सोमवार, मंसिर २०, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • मनलाई नियन्त्रण गर्नु सजिलो नभएपनि असम्भव होइन

मनलाई नियन्त्रण गर्नु सजिलो नभएपनि असम्भव होइन

  • सोमवार, चैत्र १८, २०७५
मनलाई नियन्त्रण गर्नु सजिलो नभएपनि असम्भव होइन

बाबुहरि ज्ञवाली

मानव मन स्वभावैले अत्यन्त चञ्चल र अस्थिर हुन्छ । मानवीय भावनाहरु, वातावरण तथा परिस्थितिले उसलाई क्रिया तथा प्रतिक्रियाको लागि प्रेरित गरिहेको हुन्छ । त्यसैले समयमै यसलाई नियन्त्रणमा लिनु पर्दछ । ईश्वर चाहनु हुन्न, ‘मानिस संसार देखिनै विमुख बनोस्’, परन्तु मानव जीवनको अन्तिम लक्ष्यलाई नै विर्सेर यसैमा रुमलियोस् भन्ने पनि ईश्वरीय चाहाना होइन ।

मनुष्य एक कर्मशील प्राणी हो । ऊ आफ्ना कर्महरु शरीरले होइन मन तथा बुद्धिले गर्दछ । सांसारिक विषय वस्तुतिर आकर्षित मनलाई त्यतातिरबाट फर्काएर ईश्वरतिर लगाउनु उसको कर्तव्य हो । मन फेरि पनि विषयवस्तु तिरै जान खोज्छ, त्यसलाई तानेर ईश्वर तिरै लगाउनु मानवको दायित्व हो । बारम्बारको प्रयासबाट अस्थिर एव्म चंचल मन नियन्त्रणमा आउन सक्छ । यो कार्य त्यति सजिलो छैन तर पनि बारम्बारको अभ्यास र प्रशिक्षणबाट सम्भव छ ।

मानव मनको स्वभाव बडो विचित्रको छ । जवसम्म मानिसले सांसारिक काम काजहरु गरिरहेको हुन्छ, तवसम्म उसको मनले यी सांसारिक कुरा हुन् भन्ने कुरा सम्झदैन परन्तु जब ऊ एकान्तमा बसेर ईश्वरलाई सम्झने प्रयास गर्दछ त्यस अवस्थमा उसको मनमा अनेकौं सांसारिक कुराहरुको सम्झना हुन थाल्दछ । उसको मन अव आफ्नो तथा परिवारका दैनिक आवश्यकताहरुको पूर्तिको उपायको लागि खेत बारी, कार्यालय, कारखाना बजार आदि स्थान तिर दौडिरहेको हुन्छ । त्यस कारण त्यस्तो चञ्चल मनलाई नियन्त्रणमा लिन मन जहाँ जहाँ जान खोज्छ त्यहाँ त्यहाँ ईश्वरलाई नै देख्ने गर्नुपर्छ, किन कि ईश्वर सर्वव्यापक र सर्व सत्तात्मक हुनुहुन्छ ।

कुनै पनि कुरामा सफलता प्राप्त गर्न दुई कुराको आवश्यकता पर्दछ – एक विश्वास अर्को अभ्यास । यी दुवैको अवलम्वन गर्नाले मानिसलाई आफ्नो कार्यक्षेत्रमा सफलता मिल्दछ र यसबाट ऊ भय, शोक चिन्ता आदिबाट मुक्त हुन्छ ।

भक्तको उद्देश्य ईश्वरलाई आफ्नो बनाउनु हो, म ईश्वरको हुँ भन्ने हद विश्वासका साथ ईश्वरको चिन्तन मनन गर्नु हो । त्यस्तो अवस्थामा सांसारिक विषयवस्तुको चिन्तनको रुपमा मन भित्रबाट अनेकौं विकारहरु बाहिर निस्कन्छन् । त्यस्तो हुनुको कारण मनका फोहोर मैलाहरु हटेर मन निर्मल बन्दैछ भन्ने हो । सांसारिक कार्यहरु गर्दा भित्रका फोहोर मैलाहरुले बाहिर निस्कने मौका पाएका हुँदैनन् । जव सांसारिक कार्यहरु छोडेर एकान्तमा बसेर ईश्वरको ध्यान गरिन्छ त्यस अवस्थामा मनका विकार बाहिर निस्कन थाल्दछन् ।मन तथा बुद्धि सदैव ईश्वरको चिन्तनमा मग्न रहन्छन् भने स्वभावतः इन्द्रियहरु पनि त्यसमा सहयोगी बन्दछ । इन्द्रियहरुका कार्यहरु सामान्यतया बाहिर देख्दा यथावत् देखिए तापनि भक्तको चेतना बदलिएको हुन्छ । मन र बुद्धि भगवत चिन्तनमा लीन भएको अवस्थामा इन्द्रियहरु स्वतः ईश्वर भक्तिमा लाग्दछन् । श्रीमद्भागवतमा भक्तिका विधाहरुको वर्णन गर्दै भनिएको छ ।

श्रवणं कीर्तनं विष्णोः स्मरणं पादसेवनम् । 
अर्चनं बन्दनं दास्यं सख्यामात्म निवेदनम् ।। 

यहाँ इन्द्रियहरुले सुन्ने, कीर्तन गर्ने, संझने, पाउको सेवा गर्ने, पूजा गर्ने, स्तुति गर्ने जस्ता कार्यहरुलाई ईश्वर भक्तिको रुपमा लिइएको छ ।

जुन मानिस भगवान्मा आश्रित छ, उसलाई शारीरिक, मानसिक, दैविक, मानुषिक तथा भौतिक दुःखले कदापि दुःख पुर्‍याउन सक्दैनन् ।

मनलाई एक निश्चित स्थानमा केन्द्रित गर्नका लागि उपयुक्त उपाय ईश्वरको ध्यान तथा भक्ति नै हो ।

मन एवं मनुष्याणां कारणं बन्धमोक्षयोः ।

अर्थात् मन नै मानिसको बन्धन र मोक्षको कारण हो । त्यसैले मनलाई ब्रह्मरुप जानेर ईश्वरको भक्ति उपासना गर्नुपर्छ ।

मनलाई नियन्त्रणमा लिने सबभन्दा सजिलो उपाय मानिस उठ्दा बस्दा, खाँदा पिउँदा, जे काम गर्दा पनि जुन वस्तुमा उसको दृष्टि पर्छ अथवा जुन वस्तु आफ्नो सामुन्ने आउँछ त्यसैमा मनलाई एकाग्र गर्नु हो । यस प्रकारको अभ्यासबाट मानव वृत्तिहरुमा एकाग्रता हुने स्वभाव वस्दै जान्छ । यसरी उसले आफ्नो इच्छा अनुसार कुनै पनि विषयमा आफ्ना वृतिहरुलाई एकाग्र गर्न सक्छ । मनलाई एकाग्र गर्न मनुष्य  बलवान् मनुष्य ठहर्छ, ऊ कर्मयोगी बन्दछ ।

कुनै पनि कुरामा सफलता प्राप्त गर्न दुई कुराको आवश्यकता पर्दछ – एक विश्वास अर्को अभ्यास । यी दुवैको अवलम्वन गर्नाले मानिसलाई आफ्नो कार्यक्षेत्रमा सफलता मिल्दछ र यसबाट ऊ भय, शोक चिन्ता आदिबाट मुक्त हुन्छ ।

भक्तलाई ईश्वरको चिन्तन गर्दा कठिनाईहरु आइपर्नुको मुख्य कारण उसले आफूलाई सांसारिक मानेर ईश्वरको चिन्तन गर्नु हो । यसले गर्दा उसको चिन्तन स्वतः सांसारिक हुन्छ र ईश्वरको वास्तविक चिन्तन हुन पाउँदैन ।

यदि उसले आफूलाई म ईश्वरको हुँ भन्ने दृढ विश्वासका साथ चिन्तन गर्दछ भने उसको चिन्तन स्वाभाविक बन्छ । जवसम्म एक परमात्माको सत्ता बाहेक मानिसले अर्को सत्ता पनि मान्दछ तवसम्म उसको मन सर्वथा विरुद्ध हुन सक्दैन । आफूमा अर्कोको सत्ता रहेसम्म रागको सर्वथा नाश हुँदैन र रागको सर्वथा नाश नभईकन मन सर्वथा निर्विषय हुन सक्दैन । राग रहँदासम्म मनको सीमित विरोध मात्र हुन्छ जसबाट लौकिक सिद्धिहरुको प्राप्ति त हुन्छ वास्तविक तत्वको प्राप्ति हुँदैन । त्यसैले मनको सर्वथा निशेध अर्को सत्ता नमान्नाले मात्र सम्भव छ ।

चर्चामा

सम्बन्धित समाचार