• होमपेज
  • देश
  • नेकपाका नेता कर्ण थापा भन्छन्, ‘ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव’

नेकपाका नेता कर्ण थापा भन्छन्, ‘ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव’

  • मङ्लबार, बैशाख १६, २०७७
नेकपाका नेता कर्ण थापा भन्छन्, ‘ओलीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव’

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैबाट ओलीको बर्हिगमन आन्तरिक रुपमा एउटा विकल्पका रुपमा अगाडि सारेका बेला नेकपा नेता तथा शुदुरपश्चिम अध्यक्ष कर्ण बहादुर थापाले आफ्नाे टिप्पणी सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

ओलीनिकट मानिने नेकपा नेता कर्णबहादुर थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो ।’उनले सकिँदा केपीमात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मुर्खताभन्दा अरु के नै हुन सक्छ भन्ने प्रश्न उठाउँदै लेखेका छन्, ‘विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’

ओली निकट नेता, जो आफैं पनि पछिल्ला घटनामाथि संवादमा जुटेका छन्, उनले नै ओलीको राजीनामाको प्रस्ताव सार्वजनिक भएको भनेर विषय उठाएपछि यो विषय आन्तरिक छलफलमा आएको अनुमान गर्न थालिएको छ । सोमबारमात्रै पनि प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । पछिल्लो केही दिन यता नेकपाभित्र समूहगत र व्यक्तिगत भेटघाट बाक्लिएका छन् ।

नेता थापाले विभिन्न कमी र कमजोरीलाई सच्चाउदै एकताबद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आम नेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मूल चाहाना रहेको पनि बताएका छन् । उनले सबैपक्षबाट कमजोरी भएको र त्यसलाई सच्चाएर जान सकिने तर कसैले आफू पानमाथिको ओभानो छु भन्ने भ्रम पाले त्यो चाहिँ घातक हुने उल्लेख गरेका छन् । ‘कँहीकतै कमजोरी छैनन् भनेर कसैले भनेको छैन । कमजोरी हटाउनु पर्दछ भन्नेमा विवाद नै छैन तर विभिन्न घटनालाई उछालेर जनता-कार्यकर्तालाई घटनापछि कुदाउने र आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबैका लागि घातक हुन्छ,’थापाले भनेका छन् ।

नेता थापाले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र राजनीतिक नभइ कार्यशैलीगत भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेकपाभित्रको हालको विवाद कार्यशैलीगत हो । वैचारिक र राजनीतिक विवाद महाधिवेशनबाट हल गर्ने विषयमा आमसहमति भएकै छ । यो सरकार बनेकै दिनदेखि केही नेतास्तरका मानिस निहुँ झिकिझिकी सरकार र पार्टी नेतृत्वको विरुद्धमा विपक्षी पार्टीभन्दा चर्को स्वरले विरोध अभियान चलाउँदै आएका छन् ।’

चर्चामा

सम्बन्धित समाचार