बिहिबार, चैत्र १५, २०८०

राहदानी

  • बिहिबार, फाल्गुन २२, २०७६
राहदानी

रातभरि निदाउनै सकिन
छट्पटीले आँखा ब्युझिरहे
दिमाग खलबली रह्यो
मन तड्पिरह्यो केवल
मातृभूमि छोडेर जानुपर्नेले
बुढेसकालका आमा र बाबा
घरमा एक्लै छोडेर
खोरिया वारि बाँजो पारेर
बालापनका साथीसङ्गी
सुन्दर वनपाखा
र,
सधैं स्पर्श गरिरहेको
माटो त्यागेर
केही वर्ष छुट्टै बस्नुपर्ने पिरले ।

विदेशमा त रुपियाँको
रुख हुन्छ भन्ने सुनेको छु
एक मन्ले कल्पिरहन्छ
त्यो रुपियाँको रुख
चड्न दकिन्छ कि सकिदैन
यदि सकियो भनेपनि
हाँगा त पर-परसम्म
फैलिएका होलान्
ती रुपियाँ कसरी टिप्ने होला ?

साच्चै मैले ती रुपैयाँ टिपेर
कमाउन सकें भने
जमाउन सकें भने
आमाबाबा यसैमा रमाउन सके भने
बस् मैले प्रदेशमा आएर
बगाएको रगत पसिनाले
बल्ल सार्थकता पाउने छन्
आमाबाबाको बुढेसकालको लठ्ठी म
टाढा हजारौं मायल टाढा भएपनि
मुहारमा सानो धर्सो खुशी छर्किन सकें भने
मन त शान्त रहला मेरो
तर,
आमाबाबा बिरामी पर्दा
पानीको चुहो खुवाइदिने पो कसले ?
धुँवाले भरिएको सानो र त्यो होचो
भान्सा कोठामा कसले रोटी पकाइ देला
चर्पीसम्म बुढा आमाबाबालाई डोर्याए
कसले पो पुगाइदेला ?

मैले त,
राहदानी बनाइसके
म जसरीपनि प्रदेशीनु छ
दश वर्ष पढेर कमाएका
सर्टिफिकेट बेकाम भए
बरु नेपाल सरकारबाटै
दस हजारले किनेको
हरियो पासपोर्टले
केही कमाउने मौका दिदै छ
एक बेरोजगारी युवा घट्दै छ
कोरा सपना बुनेर बिदेश हानिदै छ
र,
मबाट स्वदेश भित्रीने रेमिटेन्सले
आमा र बाबालाई मात्रै नभएर
नेपाल सरकारलाईपनि राहत हुनेछ
थोरै भएपनि कतै काम लाग्ने छ
शिक्षामा,स्वास्थ्यमा कि यातायातमा
वा सिहंदरवारीया ज्यू हरुलाई
जहाँ प्रयोग भएपनि हजारौं
बिदेशी रेमिटेन्स विकास मै
प्रयोग होस् मेरो कामना !

बिदेशबाट सास कि लास
जहाजमा के चढेर आउँछ
केही टुंगोपनि हुँदै-हुँदैन
सासमा आयो भने साथमा
याद, मायाप्रेमसङ्गै सुटकेश
थोरै आमाबाबालाई मालसामान
अनि हर्ष र खुशी
यदि,
लासमा आयो भने
काठको रातो बन्द बाकस भित्र
अररो मुर्दार शरीर कपासको गन्ध
सिमलको जस्तो सेतो भुवाँले नाक बन्द
केही थान कपडामा बेरिएर
अनि, आफन्तको रुवाइ
दर्दनाक पीडा…
यो त मेरो कल्पनाको कुरा
बल्ल त म एजेन्टको पछि
कुद्दै छु राम्रो कामको लागि
हाम्रो गाउँघरमा भेडाकोपछि मालिक हुन्छ
तर,
शहरमा मालिकको पछि राहदानी
राहदानीको पछि
बल्ल राहदानीको मालिक ।
©-शाही सुरेन्द्र “गुलाब कान्छो”
महाराजगन्ज,काठमाडौं

चर्चामा

सम्बन्धित समाचार