शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पर्यटन
  • ऐतिहासिक ब्यासीकोट दरबार अलपत्र, संरक्षणप्रति कसैको ध्यान गएन

ऐतिहासिक ब्यासीकोट दरबार अलपत्र, संरक्षणप्रति कसैको ध्यान गएन

  • आइतवार, चैत्र २४, २०७५
ऐतिहासिक ब्यासीकोट दरबार अलपत्र, संरक्षणप्रति कसैको ध्यान गएन

बझाङ । संरक्षणको अभावमा तत्कालीन बझाङ राज्यको प्रादुर्भाव भएको स्थानको रूपमा परिचित व्यासीकोट दरबार जिर्ण बन्दै गएको छ । तत्कालीन बझाङ राज्य सम्बन्धी विभिन्न शिलालेख, प्राचीन मूर्ती लगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामाग्री रहेको उक्त दरबार संरक्षणको अभावमा अहिले अलपत्र बन्दै गएकाे हाे ।

करिब पाँच सय ७३ वर्ष भन्दा पहिले (विसं १५०२ तिर) तत्कालीन बझाङ्गी राजा शक्ति सिंहले उक्त दरबार निर्माण गर्न लगाएको विभिन्न शिलालेखहरूमा उल्लेख छ । साबिक व्यासी गाविसको चौधानपाटा नजिकैको कोट डाँडामा रहेको उक्त दरबार बझाङ जिल्लाको नामकरणसँग पनि जोडिएको छ । व्यासीकोट दरबार रहेको डाँडामा पटक-पटक बज्रपात हुने भएकोले यस ठाँउलाई बज्राङ्ग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंश भएर यस जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारहरूले दाबी गरेका छन् ।

यो डाँडाको मुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकीय शक्ति भएका खनिजहरू रहेकाले चट्याङ पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पुर्णप्रकास नेपाल ‘यात्री’ ले लेखेको पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ ।

बझाङ मै निर्मित इटाद्वारा बनाइएको यो दरबार सुरुमा २५ कोठाको रहेको र १९९० सालको भूकम्पले क्षति गरे पछि तत्कालीन राजा देवीजंङ सिंहले पुर्न निर्माण गरी १० कोठाको बनाएको स्थानीय बुढापाकाहरुको भनाई छ ।

झनै जीर्ण बन्दै दरबार

२०२३ सालमा आएको भूकम्पले हल्लाए पछि १० कोठे उक्त दरबारका केही भिक्ताहरु चर्किएका थिए । २०५७ सालमा तत्कालीन विद्रोही माओवादी दरबारमा आगजनी गरेर त्यहाँ भएका केही धातुका मूर्तीहरू समेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानीय स्वयंसेवी इन्द्र बहादुर सिंहले बताए ।

भूकम्पमा परी भत्किएको सो दरबार संरक्षणको लागि २०५६ साल तिर स्वर्गीय राजा वीरेन्द्रकी बहिनी तथा बझाङी राजा दिपकजंङकी धर्मपत्नी शान्ति सिंहले व्यक्तिगत रूपमा ६ लाख खर्च गरेर जिर्णाेद्वार गर्न लगाएकी थिइन । त्यसवेला दरबारको छानामा रहेका स्लेटहरु हटाएर जस्तापाता हालिएको थियो ।

‘अहिले त झ्याल ढोकाहरू पनि भत्किसकेका छन् । घेरवार पनि भत्किएका कारण छाडा पशु चौपाया चर्ने ठाँउ भएको छ’ उनले भने ‘बाहिर रहेका शिलालेखमा समेत लेउ लागेर पुरिने अवस्थामा पुगेका छन् । यसको संरक्षणप्रति कसैको ध्यान गएको छैन ।’

औँसी-पूर्णिमाको बेला कोही-कोही पूजा गर्ने मानिसहरू यहाँ आए पनि अरुवेला कसैले वास्ता नगर्ने गरेको स्वयंसेवी सिंहले बताए । यस दरबारको चारैतिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुङ्गो लगायतका विभिन्न देवी देवताहरूको मन्दिरहरू रहेका छन् । कोट दरबारमा प्रत्येक वर्ष चैते दशै, गौरा पर्व र बडा दसैँमा पुजाआजा गर्ने प्रचलन रहेको छ ।

बझाङी राजाहरूले चर सय वर्षसम्म राज्य सञ्चालन गरेकाे अभिलेख

बझाङी राजाहरूले यही दरबारबाट करिब चार सय वर्षसम्म राज्य सञ्चालन गरेको विभिन्न अभिलेखहरूमा उल्लेख छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य सञ्चालन गरेका थिए

उक्त कोट दरबारमा १९७० देखी १९९० सम्म राजा देवीजङ्ग बहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ । १९९५ मा राजा देवीजङ्ग बहादुर सिंहको मृत्यु पछि १९९६ मा उनका जेठा छोरा रामजङ्ग सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य सञ्चालन गरेको ७५ वर्षीया स्थानीय प्रेम बहादुर सिंहले बताए ।

पर्यटनको केन्द्रको रूपमा पनि विकास गर्न सकिने

अग्लो ठाँउमा रहेको यो दरबार पाथिभेरे हिमाल, सुर्मालेक, नाम्पा हिमाल लगायतका हिमश्रृङखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । हालको छविसपाथिभेरा, दुर्गाथली , थलारा, सुर्मा लगायतका गाँउपालिका र जयपृथ्वी नगरपालिकाको दृश्य समेत देखिने डाँडामा रहेको यो दरबारको जिर्णाेद्वार गरी संरक्षण गर्न सके पर्यटनको केन्द्रको रूपमा पनि विकास गर्न सकिने स्थानीयहरू बताउँछन् ।

छविसपाथिभेरा गाउँपालिकाले पनि दरबारको संरक्षणको लागि पहल गरेको गाउँपालिका अध्यक्ष अक्कल धामीको दाबी छ । उनले दरबार जाने बाटो नजिक सडक विस्तार गरिएको बताउँदै गुरुयोजना नै बनाएर दरबारको संरक्षण, जिर्णाेद्धार र पर्यटकीय स्थलको रूपमा विकास गर्ने गरी काम थालिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार