• होमपेज
  • राजनीति
  • विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका, बन्द उल्लंघन गर्ने अरु पनि जलाउने चेतावनी !

विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका, बन्द उल्लंघन गर्ने अरु पनि जलाउने चेतावनी !

  • बुधबार, असार ११, २०७६
विप्लवका कार्यकर्ताले जलाए गाउँपालिका, बन्द उल्लंघन गर्ने अरु पनि जलाउने चेतावनी !

३ करोड क्षति भएको दाबी

कालिकोट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कालिकोटको नरहरिनाथ गाउँपालिका कार्यालयमा आगजानी गरेका छन् ।

मध्यरातको करिव एक बजे नरहरिनाथ गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फुटालेर भित्रै पसेर पेट्रोल खन्याएर आगजानी गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी विनोद शर्माका अनुसार प्रशासकीय अधिकृतको कार्यकक्षको झ्याल फुटालेर कार्यालयभित्र पसी पेट्रोल खन्याएर आगजानी गरेका थिए ।

‘राति स्थानीय बासिन्दा सुतिरहेका बेला गाउँपालिकामा भएको आगजानी इलाका प्रहरी चौकी कुमालगाउँका प्रहरीहरु र स्थानीय नागरिकको सक्रियतामा नियन्त्रणमा आयो । तर गाउँपालिकाको भौतिक तथा अन्य अभिलेख नष्ट भए ।’ शर्माका अनुसार गाउँपालिकामा भएको आगजानी नियन्त्रणमा लिँदैगर्दा नरहरिनाथ गाउँपालिकाको वडा नं. ६ माल्कोटको वडा कार्यालयका सामान तथा कागजात निकालेर जलाए ।

उक्त गाउँपालिका विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको गाउँ हो । विप्लव समूहका कार्यकर्ताले गाउँपालिकाको वडा नं. ५ रुप्सामा रहेको वडा कार्यालयका सामान तथा कागजात पनि जलाएको बताइएको छ । वडा कार्यालयहरु स्थानीय नागरिकको घरमा भाडामा छन् । भवनमा भने कुनै क्षति नपुगेको बताइएको छ ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष धिरबहादुर विष्टले भने अज्ञात समूहले गाउँपालिकामा आगजानी गरेको बताएका छन् । आगलागीबाट तीन करोड बराबरको क्षति भएको बताएका छन् । गाउँपालिकामा रहेको २२ लाखको सोलार सिस्टम, फर्निचर, कम्प्युटर लगायत जिन्सी तथा कागजात गरी झण्डै ३ करोडको क्षति भएको विष्टले बताए ।

अध्यक्ष विष्टले भने एक विज्ञाप्ति नै निकालेर आगजानी गराउनेको खोजी गरी कानुनी कारबाही गर्न माग पनि गरेका छन् । गाउँपालिका उपाध्यक्ष मनसोभा बुढाले भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेका बेला आगलागी गराइँदा सेवा प्रवाह गर्न थप समस्या भएको बताइन् । डिएसपी शर्माका अनुसार आगजानीमा संलग्न भएको आशंकामा कुमालगाउँबाट दुईजना विप्लव समूहका नेता पनि पक्राउ परेका छन् । आगजानीका मुख्य पात्र ठानिएका अर्जुन विकको तिब्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

थप स्थानीय तह पनि जलाउने चेतावनी

विप्लव समूहका जिल्ला नेताहरुले भने सोमबार पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन नरहरिनाथ गाउँपालिकाले अटेरी गरेकाले आगजानी गरिएको बताएका छन् ।

पार्टीले आह्वान गरेको नेपाल बन्दको विपक्षमा उभिएकाले आफूहरुले आगजनी गर्नुपरेको उनीहरुको भनाइ छ । विप्लव समूहका एक प्रभावशाली नेताले भने, ‘बन्दको दिन गाउँसभा चलाएका कालिकोटका अन्य स्थानीय तहहरु पनि जलाउछौँ ।’

विप्लवले घोषणा गरेको बन्दकोको दिन पचालझरना गाउँपालिका, तिलागुफा नगरपालिका लगायतले पनि सभाहरु चलाएका थिए । विप्लव समूहका नेताहरुले बन्द आह्वान गरेको दिन कालिकोटका कतिपय स्थानीय तहमा गाउँसभा तथा नगरसभा स्थगित गराउन लगाएका थिए ।

अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार