बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • पीडामा मल्हम लगाऊ, नौटंकी होइन

पीडामा मल्हम लगाऊ, नौटंकी होइन

  • बिहिबार, चैत्र २१, २०७५
पीडामा मल्हम लगाऊ, नौटंकी होइन

चमिना भट्टराई

करिब तीन मिनेट आएको चर्को आँधीले त्यहाँका सयौँ स्थानीयको जिन्दगी र सपनामाथि निर्मम प्रहार भएको छ । साँझको आँधीले खण्डहरमा परिणत गरेको गाउँ अझै तंग्रिएका छैनन् । तर, राहत र उद्धारका नाममा भएका दृश्य भने सोचेभन्दा धेरै फरक छ । पीडितले अनुभूति गर्ने गरी राहतको व्यवस्था होस नौटंकी गरेर फोटो प्रदर्शन गर्ने काम रोकियोस् ।

आइतबार साँझ एक्कासि आएको आँधीहुरीबाट बारा जिल्लााको दक्षिणी भेगमा पर्ने फेटा गाउँपालिका–१, भलुही, भरबलिया, पुरैनियामा बढी क्षति पुगेको छ । अधिकांश घरहरूमा क्षति पुगेका छन् । हुरीका कारण मानवीकय मात्रै होइन धेरै नै भौतिक संरचनाको क्षति भएको छ हुरीले पक्की घर भत्काउनुका साथै विद्युत्का पोल, रूखहरूसमेत ढलेका छन् ।

हुरीको असर अन्य गाउँमा समेत परेको छ । त्यो पीडा भोग्नेका लागि जति कष्ठकर छ त्यतिकै पीडा चित्र र स्थलगत हेर्नेलाई पनि भएको छ । यति वेला हजारौँ मान्छे खुल्ला आकाश मुनी अनेक प्रकारका समस्याले छटपटाइरहेका छन् । सयौँ अस्पतालको शैयामा मृत्युसँग पौँठेजोरी खेलिरहेका छन् । अस्पतालको शैयामा छटपटाइरहेका कयौँलाई आफ्नो परिवारको बारेमा जानकारीसम्म छैन । सुनिदै छ सिमाका केही घाइते उपचारका लागि भारततर्फ पनि लगिएको छ । उनीहरूको बारेमा अहिले केही जानकारी छैन ।

नेपालीहरूका लागि यस प्रकारको प्राकृतिक विपत्ती पहिलो हो, तर अत्यन्तै कहालीलाग्दो छ फेरी भोग्न मात्र होइन, सुन्न पनि नपरोस् भन्ने मानसिकतामा छन् । साँझको समय घरमा वास बस्ने तर्खरमा बसेकाहरूका गास, बास र आफन्त खोसिएको छ । मर्नेको संख्या २८ पुगे पनि घाइतेको अवस्थाले के होला भन्न सकिने अवस्थामा छैन ।

हावाहुरीको चपेटामा परेका स्थानीय पीडितका लागि राहतको काम सुरु भए पनि अहिलेसम्म पनि त्यसको पर्याप्त प्रभाव देखिँदैन । आज चार रात भयो उनीहरूले खुल्ला आकासमा रात बिताएका । पीडितहरूले शारिरिक मात्रै होइन मानसिकरूपमा समेत पीडा भोगी रहेका छन् । आफन्त, परिवार गुमाएको पीडा ओत लाग्ने वास गुमाएको र घर भित्र र बाहिर भएको अन्न बालि गुमाएको पिडा सुन्ने र हेर्नेलाई जति सजिलो उनीहरूको लागि पक्कै छैन । अझ त्यो भुमरीमा निसासिएको अवस्था उनीहरूले जिवनमा भुल्न कठिन छ ।

हरेक प्राकृतिक प्रकोपपछि राहत बाँड्ने र घोषणा गर्नेको ओइरोे लाग्ने गर्छ । राहत दिनु पुण्य काम हो । तर, त्यो राहत पीडितले पाए पाएनन ? पाउनु पर्नेले कति पाए ? नपाउनु पर्नेले कति ? यस्ता कुनै पनि घटनामा सबैको बरोबर क्षति हुँदैन र अवस्था पनि एकै रहँदैन । त्यस्तो अवस्थामा कोही भोकै हुने र कसैले भोलीका लागि जोहो गर्ने अवस्था आयो भने के होला ? पीडितलाई सरकार र विभिन्न संघ–संस्थाले बाँड्न लगेको त्रिपाल, म्याट, झूललगायतका सामग्रीहरू नक्कली पीडितहरूले लगेको गुनासोसमेत आएको छ । ती सामान वास्तविक पीडितहरूले नपाएको र खाद्यान्न, औषधि उपचारमा पनि समस्या रहेको गुनासो आउनु दुःखद् कुरा हो । एकातिर पीडामा मल्हम लगाने भन्ने अर्कोतर्फ पीडितका नाममा लगिएको राहत उनीहरूले नपाएर अरुकै घरमा जाने अवस्था आयो भने मान्छेको सहयोगी भावनाप्रति मान्छेको विश्वास टुट्छ ।

०७२ सालको भूकम्पमा पनि पीडितका गुनासा धेरै सुन्न प¥यो । एकातिर प्रकृतिले दुःख दिने अर्कोतर्फ दुःखमा मल्हम लगाउँछु भन्नेबाट समान व्यवहार भएन भने त्यतिवेला पीडितको मन अझै दुख्न सक्छ । यति वेला दुःखमा मल्हम लगाने समय हो मन दुखाउने होइन, त्यो काम कसैबाट पनि नहोस । कतिपय ठाउमा दोहो¥याई–तेह¥याई राहत पुगेको र कुनै ठाउँमा राहत नै पुग्न नसकेको सम्मका समाचार आइरहेकाछन् । राहतमा मनोमानी भइरहेको स्थानीय पीडितको आरोप छ ।

यति मात्रै होइन अनुगमनका नाममा जाने भिभिआइपी र उनीहरूका अघि पछि लाग्ने भिडका कारण शारीरिक र मानसिक रूपमा कष्ठ भोगीरहेका लागि थप पिडा भै रहेको छ । अनुगमनमा जानु राम्रो हो । तर, उनीहरूको अनुमगन पछि पीडितले के पाए ? त्यसको प्रभाव के पर्यो भन्ने पनि हेरिनु पर्छ । पीडितका अघि गएर भाव चिल्ला कुरा गर्दैमा समस्या समाधान हुँदैन ।

बाराका हुरीपीडितलाई सबैभन्दा बढी खान र वासको समस्या भएको छ । भग्नावशेषमा ओत लाग्ने ठाउँ खोजिरहेका छन्, भने केही आफन्त छिमेकीका घरमा बस्न बाध्य भएको वेला दलका नेताहरू गएर राहत दिने आश्वासन र घोषणा गर्दै फर्किएका छन् । विभिन्न संघ–संस्था, उद्योगी, व्यापारिक समूहले राहत बोकेर पुगेका छन् । तर, यति धेरै सहयोगी हातहरू हुँदाहुँदै पनि पीडितहरूले तत्काल पाउनुपर्ने राहत पाएका छैनन, यहाँसम्म कि, सरकारी निकायले वितरण गरेकोे पालसमेत हराएको भन्दै पीडितहरू छट्पटिरहेका छन् । उनीहरूका लागि यति वेला आश्वासनभन्दा राहतको आवश्यकता छ ।

यस्तो छ, हालसम्म आएको राहतको प्रतिबद्धता
– कांग्रेस संघीय सांसद– दुई दिनको तलब
– नेकपाका संघीय सांसद– एक दिनको तलब
– राजपा नेपाल– पाँच लाख
– प्रदेश–३ सरकार– एक करोड
– सुदूरपश्चिम प्रदेश सरकार– एक करोड
– प्रदेश २ सरकार– मृतकका परिवारलाई तीन लाख
– शेरबहादुर देउवा– २५ लाख
– डा. बाबुराम भट्टराई– १५ दिनको तलब
– विमलेन्द्र निधिसहित कांग्रेस प्रदेश–२ का सांसद– १० लाख
– एकनाथ ढकाल– ५० लाख
– रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– सोमबार मात्रै दुई लाखभन्दा बढी वितरण ।
– पुष्पकमल दाहाल प्रचण्ड–पाँच लाख
– नेपाल उद्योग वाणिज्य महासंघ–५० लाखलगायत अन्य धेरै संघ-संस्था ।

माथिको विवरण अलवा अझ धेरै संघ संस्थाले राहतको घोषणा गरेका छन् । यो विवरणका आधारमा हेर्ने हो र संघीय सरकारले पनि सहयोग गर्ने हो भने पीडितले गुमाएका आफन्त र भोगेका पीडा त फर्कदैन तर, पीडितहरूले उचित राहत पाउँन सक्छन् । नहुनु भै गयो अब त्यसबाट माथि उठेर सहज रूपमा बस्ने र खाने वातावरण बनाउनुपर्छ । बोलीका राहत पुराणका वेला बोलिए जस्तो मात्रै भएन भने उनीहरूले गुमाएको बास र गाँसको व्यवस्था हुनसक्छ । घोषणा गरिएको सहयोग समयमा नै दिन सकियो भने त्यसले उनीहरूको जीवनलाई सहज बनाउन सक्छ । त्यसतर्फ दाताहरूको ध्यान जाओस् ।

