बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • ज्येष्ठ नागरिक󠄇 र हामी

ज्येष्ठ नागरिक󠄇 र हामी

  • बुधबार, पुस २३, २०७६
ज्येष्ठ नागरिक󠄇 र हामी

वर्तमान समय मा ज्येष्ठ नागरिक को जुन पुस्ता क्रियाशील छ त्यो पुस्ता लाई यदि सम्मान र सुविधा का साथ सक्रिय गराउन सकिएन भने नेपाल ले धेरै सम्पदा गुमाउनु पर्नेछ । यो पुस्ता सँग राणाकाल, पञ्चायतकाल, अन्तरिम काल र वर्तमान काल समेत का विविध ज्ञान र अनुभवहरु छन् । जीवन यात्रा मा आएका उकाली ओराली का पनि अनगिन्ती अनुभूति छन् । उनीहरु पछुताएका कथाहरु पनि छन् र प्रेरणादायी छन् । ती सबै कुरा उनका मुख बाट सुनेर आगामी पुस्ता र चालू पुस्ता ले धेरै ज्ञान लिन सक्छ । वर्तमान ज्येष्ठ नागरिक मध्ये कति मा लेख्ने क्षमता नभएकाे पनि हुन सक्छ । ई सब कुरा मा सचेत युवाहरु ले ध्यान दिनै पर्ने कारणहरु छन् ।
󠄇एस सन्दर्भ मा केही वर्ष अघि मात्र हामीले गुमाएका दुई ज्येष्ठ नागरिक लाई सम्झन मन लाग्यो । प्रातःस्मरणीय योगी नरहरि नाथ जी र डा. स्वामी प्रपन्नाचार्य जी लाई । वहाँहरु ठूला विद्वान् त हुनुहुन्थ्यो नै साथै वहाँहरु देशभक्त र देश का कुनाकाप्चा घुमेका अनि देश को वास्तविक सेवा मा समर्पित महासन्त पनि हुनुहुन्थ्यो । वहाँहरु दुवै त्यागी र तपस्वी पनि हुनुहुन्थ्यो र लेखनधर्मी पनि हुनुहुन्थ्यो । जन्म का दृष्टि ले योगी जी हुनुहुन्थ्यो थापा छेत्री र डा. स्वामी हुनुहुन्थ्यो राई छेत्री । हो, डा. स्वामी आँफूलाई क्षत्रिय राई नै मान्नु हुन्थ्यो । वहाँ को व्याख्या थियो राई शब्द को व्युत्पत्ति राजन् शब्द सँग छ र राजन् शब्द को सम्बन्ध क्षत्रिय जाति सँग छ । वहाँ को तर्क गलत थिएन, वहाँहरु एस्ता हुनुहुन्थ्यो ।
󠄇तर हामीले वहाँहरु का पछिल्ला वर्षहरु को सदुपयोग गर्न सकेनौं । मैले यहाँ पछिल्ला वर्षहरु किन भनेको भने पछिल्ला वर्षहरु मा वहाँहरु शारीरिक रूप ले अशक्त हुनुभयो, वार्धक्य का कारण । जो स्वाभाविक नै थियो, तर मानसिक रूप ले भने कत्ति पनि अशक्त हुनु भएको थिएन । स्मरण शक्ति पनि निक्कै तरोताजा थियो । मँ पछिल्ला वर्षहरु मा जति पटक पनि वहाँहरु का निवास मा पुगें बडो प्रफुल्ल रूप मा वहाँहरु ले आआफ्ना अनुभूति र नेपाल को सुदूर अतीत का प्रसंगहरु सुनाउनु भयो । मैले प्रज्ञा प्रतिष्ठान मा पुगेर वहाँहरु का प्रज्ञा को सदुपयोग गर्ने प्रबन्ध गरौं भनेर विन्ती पनि गरें, तर ध्यानाकर्षण गराउन सकिनँ । केही मेरै पनि असमर्थता भयो ।
󠄇एक दिन नेकपा का नेता तथा प्राज्ञ मोदनाथ प्रश्रित जी सँग पनि मैले यो कुरा उठाएँ, वहाँ मा त अझै बढी एस्तो चिन्ता रहेछ । वहाँ ले भन्नुभयो योगी नरहरि जी मा नेपाल मा भएका जडीबूटी हरु को एति विस्तृत जानकारी छ कि वहाँ एक्लै एउटा सिंगो इन्साइक्लोपेडिया हुनुहुन्छ । अनि श्री प्रश्रित ले थप्नुभयो वहाँ को जीवन सँगै त्यो सम्पूर्ण ज्ञान चिता मा विलीन हुनेछ र हामीले नेपाली भाषा को एउटा सुदुर्लभ सम्पदा गुमाउने छौं । श्री प्रश्रित आयुर्वेद का विद्यार्थी र ज्ञाता हुनाले वास्तव मा नै वहाँ को त्यो सूचना यथार्थ थियो । मँ उत्साहित पनि भएँ र चिन्तित पनि भएँ । तर मँ केही गर्न सक्दैनथेँ । केवल शक्तिशाली व्यक्तिहरु लाई अनुरोध गर्नु मात्र मेरो योग्यता थियो । तर दुर्भाग्यवश तेसको केही वर्ष मा योगी जी महासमाधि मा विलीन बन्नु भयो । हामीले अरबौं रुपियाँ खर्चेर पनि प्राप्त गर्न नसकिने योगी जी को त्यो अनमोल ज्ञान सदा सदा का लागी अज्ञात मा विलीन भयो । वहाँहरू दिन चाहनु हुन्थ्याे, हामी लिन गएनाैें ।
󠄇एसै गरी डा. स्वामी प्रपन्नाचार्य को अगाध ज्ञानसमुद्र बाट पनि हामी विभिन्न अनमोल मोतीहरु बटुल्न सक्थ्यौं, तर तेसमा पनि हामी नराम्ररी चुक्यौं । मँ एक दिन श्लेष्मान्तक बन को एकान्त कुटी मा बसिरहेका डा.स्वामी जी को दर्शन मा पुगें । ऋग्वेद को चर्चा चल्यो । मैले वहाँ लाई सोधेको थिएँ ‘‘ऋग्वेद का ऋचाहरु नेपाल मै रचिएका थिए भन्ने कुरा को पुष्टि मा स्वामीजी बाट राष्ट्र ले ठूलो आशा गरेको छ ।’’ उत्तर मा स्वामीजी ले सुनाउनु भयो योगीजी कै कुरा । वहाँ ले भन्नुभयो ‘‘योगी जी भन्नुहुन्थ्यो ऋग्वेद मा वर्णित जडीबूटीहरु मध्ये नब्बे प्रतिशत जडीबूटीहरु को सम्बन्ध वर्तमान नेपालभूमि सँगै छ’’ अनि वहाँ ले भन्नुभयो ‘‘आयुर्वेद मा त असंख्य जडीबूटीहरु छन्, वास्तव मा तिनै जडीबूटी ले भोलि यो सिद्ध गर्नेछन् ऋग्वेद को सम्बन्ध नेपालभूमि सँगै छ’’ । अनि मैले फेरि प्रश्न गरें ‘‘बाँकी दश प्रतिशत जडीबूटी को सम्बन्ध बारे योगी जी केही भन्नुहुन्थ्यो ?’’ वहाँ को उत्तर थियो श्रीयोगी जी ” बाँकी जडीबूटी पनि पूर्व मा ब्रह्मपुत्र र पश्चिम मा भागीरथी को पर्वतीय क्षेत्र भित्रै पाइने ठूलो सम्भावना छ ” भनिरहनु हुन्थ्याे।

