बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अमेरिका जाने जंगलको बाटो

अमेरिका जाने जंगलको बाटो

  • शनिबार, चैत्र २३, २०७५
अमेरिका जाने जंगलको बाटो

जनकराज सापकोटा

काठमाडौँ — झन्डै एक वर्षअघि अमेरिकाको टुफट्स युनिभर्सिटीअन्तर्गतको इन्स्टिच्युट अफ ह्युमन सेक्युरिटीले प्रोफेसर किम विल्सनको नेतृत्वमा एउटा अनुसन्धान सुरु गर्‍यो  । मेडिटेरिन समुद्र तरेर युरोप गैरकानुनी रूपमा युरोप छिर्न हिँडेका आप्रवासीमाथि अनुसन्धान गरेका प्रोफेसर किम यसपाला एटलान्टिक समुद्र तरेर गैरकानुनी रूपमा अमेरिका छिर्न हिँडेकाहरूको आर्थिक पक्षमाथि अध्ययन गर्दै थिए  । विश्वविद्यालयले उक्त अध्ययनका निम्ति १३ जना सहयोगी अनुसन्धानदाताहरूको खोजी सुरु गर्‍यो । सोही विश्वविद्यालयमा ल एन्ड डिप्लोमेसीमा स्नातकोत्तर गर्न पुगेका पाटनका सुबिन मुल्मी यसमध्ये एक भए । उनको काम थियो— अवैध रूपमा अमेरिका छिर्न मानव तस्करहरूको जालोमा परेका नेपालीहरूसँग अन्तर्वार्ता गर्नु ।
अनुसन्धान टोली २०१८ को मेमा मध्यअमेरिकी देश कोस्टारिका पुग्यो । कोस्टारिकाले उक्तरको लात्रुज र दक्षिणको पासाकानुस दुई ठाउँमा सेल्टर नै बनाएर अवैध रूपमा अमेरिका छिर्न हिँडेकाहरूलाई आश्रय दिएको छ । विभिन्न देशबाट पानामा हुँदै कोस्टारिकाको क्याम्पमा आइपुगेकाहरू महिनौं लामो अवैध यात्रा, अनेकन झन्झट, लाखौं रुपैयाँको खर्च र जोखिम बेहोरेर पुग्नेमा भारतीय, बंगलादेशी, पाकिस्तानी, अफ्रिकीका अलावा नेपाली पनि थिए । सुबिनले क्याम्पमा छिरेर तिनै नेपालीसँग लामो अन्तर्वार्ता गरे । कोस्टारिकाको क्याम्पमा आइपुगेका सबैसँग हप्तौं लामो अवैध यात्राको अनुभव थियो । अमेरिका सपना देखेर नेपालबाट हिँडेकामध्ये धेरैजसो भारतको बाटो हुँदै दुबई, रुसको राजधानी मस्को, इटालीको मिलान, फ्रान्सको पेरिस, ब्राजिलको रियो, पेरु, इक्वेडर, कोलम्बिया, पानामा हुँदै कोस्टारिका थिए । यो यात्रा औसतमा महिना दिनदेखि चार–पाँच महिनासम्मको थियो । सुबिनको अध्ययनअनुसार यो अवैध यात्रामा सबैभन्दा धेरै दुःख कोलम्बियाको सिमाना सुरु भएपछि हुन्छ । देशैपिच्छेका फरकफरक एजेन्टले तारतम्य मिलाएकै भरमा सजिलै अवैध ज्ञपमा सीमा छिर्न सकिए पनि कोलम्बियामा भने सहज हुँदैन । सुबिनले कोस्टारिकामा भेटेका नेपालीबाट थाह पाएअनुसार कोलम्बिया छिर्ने बेलामा अक्सर शरणार्थीहरू त्यहाँका पुलिसबाटै लुटिन्छन् ।