करिब तीन मिनेट आएको चर्को आँधीले त्यहाँका सयौँ स्थानीयको जिन्दगी र सपनामाथि निर्मम प्रहार भएको छ । साँझको आँधीले खण्डहरमा परिणत गरेको गाउँ अझै तंग्रिएका छैनन् । तर, राहत र उद्धारका नाममा भएका दृश्य भने सोचेभन्दा धेरै फरक छ । पीडितले अनुभूति गर्ने गरी राहतको व्यवस्था होस्, नौटंकी गरेर फोटो प्रदर्शन गर्ने काम रोकियोस् ।

कुनै पनि घटनामा बाहिरबाट हेर्दा देखिनु र भोगिनु फरक हुन्छ । काठमाडांैलगायत देशका अन्य भागका सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बाराको आँधी प्रभावित गाउँको चिन्ता जति गरेको देखिन्छ भोग्नेको पीडा कयौँ गुणा बढी छ । राहत बाँडेका फोटा फेसबुकमा हेर्ने हो भने लाग्छ अब सबैले राहत पाइसके समस्या नै छैन । तर, वास्तविक पीडितले गुनासो गर्ने अवस्था किन आयो त्यसतर्फ स्थानीय र केन्द्र सरकारको ध्यान जानुपर्छ ।

राहत लिएर गएका अधिकांश एनजिओहरू जहाजबाट सिमरा एयरपोर्टमा ओर्लने र त्यहाँबाट केही दुरीमा रहेको कम प्रभावित गाउँमा भेटेका मान्छेलाई राहत दिएर सेल्फी खिच्दै वीरगञ्जतिर लाग्ने र घुमेर फर्कने गरेको समाचार आइरहँदा वास्तविक पीडित, पीडाले थिचिएर आहात भएकाको मनमा कस्तो बिझ्दो हो ? यस्तो अवस्थामा वास्तविक प्रभावित परिवारमा राहत कसरी पुग्ला ?

यति मात्रै होइन राहतका नाममा गएका कम्बलहरू वीरगञ्ज हुँदै भारततर्फ निकासी भइरहेको समाचारसमेत आएको छ । सहयोगको नाममा त्यती तल्लो स्तरको खेतीपाती बन्द गरौँ । यस्तै काम भूकम्पका वेला पनि भए । कतिले सहयोगको नाममा भन्सार छुटमा समान भित्र्याएर व्यापारसमेत गरेको घृणीत कार्य त्यो वेला पनि सुन्न परेको थियो । यो भन्दा तल्लो स्तरको कामहरू हुनै सक्दैन । यसलाई दुइ नम्बरी (कालो बजारी) को कामभन्दा हुन्छ ।

यति मात्रै होइन । सहयोगको नाममा धर्मको प्रचार गर्ने कुचेष्ठा भएको समाचार बुधबार आयो । यदि साच्चै बाराका ग्रामिण भेगमा हिजो मिलेर बसेका हिन्दू र मुस्लिम धर्मालम्बीहरूलाई राहतका नामका बाइवल वा अरू कुनै धामिर्क ग्रन्थ बाँड्ने कुचेष्ठा भएको हो भने त्यो अर्को घृणित कार्य हो । गायिका अन्जु पन्तले राहत बाँड्ने भन्दै गाडीमा बाइबल बोकेर जाँदै गएको तस्बिर र समाचार आए । यतिवेला बाराका आँधीपीडितलाई बाइबल वा अरू धार्मिक ग्रन्थ होइन आधारभूत आवश्यकताका सामग्री चाहिएको छ । त्यस बारेमा पन्त वा अरू कसैको त्यसप्रतिको सोचाइ अघि नबढोस् ।

बाराका ती हजारौँ पीडितले समयमा नै राहत पाउनुपर्छ । राज्य भएको र आफू यो देशका नागरिक भएकाले राज्यले केही गरिरहेको छ भन्ने अनुभूति उनीहरूले गर्न पाउनुपर्छ । त्यसतर्फ सम्बन्धीत निकायको ध्यान जाओस् । उनीहरूका लागि ओत लाग्ने वास र गाँस राज्यले व्यवस्था गरोस् । कुनै संघस्थाले वास स्थान बनाइदियोस् भन्ने आसमा बाराका आँधीपीडित बस्न नपरोस् ।

चर्चामा

सम्बन्धित समाचार