ। युगसँगै मान्छे लडाउने यो कुसस्ंकार फेरिने छ। मान्छेको मन फेरिने छ। मन सँगै विचार अनि व्यवहार फेरिने छ। पढेकाहरु सड्ने छैनन्। कोटभित्र खोट हुने छैन। कानुनको चपेटाबाट न्यायको पाना बारम्बार पल्टिने छ। अनि म तल्लो जात माथिल्लो जात भएर होइन मान्छे भएर पुनःजन्म लिने छु। प्रेमले जित्ने नयाँ युगमा तिम्रो कोखबाट फेरि जन्म लिनेछु अनि यो जुनीमा पूरा हुन नसकेका तिम्रा मेरा सपनाहरु पूरा गरौंला है आमा। #अन्नपुर्ण

उही,
विजय परियार 

चर्चामा

सम्बन्धित समाचार