कोलम्बियाको डरलाग्दो डेरियन जंगल
लुटिएरै कोलम्बिया छिरेकाहरू समुद्री तटमा रहेको टुर्बो भन्ने सानो सहरबाट ९० किलोमिटर दूरीमा रहेको कपुरगाना भन्ने ठाउँमा डुंगा चढेर पुग्दा रहेछन् । त्यसपछि शरणार्थीहरूको सबैभन्दा दुसाध्य यात्रा सुरु हुन्छ । कोलम्बिया र पानामाको सीमामा पर्ने डेरियन ग्याप भनिने घना जंगल खतरनाक मानिन्छ । यो जंगलमा विषालु सर्प मात्र छैनन्, १९६४ देखि सरकारसँग लडिरहेका कोलम्बियाविरोधी हतियारधारी गुरिल्ला समूहसमेत छन् । क्युबा, सोमालिया, सिरिया, बंगलादेश, नेपाललगायतका अफ्रिका र एसियाली देशबाट अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिंडाउने गरेको तथ्य आईओएमले पनि उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको आईओएमले निकालेको माइग्रेसन एन्ड माइग्रेन्ट्स ः अ ग्लोबल ओभरभ्यु शीर्षकमा २०१६ मा प्रकाशित प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’ को नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, यही जंगल छिचोल्नेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छ वा बेपत्ता बनाइन्छन् ।लागूऔषध तस्करहरूको मुख्य मार्ग रहेको भनिएको डेरियन जंगलको सुरक्षामा खटिएका अर्धसैनिक बलसँग सेटिङ मिलाएर मानव तस्करहरूले हप्तौंसम्म हिँडाउने गरेको सुबिनले बताए । जंगल कटाउन खटिने डोंगर भनिने स्थानीय एजेन्टहरू भरपर्दा त हुँदैनन् नै, उनीहरू शरणार्थीसँग पैसा भएको थाहा पाए वा बहुमूल्य सामान भएको थाहा पाए लुटिहाल्छन् । त्यसैले पनि यो यात्रा कटेर पानामा आइपुगेकाहरूलाई भाग्यमानी मानिदो रहेछ । सुबिनका अनुसार सामान्यतया पाँच सात दिनमा पार गर्न सकिने घना जंगलमा बाटो देखाउने एजेन्टहरूले हप्तौं घुमाइरहन्छन् । प्रतिदिन २० डलर शुल्क लिएर दिन गन्तीका हिसाबले पैसा पाउने भएकाले उनीहरूले यसरी ‘शरणार्थी’ हरूलाई भोकै प्यासै जंगलमा अल्झाइहन्छन् । अवैध रूपमा सीमा पार गर्ने यो यात्रामा कोही अर्धसैनिक बलको फेला पर्छन् त कोही लागूऔषध तस्करको । वर्षायाममा यो जंगल भएर बग्ने खोला तर्न डुंगा प्रयोग गरिन्छ भने हिउँदमा पानीमा हेलिनुको विकल्प छैन ।यही जंगलको बीचमा एउटा पहाड छ । घना जंगलमा भोकैप्यासै हप्तौं हिंडेकाहरू केही त पहाड चढ्न नसकेरै फर्किन्छन् । पहाड चढ्ने बल भएकाहरू भने बल्लतल्ल सीमा पार गरेर पानामा पुग्छन् । अन्तर्वार्तामा एक नेपालीले यही पहाड चढ्न नसकेका एक नेपाली सहयात्रीलाई आफूले जंगलमै छोडेको बताएका थिए । अर्का अफ्रिकी शरणार्थीले यही जंगल यात्रामा आफूले श्रीमती गुमाएको कथा सुनाएका थिए । क्याम्पमा भेटिएकी एक तिब्बती मूलकी नेपालीले भने आफू नदी तर्दा झन्डै डुबेको बताएकी थिइन् ।

पनामा कट्नेलाई मान्छेको जुनी

यसरी भोकै प्यासै जंगल छिचोलेर हिँडेकाहरू संगठित मानव तस्करको सञ्जालको सहयोगमा पनामाको क्याम्पमा आइपुग्छन् । पनामाले यस्ता अवैध यात्रीहरूलाई राख्नका निम्ति तीनवटा क्याम्प सञ्चालनमा ल्याएको छ । जहाँ एक डलर तिरेर भुइँमै एक रात सुत्न पाइन्छ । सुबिन कोस्टारिका पुगेका बेला पनामाले आफ्नो क्याम्पमा रहेकाहरूलाई प्रत्येक दिन एक सय जनाको दरले बाहिर निकाल्ने नीति लिएको थियो । यसरी पनामा क्याम्पबाट निस्केका एक सय जनाको लस्कर ४५ डलर शुल्क तिरेर कोस्टारिका बस चढेर कोस्टारिका छिर्छन् । सुबिनले कोस्टारिकाको दक्षिणमा अवस्थित पासाकानोस भन्ने स्थानमा रहेको शरणार्थी क्याम्पमा पुगेको सय जनाको एउटा लस्करमा १६ जना नेपाली रहेको भेट्टाए । अनि यस्तै सय जनाको दोस्रो लस्करमा भने ९ जना नेपाली थिए ।पनामा सीमा छिचोलेर कोस्टारिकाको क्याम्पमा पुगेकाहरूले मान्छेको जुनी पाएको अनुभूति गर्दा रहेछन् । किनकि त्यहाँ पुगेकाहरूले खाना, निःशुल्क स्वास्थ्य सुविधा र ३० दिनसम्म त्यहाँ बस्ने अनुमति पाउँछन् । हप्तौं नुहाउनसम्म नपाएकाहरू यही क्याम्प आइएपछि धीत मरुन्जेल नुहाउँछन् । साथमा बोकेको पैसा गुमाएका/सकिएका नेपालीले यहीं पुगेपछि खाडी वा युरोप अमेरिकामा रहेका आफन्त/साथीभाइबाट आगामी यात्राको निम्ति पैसा मगाउँछन् । भारतीय शरणार्थीहरूले भने मनी ट्रान्सफरमार्फत स्थानीय होटलवालाको नाममा पैसा झिकाउने गरेका छन् । होटलवालाले कमिसन कट्टी गरेर बाँकी रकम दिन्छन् सुबिनले पासाकानोसको क्याम्प नजिकै रहेको होटल एसियामा पनि दुई नेपाली शरणार्थीहरूलाई भेटे । क्याम्पमा एक रात बिताएकाहरू आफ्नो एजेन्ट खोज्दै स्थानीय एजेन्टले चलाएको उक्त होटलमा बस्न आउँदा रहेछन् । हरेक देशैपिच्छेका एजेन्टहरूले आफूले अमेरिका छिराउन हिँडाएहरूको अनौपचारिक समूह बनाएका हुन्छन् । ह्वाट्सएप मार्फत हुने संवादबाटै यस्तो ग्रुपका सदस्यहरूको पहिचान हुन्छ । सुबिनका अनुसार अवैध रूपमा अमेरिका छिर्न हिंडेकाहरू आफ्नो देशमा भार बनेर नबसुन् भनेर कोस्टारिका सरकारले नै सुरक्षित रूपमा उनीहरूलाई अर्को देश पठाउने नीति अख्तियार गरेको छ । हरेक देशको समूहमा एजेन्टले एक जना नाइके तोकेको हुन्छ । यस्तो नाइकेलाई एजेन्टहरूले नै केही सुविधा दिने गरेको सुबिनले बताए ।