󠄇स्वामी प्रपन्नाचार्य का अन्तिम वर्षहरु ऋग्वेद मा वर्णित आयुर्वेदीय वनस्पतिहरु को अध्ययन मा व्यस्त थिए । वहाँ ले अध्ययन लाई लिखित रूप दिन पाउनु भयो भएन भन्ने जानकारी पाउन मैले सकेको छैन । तर वहाँ ले वैदिक वाङ्मय मा पाइने अरू पनि अनेकौं महत्वपूर्ण विषय मा धेरै कुरा लेख्नु भएको थियो । वेद मा के छ ? त वहाँ को प्रसिद्धै छ र अरू पनि गहन गहन कृतिहरु छन् । वहाँ पनि हामी बाट विदा लिएर गइसक्नु भयो ।
०००००
गतवर्ष मात्रै वैदिक व्याकरण का विशिष्ट ज्ञाता श्रद्धेय शिवराज आचार्य कौडिण्यायन पनि हामी बाट बिदा भएर जानुभयो । वहाँ गृहस्थ भएकाले र वहाँ का सन्तान अमाेडा अाचार्य र वहाँ का भाई बहिनी हरु पनि पिता का गुण चिन्ने देखिएकाले निराशा काे स्थिति छैन तर सबै गृहस्थ लाई याे सुयाेग मिल्दैन । सामान्यतया यो क्रम अनवरत चल्दै आइरहेको हुन्छ र पछि सम्म चलिरहने छ । जसलाई रोक्न सक्ने सम्भावना छैन, तर हामी के गर्न सक्छौं भने वहाँहरु को ज्ञान र अनुभव सँगालेर भावी पुस्ता लाई दिएर जाने वातावरण मिलाउन सक्छाै‌ं ।
मुकुन्द शरण उपाध्याय वेदविद्याश्रम टंगाल

चर्चामा

सम्बन्धित समाचार