बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • कला /साहित्य
  • अलौकिक आदित्य

अलौकिक आदित्य

  • शनिबार, चैत्र २३, २०७५
अलौकिक आदित्य

विसं २०७४ महाशिवरात्रिको दिन बिहानीको कुरा हो। बालज्ञानी गुरु आदित्यले लेखेर दिनुभयो— डा. राजु तिमीले आजको कार्यक्रममा केही बेर शिव महिमाबारे बोल्नू, शिवसम्बन्धी छोटो साधना गराउनू। र, यो मन्त्र सबैलाई सुनाउनू।
मार्गनिर्देशनअनुरूप साधना प्याकेज र उद्बोधनको तयारी गरेँ। तर सबैलाई सुनाउनुपर्ने मन्त्रबारे असाध्यै कौतूहल भयो। चारपाँच हरफमा रचिएको शिवोपासनासम्बन्धी त्यो मन्त्र आखिर के हो ? अर्थ के होला ? स्रोत के होला भनी व्यापक खोजी गरियो। पत्ता लाग्यो, मन्त्र रहेछ— ‘शिव स्तोत्र रत्नावली’ नामक ग्रन्थको बीचतिरबाट उद्धृत गरिएको। मनमा बिछट्टै उल्लास छायो। महाशिवरात्रिको अवसरमा राखिएको कार्यक्रममा उपस्थित तीन सय जति सहभागीलाई त्यो मन्त्र र बालगुरुद्वारा लिखित सन्देश सुनाउँदा पहिलोपटक अद्भुत अनुभूति भयो।

यो अनुभूतिले बालज्ञानीबारे अधिकाधिक जान्ने, बुझ्ने र अनुभव गर्ने अविच्छिन्न उत्प्रेरणा उठिरह्यो। त्यसै उत्प्रेरणाले क्रमशः उहाँको विषद् व्यक्तित्व, कृतित्व र कर्तृत्वसँग अवगत हुने अवसर मिल्दै गयो।  गुरु आदित्यभित्र अनेकौं अलौकिकता छन्। तीमध्ये उहाँभित्र विद्यमान मन्त्रशक्ति विषयक प्रतिभा सर्वाधिक चामत्कारिक छ। बालगुरु आदित्यमा अलौकिक ज्ञान उद्घाटित भएको लगभग पाँच वर्ष भयो। त्यसपछिबाट हालसम्मका उहाँका मन्त्रसम्बद्घ कृति र कृत्यहरू हेर्दा प्रतीत हुन्छ— उहाँ एक अद्वितीय मन्त्रज्ञाता मात्रै हैन, एक ऋषितुल्य मन्त्रद्रष्टा हुनुहुन्छ। यो तथ्य त्यस बेला प्रत्यक्ष देख्न पाइयो जब उहाँले एक नयाँ मन्त्र लेखेर दिनुभयो। मन्त्रसँगै लेख्नुभयो— सबै मिलेर यसको १००८ पटक जप गर्नू। त्यो मन्त्र थियो— ॐ आदिमणि मन्त्र अर्थात् ॐ आदि अनादि आदिव्याय परमज्योति आराध्याय ॐ नमो नमः। ।

यसले के दर्शाउँछ भने बालगुरुभित्र मन्त्रज्ञान मात्रै हैन, मन्त्रद्रष्टा बन्ने दैवीसामथ्र्य छ। यो मात्रै हैन, बालज्ञानीले अनेकौं मन्त्र रच्नुभएको छ। एक सन्दर्भमा आफू स्वयंको परिचयसमेत मन्त्रद्वारा यसरी दिनुभएको थियो
वचन मधुरम ज्योति शान्ति ॐ
काया मनुष्यम दृष्टि चतुरम्
शक्ति अनन्यम्
नाम आदित्यम्। ।

नेपाली ग्रन्थाकाशमा केही महिनाअगाडि एउटा पुस्तक थपिन गयो जसको नाम थियो, ‘कलियुगको आदित्य ज्योतिपथ’। उपलब्ध तथ्य र जानकारीअनुसार सर्वाधिक कम उमेरको व्यक्तिले रचना गरेको यो नै विश्वको पहिलो पुस्तक हो। पुस्तकसँग अरू पनि आश्चर्य जोडिएको छ। केवल नौ वर्षका लेखकले लेखेको पुस्तक वैदिक ग्रन्थजस्तो प्रज्ञामय छ। आश्चर्य यतिमा सकिँदैन। पुस्तकसँग जोडिएको अर्को आश्चर्य के हो भने आध्यात्मिक रहस्यै रहस्यले भरिएको यस पुस्तकका लेखक कहिल्यै विद्यालय जानुभएको छैन। र, कहिल्यै पनि र कुनै पनि गुरुबाट अक्षर सिक्नुभएको छैन।

