रुकुम पूर्वकी एक वडा सदस्यको लडेर मृत्यु भएको छ। भूमे गाउँपालिका वडा नं. ४ की ५८ वर्षीया धनशरी कामीको लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गजुशिद्धि बज्राचार्यले बताए।
बुधबार बेलुका ४ बजेतिर काँडा भन्ने स्थानमा पैदल हिँडिरहेकी वडा सदस्य कामी लडेर गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र काँडा तर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको डिएसपी बज्राचार्यले जानकारी दिए। घटनाबारे प्रहरीलाई भने राति अबेर ११ बजेतिर मात्रै खवर प्राप्त भएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बिहीबार हुने भनिएको वडा कार्यालयको बैठकमा सहभागी हुन भनेर वडा सदस्य कामी बुधवार नै सजिलोको लागि काँक्ररीस्थित छोरीको घर जान भनि हिडेकी थिइन्। वडा सदस्य कामीको शव उनकै घरमा राखिएको र अन्तेष्टिको तयारी गरिएको प्रहरीले बताएको छ। –सेताेपाटी बाट