‘भुलेर पनि नआउनुस्’
सुबिनले कोस्टारिकामा भेटेका नेपालीमा कोही वकिल थिए, कोही स्कुलका प्रधानध्यापक पनि थिए । एक जना फोटोकपी पसल चलाउँदाचलाउँदै अमेरिका जाने भनेर हिँडेका थिए । एक जना कतारको चार पाँच वर्षको कमाइमा अरू पैसा ऋण गरेर हिँडेका थिए । केही नेपाली त १४–१५ वर्षका थिए । उनीहरूले उमेर ढाँटेर १८ वर्ष भएको भन्दै नागरिकता र राहदानी बनाएका थिए । ‘कोस्टारिकासम्म आइपुग्दाको झन्झट र तनावले उनीहरू मानसिक रोगीजस्तै भइसकेका थिए,’ सुबिनले भने । ‘मैले भेटेजति सबैले अमेरिका छिर्ने बाटोबारे सोध्थे,’ सुबिन भन्छन् । उनले केही यात्रीलाई ‘तपाईंजस्तै तरिकाले अमेरिका छिर्न हिँडेकाहरूलाई के भन्नुहुन्छ ?’ भनेर सोध्दा सबैले एउटै उत्तर दिन्थे, ‘भुलेर पनि नआउनुस् ।’ उनले भेटेकामध्ये अधिकांशले तीस लाखजति खर्च गरिसकेका थिए र थप १५ लाखसम्म खर्चिन तयार थिए । अमेरिका हिँडेकाहरूले दिल्ली पुगेपछि पहिलो किस्ता, कोस्टारिका पुगेपछि दोस्रो किस्ता र मेक्सिको पुगेपछि तेस्रो किस्ता बुझाउने सामान्य चलन रहेछ । किस्ताकिस्तामा दलाललाई बुझाउने यतिका धेरै रकम नेपालीले कसरी पाए ? सुबिनले आफूले नभेटेको प्रश्न सुनाउँदै भने, ‘छक्कै पर्छु । यसको उत्तर अझै भेटेको छैन ।’कोस्टारिका छिर्नेबित्तिकै अमेरिका पुगिने भने होइन । यहाँ केही दिन बिताएर निस्केकाहरू निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका छिर्ने प्रयास गर्छन् । यो यात्राबाट अमेरिका पुगिन्छ नै भन्ने पक्का चाहिँ छैन । सुबिनले आफ्नो अनुसन्धान अवधिको निष्कर्ष सुनाउँदै भने, ‘कोही अंगभंग भएर, कोही बिरामी भएर अमेरिका छिर्छन । कोही बिचमै हराउँछन, कोही बिचमै ज्यान गुमाउंछन ।’
कोस्टारिकाको क्याम्पबाट निस्केपछि अवैध रूपमा निकारागुवा छिर्न चार–पाँच दिनको जंगल यात्रा नगरी सुखै छैन । कोही–कोही कोस्टारिकाबाट समुद्री बाटो हुँदै निकारागुवा नपुगी सोझै होन्डुरस पुग्ने छोटो बाटो पनि रोज्छन् । यो अवैध जल यात्रा जति अप्ठ्यारो छ उति नै खर्चिलो पनि । कोस्टारिका–निकारागुवा सिमानामा सधैं बिहान १० देखि ५ बजेसम्म सेनाको गस्ती चल्छ । त्यही भएर मानव तस्करले शरणार्थीहरूलाई ४–५ दिनसम्मै रातिको समय जंगलको बाटो हिँडाएर सीमा कटाउँछन् । यो अमेरिका छिर्ने लागूऔषध तस्करीको मुख्य बाटो भएकाले अझै बढी खतराको सामना गर्नुपर्छ ।

निकारागुवामा गोली खाएका नेपालीको कथा
सुबिनले यही बाटो हुँदै निकारागुवा छिर्दा सेनाको गोली खाएका नेपालीको कथा सुनाए । गोली लागेपछि दुइटा सर्जरी गरेर तीन महिनासम्म अस्पतालमा उपचार, र दुई महिना थुनामा बसेपछि उनलाई निकारागुवाले कोस्टारिका नै फर्काइदिएछ । ती नेपालीले आफू अब धेरै हैरानी सहन नसक्ने भन्दै नेपाल फर्किन चाहिरहेका थिए । उनको परिवारका सदस्यले भने केही महिना त्यतै भुलेर सन्चो भएपछि अमेरिका जान सुझाइरहेका थिए । उनको कथा सुनेपछि सुबिनको मनमा प्रश्न जन्मियो, ‘यो कस्तो अमेरिका मोह हो ?’
ती नेपाली अमेरिकास्थित नेपाली दूतावासको पहलमा तीन महिनापछि आफ्नै खर्चमा नेपाल फर्किएको सुबिनले थाहा पाए ।
आईओएमको सन् २०१६ को प्रतिवेदनमा २०१६ मा मात्रै अवैध रूपमा युरोप र अमेरिकालगायतका देशमा छिर्न खोज्ने ७ हजार ९ सय २७ जनाको मृत्यु भएको वा बेपत्ता भएका थिए । मृत्यु र बेपत्ता हुनेहरूको यस्तो संख्यामा नेपालीहरूको संख्या यकिन छैन । लामो जंगल हिंडाइपछि बस वा कन्टेनरभित्र लुकेर नेपालीहरू निकारागुवा छिर्छन् । त्यहाँबाट होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्छन् । मेक्सिकोबाट अमेरिका छिर्ने मार्गहरू भने वर्षैपिच्छे फेरिइरहन्छ । सुबिनका अनुसार एकताका मरुभूमि हुँदै जाने चलन थियो । पछिल्लो समय तिख्वाना नदी तरेर अमेरिकाको सान डियागो छिर्ने क्रम बढेको छ । अमेरिकी सीमा प्रवेश गरेर शरणार्थीका रूपमा ‘डिटेन्सन’ क्याम्पमा बसेपछि पनि नेपालीको दुःख सकिँदैन । उक्त क्याम्पबाट बाहिर निस्कँदा धरौटी बुझाउनैपर्छ । यो धेरौटी प्रायः १० देखि १२ लाख हुने भए पनि कसैकसैले त चालीस लाखसम्म तिरेका छन् । धरौटी बुझाएर निस्केका नेपालीहरू ज्याक्सन हाइट, टेक्सास र बाल्टिमोरमा रहेको नेपाली र भारतीय ल फर्ममार्फत आफ्नो कानुनी लडाइँ सुरु गर्छन् । दुई तीन वर्षदेखि आठ दस वर्ष लामो कानुनी प्रक्रियापछि मात्रै नेपालीहरूले वैधानिक हैसियत प्राप्त गर्छन् । त्यहाँ कानुनी हैसियत पाउन मुद्दामा फेरि खर्च गर्छन् । अक्सर एक जनाले १०–१५ लाख मुद्दामैअन्तिममा मैले सुबिनलाई सोधे— यत्रो दुःख र खर्च गरेर अमेरिका पुगेका नेपालीहरूले त्यहाँ के पाउने रहेछन् ?
सुबिनले गम्भीर भावमा भने, ‘खै के पाउँछन् । मैले पनि बुझ्न सकेको छैन । ज्यानको बाजी थापेर गरिने अवैध यात्रा, परिवारसँग महिनौंको सर्म्पक विच्छेद र वर्षौंसम्म भेट्न नपाउँदाको छटपटी, मुद्दा मामिला, कागजी खेल र दौडधुपमा बित्ने ऊर्जाशील उमेर ! अनि अन्तिम भाग्यमा लेखेकै रैछ भनेर हात पर्ने अमेरिकाको वैधानिक हैसियत । म आफैं अचम्ममा पर्छु ।’

चर्चामा

सम्बन्धित समाचार