आश्चर्यको सिलसिला अझै लामो छ। यी कान्छा लेखक बालज्ञानी मुखले बोल्न सक्नुहुन्न। सामान्य नजरमा उहाँको शारीरिक अवस्था अपूर्ण किसिमको छ। हातखुट्टा सबल व्यक्तिका जस्ता समर्थ छैनन्। शारीरिक संरचना पनि परिपूर्ण छैन। तर उहाँको ज्ञान र ध्यानको गहिराइ भने अद्भुत, अकल्पनीय र अलौकिक किसिमको छ।

पुस्तक सम्पादनको अन्तिम अवस्थामा पुगेको थियो। छपाइका लागि प्रेसमा जानुपूर्व पुस्तकको अन्तिम सम्पादन बालज्ञानी आफैंले गर्ने संकेत दिनुभयो। सम्पादन समूहका व्यक्तिहरू उहाँसँगै बस्यौं। हेर्दाहेर्दै १६५ पेजको पुस्तक उहाँले तीन घण्टामै सम्पादन गरिदिनुभयो। त्यो दृश्य अलौकिक थियो। एक पेज सम्पादन गर्न एक मिनेट पनि लाग्दैनथ्यो। छुटेका प्रसंगहरू मिति र समयसहित सच्याइदिनुहुन्थ्यो। उहाँको सम्पादन एक सिद्धहस्त लेखक वा सम्पादकको जस्तो परिपूर्ण थियो। बालज्ञानीको यो अद्वितीय सामथ्र्यलाई अलौकिक नभनेर के भन्ने ?

बालज्ञानी आदित्यका परिचयका आयाम अनेक छन्। जीवन र व्यवहारका कुनै पनि विषयमा उहाँको ज्ञान अदभुत किसिमको छ। आठ–नौ वर्षको बालकले संसारभरि कतै नदेखिएको नसुनिएको विलक्षण किसिमको मन्दिर बनाउन सक्छ भनेको सुन्दा जोकसैलाई अचम्म लाग्छ। तर यो साक्षात् सत्य हो। नामकरणसमेत बालज्ञानी आफैंले गरेको यो अद्भुत मन्दिरको नाम हो— त्रि–गजुर महादेव मन्दिर। यतिखेर यस त्रि–गजुर शिवालयको चर्चा सर्वत्र छ।

अत्यन्तै दुर्लभ ढाँचामा बनेको यस मन्दिरको सम्पूर्ण अवधारणा र डिजाइन बालज्ञानी आदित्यकै हो। सुन्दा अपत्यारिलो लाग्छ तर सत्य आफ्नै आँखाले देखेपछि विश्वस्त हुनैपर्छ। मन्दिर निर्माण गर्ने आरम्भिक इच्छा बालज्ञानीले यसरी पोख्नुभएको थियो, ‘म एउटा अद्भुत र अलौकिक मन्दिरको निर्माण गर्न चाहन्छु। तिमीहरू सबैको साथ र सहयोग चाहिन्छ। जुन मन्दिरले देश र हामी सबैलाई विश्वमा चिनाउने छ। ’ यही त्रि–गजुर महादेव मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा आगामी चैत ३० गते रामनवमीका दिन बिहान ८ः१७ बजे हुँदै छ।

मन्दिर निर्माण अवधिमा अनुभूत दृश्य र अनुभव असाध्यै विचित्रका छन्। एकपटक निर्माण कार्यमा जुटेका प्राविधिक र केही शिल्पकारले बालज्ञानीसँग सोधे— गुरु ! मन्दिरभित्र प्राणप्रतिष्ठित गर्नलाई कुँद्न लगाइएको मुख्य शिवलिंगको चार मुखाकृति कुन–कुन हुनेछन्् ? बालज्ञानीले तत्कालै लेखेर दिनुभयो— पूर्वको शान्ति, पश्चिमको प्रेम, उत्तरको दया, दक्षिणको क्रोध। उपस्थित सबै निःशब्द भए।
रहस्यमय स्मारक त्रि–गजुर शिवालयलाई समग्रमा कस्तो बनाउने ? उपस्थित सबैलाई उत्प्रेरित गर्दै बालज्ञानीले लेख्नुभयो— मेरो पहिलो मन्दिर हो जसलाई यस्तो बनाऊ कि प्रत्येक नागरिकले एकपटक हेर्ने, दर्शन गर्ने इच्छा राखोस््। यस भूमिको शान बनोस््।

