तानसेन नगरपालिका–१४ स्थित पर्यटकीय गन्तव्यस्थल ऐतिहासिक अर्गली दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर जबराबाट विक्रम संवत् १९९७ मा निर्माणकार्य शुरु भएको त्याे दरबार अहिले भग्नावशेषमा बदलिएको छ भने प्रचार–प्रसार हुन नसक्दा पर्यटकका लागि आकर्षक केन्द्र बन्न सकेकोे छैन ।
तानसेन नगरपालिकाका प्रमुख अशोक शाही यस ऐतिहासिक धराेहर अझै व्यक्तिको नाममा रहेकाले सार्वजनिक हुनुपर्ने भन्दै सोका लागि जग्गाधनीसँग विभिन्न चरणमा कुराकानी भइरहेको बताउनुभयो । दरबार विक्रम संवत् २००१ सालमा निर्माण सम्पन्न भएको थियो । पवित्र तीर्थस्थल रिडी, कालीगण्डकी नदी, ऋषिकेश मन्दिर नजिक हुने हुँदा अर्गलीमा दरबार निर्माण भएकोे स्थानीयवासीको भनाइ छ । यो दरबार पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम–उत्तरमा छ ।
अर्गली छाडेर त्यहाँका राणाहरु भारत गएपछि ऐतिहासिक दरबार क्षेत्रको संरक्षण हुन नसकेको हो । स्थानीय बासिन्दा नेत्रप्रसाद पाण्डेयका अनुसार व्यक्तिका नाममा दरबार हुँदा उचित रूपमा संरक्षण गर्न नसकिएको बताउनुभयो । दरबारको स्वामित्वसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । स्थानीय बासिन्दाले ऐतिहासिक दरबार मर्मत र संरक्षणका लागि पाउनुपर्ने माग गर्दै आएका छन् । स्थानीय त्रिभुवन माविले दरबारको केही भाग प्रयोग गरे पनि अधिकांश भाग भत्किने अवस्थामा छ । दरबार क्षेत्रमा सार्वजनिक शौचालय मात्रै सञ्चालित छ ।
तानसेन–रिडी सडकखण्डको अर्गलीदेखि ७०० मिटरमाथि टाकुरामा अर्गली दरबार छ । पहिला हुलाकीमार्गका रूपमा परिचित थियो । ऐतिहासिक र पर्यटकका लागि राम्रो गन्तव्य बनाउन सकिने प्रशस्त सम्भावना यस क्षेत्रमा छ । बाथरुम, बैठककक्ष, पल्टन राख्ने स्थान, राजाका सुसारेकक्ष दरबारमा देखिन्छ ।
जुद्ध शमशेरले प्रधानमन्त्री पद त्याग गरी सन्यासी जीवन बिताउने अभिप्रायले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा दरबार बनाएका थिए । दरबार निर्माणका क्रममा पश्चिम प्यूठानदेखि अर्घाखाँचीसम्मको जनश्रमदानद्वारा निर्मित गरिएको दरबार निकै आकर्षक रहेको मानिन्छ ।
दरबार बनाउँदा पाल्पा, गुल्मी र स्याङ्जाका जनताको समेत योगदान छ । दरबारमा प्रयोग भएको इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामग्री उच्च गुणस्तरको थियो । २००२ मंसिर १४ गते जुद्ध शमशेर गेरु वस्त्रमा अर्गली आएका थिए । उनी कान्छी श्रीमती गम्भीर कुमारीका साथ त्यही अर्गली दरबारमा विक्रम संवत् २००७ मा बसोबास गरेका थिए । कालीगण्डकी नदीको रिडीघाटको नित्य, स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित विक्रम संवत् २००७ सम्म जुद्ध शमशेर अर्गली दरबारमै बस्थे ।
जुद्ध शमशेरकी छोरी जनकराज्यलक्ष्मीले विसं २०५८ जेठ १ मा अधिकृत वारेसनामा गरी आफ्ना नाति सञ्जयविक्रम शाहका नाममा पास गरेको खुलेको छ ।
सञ्जयविक्रम शाहले विसं २०६२ साउन ५ गते श्रीमती पुनमका नाममा जग्गा नामसारी गरिदिएको भेटिएको हो । मालपोत कार्यालयका अनुसार जुद्ध शमशेरकी छोरी जनक राज्यलक्ष्मीले वारेसनामा बदर भएको भनी प्रमाण ल्याएर २०६३ सालमा आफ्नो नाममा जग्गा फिर्ता ल्याएको छ ।
राज्यलक्ष्मीले २०६४ सालमा दरबारको जग्गा जिटी टेडर्स एड हाउजिङ कम्पनी प्रालि, पुल्चोकको नाममा १५ लाख रुपैयाँमा बेचिएको मालपोलमा उल्लेख छ । राज्यलक्ष्मीले झुक्याएर सञ्जयलाई दिएको जग्गा आफ्नो नाममा ल्याएर फेरि कारोबार भएको मालपोत कार्यालयको दाबी छ । पुरम र हाउजिङ कम्पनीबीच विवाद छ ।
विक्रम संवत् १९९७ सालमा जुद्ध शमशेरले नेपाल प्रजा परिषद्का तीन क्रान्तिकारी प्रजातन्त्रवादीको हत्या गरी बदनामी कमाउन पुगे । दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ, स्वतन्त्र नागरिक अधिकारवादी शुक्रराज शास्त्रीको पाशविक हत्या भएको थियो ।
हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्ध शमशेर राजर्षि महाराज भएर गद्दी छाडे । भारतको बनारस जाने परम्परालाई तोडेर जुद्ध शमशेर रिडी गएको पाइन्छ ।