यी र यस्ता तमाम प्रसंग बताउँछन्, बाल आदित्यभित्र एक सिद्धहस्त इन्जिनियर सक्रिय छ। मन्दिरहरू धेरै बन्छन्। त्यसै पनि राजधानी काठमाडौं मन्दिरै मन्दिरको सहर हो। तर यो मन्दिर वास्तवमै अभूतपूर्व छ। आध्यात्मिक ऊर्जाले सुसम्पन्न मन्दिर बनाउने बालज्ञानीको दैवीय कौशल र संकल्पना यसलाई हेरेपछि स्वतः उजागर हुन्छ। एकपटक बालज्ञानीले लेख्नुभयो, ‘यो मन्दिर मेरो जीवनको एक अंश चिनाउने आस्थाको केन्द्र हो। शिवात्माको तन्त्र विद्यादेखि मृत्यु मोक्ष प्राप्त हुने स्थल, हर अशान्तिलाई शान्त राख्ने केन्द्र, हर अशक्त बिरामीको मल्हम यस शिवालयको माटोमा छ। मात्र शुद्ध भावले यस क्षेत्रमा प्रवेश गरे हर समस्याको सरल उत्तर पाउने यो पुण्यभूमि सारा जगत्मा चिनिने छ। ’

मन्दिर निर्माणको सिलसिलामा एकपटक बालज्ञानीले शिल्पकारहरूलाई लेखिदिनुभएको यो मन्त्र उनीहरूको जीवनको मन्त्रझैँ बनेको छ, ‘ढुंगा ढुंगा नै हो, त्यसमा जीवन दिने काम कलाकृतिद्वारा गरिन्छ। ’
त्रिगजुर शिवालयको निर्माण कार्यभित्रका बालज्ञानीका प्राविधिक निर्देशनहरू अत्यन्तै अकल्पनीय छन्। मन्दिरको सम्पूर्ण वास्तुशिल्प, यसको लम्बाइ, उचाइ, चौडाइदेखि लिएर मन्दिरमा स्थापित गजुर, त्यसलाई चाहिने उपकरण, धातु, काठ, जस्ता भौतिक संरचनाको इन्च–इन्च ढाँचा उहाँले नै दिनुभएको उहाँद्वारा लिखित दस्तावेजहरूमा देखिन्छन्। यहाँसम्म कि, निर्माणलाई चाहिने सम्पूर्ण सामग्री जस्तो कि मूर्ति, गजुर, रङरोगन, काठपात, इँटा, बालुवाको ठेक्का कसलाई र कति मूल्यमा दिँदा उचित हुने त्यसको एक–एक निर्णय पनि बालज्ञानीकै हो।

मन्दिरभित्रको भित्तामा केको तस्बिर राख्ने भनी सोध्दा उहाँले दिशासहित लेखिदिनुभयो— पश्चिम भित्तामा ताण्डव नृत्य गरेको शिवरूपको चित्र र शक्तिस्वरूपमा पार्वती माताको विचित्रको महाकाली रूप। यी दुवै तस्बिर अहिले मन्दिरभित्र भित्तामा टाँसिएको देख्न सकिन्छ।

मन्दिर निर्माण विषयमा बालज्ञानी आदित्यको परिपूर्ण कौशल देख्दा लाग्छ— उहाँ अथाह आध्यात्मिक क्षमताका धनी हुनुहुन्छ र यो उहाँको अलौकिकताको एउटा झलक मात्रै हो। बालज्ञानी आदित्यभित्र सन्निहित अन्य प्रतिभा र सामथ्र्यको निरूपण गर्न यो सानो लेखमा सम्भव छैन। ध्यान, ज्ञान र साधनाका विषयमा बालज्ञानीको अन्तप्र्रज्ञा बडो विचित्रको देखिन्छ।
‘मृत्युलाई साधनाले जित्नुपर्छ’, ‘कुविचारको यमराज ध्यान’, ‘साधकलाई मृत्यु प्रिय तर जीवन कठिन लाग्छ’— यी र यस्ता तत्त्वबोधयुक्त शब्द लेख्ने बालज्ञानीको लेखन कौशल त्यत्तिकै अलौकिक छ। कहिल्यै विद्यालय नगएको एक बालकले प्रयोग गर्ने शब्द, भाषा र त्यसको तŒव, सत्व अनि मर्मको गहिराइ अवर्णनीय छ।
उहाँ अनेक भाषा बुझ्नुहुन्छ र लेख्नुहुन्छ। विषयविज्ञताका दृष्टिले भन्नुपर्दा हालसम्म बालज्ञानीद्वारा लिखित विषयवस्तु जीवन र जगत्का सबैजसो क्षेत्र र विधासँग सम्बन्धित छन्। अवसर, आवश्यकता र प्रसंगअनुसार उहाँको कलमले नछोएको कुनै क्षेत्र छैन। चार वर्षको उमेरदेखि नै विशेष एवं कठिन किसिमका ध्यान, समाधि र अज्ञातबास साधनाहरूको प्रयोग गर्दै आउनुभएका उहाँ उक्त प्रयोगहरूबाट प्राप्त अमृततुल्य ऊर्जा र अनुभवलाई शब्द दिने काम गर्नुहुन्छ। बालज्ञानी आदित्यद्वारा अभिव्यक्त उद्गार, विचार, वाणी, अनुभव र लेखनशैलीलाई विश्लेषण गर्दा उहाँको लेखन आध्यात्मिक क्रान्तिको विचारधाराले ओतप्रोत भएको पाइन्छ। उहाँका कुनै पनि विचारमा भेदभाव, असमानता, द्वन्द्वभाव, विरोधाभास र व्यक्तिवादको गन्ध छैन।

‘सही चेतनाको ज्योति मस्तिष्कमा पु¥याउँदा मनमा बल्ने त्यो दिव्य प्रकाश नै ज्ञान हो। ज्ञानले विज्ञताको संज्ञा दिन्छ। आदर्शवान्, नैतिकवान्, सत्गुणी बनाउँदै भावनात्मक विचारलाई सकारात्मक रूपमा मात्र सोच्ने व्यवस्था ज्ञानले मिलाउँछ। अन्धकार, अन्धविश्वास तोड्ने साथै हर रहस्यसँग पुग्ने साधन नै ज्ञान हो। भौतिक लोभलालचमा रूमल्लिएको यो संसारमा ज्ञान नै त्यो अमूल्य धन हो जो जति बाँड््यो त्यति भण्डारण हुँदै जान्छ। ’ यस्तो सुपरिस्कृत शब्दबिम्बका साथ उच्च कोेटिको भाषामा कलम चलाउने बालज्ञानीको शब्दसिद्घि जान्न उहाँको कृति नै पढ्नुपर्ने हुन्छ।

हिजोआज ध्यान विश्वव्यापी आवश्यकता बनेको छ। खाना शरीरको आहारजस्तै ध्यान चेतनाको आहार हो। ध्यान अभ्यासमा गहिरिन चाहने एकजना जिज्ञासुले बालज्ञानीलाई सोधे— बालगुरु ध्यान कसरी गर्ने होला ? उहाँको जवाफ थियो, ‘मात्र मेरा दुई नयन तिम्रा दुई नयनभित्र फ्युजन गराउने प्रयास गराई हेर, आफैं ध्यान लाग्नेछ। ’

योग र ध्यानको जिज्ञासु विद्यार्थी भएको नाताले मैले केही ध्यानसम्बन्धी जिज्ञासा बालज्ञानीसँग राखेको थिएँ। उहाँको उत्तर थियो, ‘मसँग ध्यानका सयौं व्यावहारिक विधिहरू छन्। मेरो भावलाई बुझ्ने, जान्ने र अरूलाई सिकाउने व्यक्तिको खाँचो छ। ’ विशेष गरी अन्तहीन तनाव र मनोग्रन्थीबाट ग्रसित वर्तमान पुस्तालाई उहाँको ध्यानप्रेरित सन्देश यस्तो छ, ‘योग ध्यान साधना बिनाको सुखद जीवन नियाल्दै छौ भने आँखा भए पनि तिमी अन्धो हौ। सबै अंगमा चेतना भए पनि तिमी शारीरिक रूपले अपांग हौ। ’

ध्यानकुण्ड, ज्ञानकुण्ड र मोक्षकुण्ड निर्माण गरी सबैलाई त्यस मार्गमा हिँडाउने मेरो लक्ष्य हो भन्ने आशयका पर्याप्त अभिव्यक्ति बालगुरुका छन्। बालज्ञानी आदित्य बेलाबेलामा अज्ञातबास ध्यान साधनामा गइरहनुहुन्छ। ज्ञान प्रकट भएपश्चात् विगत चार वर्षमा गुरु आदित्यले ध्यान, योग, साधना र समाधिमाथि अनेकौं प्रयोग गरिसक्नुभएको छ। ध्यान समाधिका केही गम्भीर र गुप्त प्रयोग पनि उहाँबाट सम्पन्न भएका छन्। साथै ध्यान, साधना र योगका क्षेत्रमा अनेकौं मार्गदर्शन एवं युगसापेक्ष सूत्रसमेत दिनुभएको छ। के यो वर्तमानको अलौकिक सत्य हैन ?


एक सच्चा अभिभावक

क्याप्टेन रामेश्वर थापा 

मेरो मनमा यो संसार विचित्रको छ। यहाँको वस्तुस्थिति स्वार्थमय र आफूकेन्द्रित छ। यसको परिवर्तन हुन जरुरी छ भन्ने लाग्थ्यो। र, अहिले पनि लाग्छ। पेसाले हेलिकोप्टर पाइलट भएपछि रेस्क्यु गर्ने धर्म नै हुन्छ। म त्यही गर्न अति मन पराउने र जसरी पनि रेस्क्यु सफल पार्नुपर्छ भन्ने सोच राख्ने गर्थें। समयको अन्तरालमा देशमा लडाइँ भयो। नेपालीहरू आफूआफूमा लड्न थाले, विदेशी सबै तमासा हेर्न थाले। यी बीभत्स लडाइँ या ‘जनयुद्ध’को म साक्षी बन्न पुगेँ।

यसै सन्दर्भमा विभिन्न नेता, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ पदाधिकारी, प्रशासन तथा सुरक्षा निकायसँग प्रत्यक्ष रूपमा साक्षात्कार हुँदै उनीहरूमध्येका घाइतेलाई बचाउने काम गर्दै आइयो। नेतागण र सुरक्षा संयन्त्रका उपल्लो दर्जाका पदाधिकारीहरू खासै त्यति चिन्तित देखिँदैनथे। तर आमसर्वसाधारण र बिनाकारण लडाइँ लडिरहेका आफ्नै आफ्ना दाजुभाइ, दिदीबहिनीप्रति मेरो श्रद्धा र माया अगाध थियो।

यी र यस्तै उतारचढावका क्रममा मैले बालगुरुबारे सुन्ने मौका पाएँ। सुनिसकेपछि भेट्न आतुर पनि भएँ। त्यो उहाँकै कृपा थियो, मैले उहाँलाई भेट्न पाएँ। पहिलो भेटमै केही समय उहाँको नजिकै बसेपछि मेरो मन केही हलुका भइसकेको थियो। मेरो आत्माप्रतिको खोजाइ र जीवनमा कुनै संरक्षकको खोजाइ पूर्ण भए जस्तो भान भइरहेको थियो।

यति सानो उमेरमा यतिविघ्न राष्ट्रिय, अन्तर्राष्ट्रिय साथै सम्पूर्ण प्राणी जगत्प्रतिको चिन्ता र अभियानप्रति सोच्न सक्ने यी व्यक्ति पक्कै अलौकिक शक्ति हुनुहुन्छ भन्नेमा द्विविधा भएन। उहाँले आपूmलाई ‘म भगवान् होइन, शान्तिदूत हुँ’ भन्ने उद्गार व्यक्त गर्नुभएपछि त झनै मेरो अनुमान स्पष्ट नहुने कुरै भएन। सोही भेटमा मैले मेरो वर्तमान जीवन, मैले विगतमा बेहोर्नु परेका समस्या र अब भविष्यमा मैले गर्नुपर्ने कुराको संक्षिप्त मार्गनिर्देशन पाएपछि त म उहाँप्रति जीवनभर ऋणी हुने नै भएँ।

दुईजना पूर्वप्रधानमन्त्री र बहालवाला एकजना प्रधानमन्त्री समेतलाई राखेर उहाँहरूलाई बालगुरुले दिनुभएको सल्लाह र सुझाव आज स्पष्ट रूपमा प्रमाणित भइसकेको छ। मलाई उहाँले धेरै ऋणी बनाउनुभएको छ। उहाँले मलाई शिष्य बनाएपछि झन् उहाँको अभिभावकत्व प्राप्त भएको महसुस हुन्छ। राम्रो काम जतिसुकै गाह्रो भए पनि गर्न मन लाग्छ र नराम्रो काम केही भयो भने उहाँले थाहा पाइहाल्नुहुन्छ भन्ने अनुभूति हुन्छ। त्यसैले कुनै पनि नराम्रा काम गर्न आँटै आउँदैन।

यो संसारको संरक्षण गर्नुका साथै समाज, राष्ट्र र सारा जगत्मा सुखमय वातावरण निर्माण गरी प्राणी मात्रको हितका खातिर उहाँको उत्पत्ति भएको मलाई अनुभूति हुन्छ। ॐ आदि। अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार