बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • “रानीसैन विवाद : तत्काल दोषिलाई पक्राउ गरी शान्ति सुरक्षा कायम गरियोस्‌”

“रानीसैन विवाद : तत्काल दोषिलाई पक्राउ गरी शान्ति सुरक्षा कायम गरियोस्‌”

हुम्लाका सांसद रोकायाको अभिव्यक्तिप्रति आपत्ति

  • शनिबार, जेष्ठ ९, २०८३
सेयर गर्नुहोस् :
“रानीसैन विवाद : तत्काल दोषिलाई पक्राउ गरी शान्ति सुरक्षा कायम गरियोस्‌”

बाजुरा–बाजुराको रानीसैन क्षेत्रमा भएको घटना कुनै सीमा विवाद नभई प्रहरी चौकी रोक्ने दाउ भएको भन्दै तत्काल छानबिन गरी शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ । शनिवार नेपाल भोटे जनजाति सेवा संघले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषिलाई पक्राउ गर्न माग गरेको हो ।

नेपाल भोटे जनजाति सेवा संघले घटनाको विरोधमा नारा जुलुससहित कानुनी प्रक्रिया अगाडि बढाएर दोषिलाई तत्काल कारबाही गर्न माग गर्दै सदरमुकाम मार्तडी बजार परिक्रमा गरेर सिडीओलाई ज्ञापन पत्र बुझाएका हो ।

यहीँ जेठ ३ देखि ५ गतेसम्म हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको कूर घटनालाई हुम्लाका राजनीतिक दलहरुले कुनै मानविय संवेदना समेत नराखी जारी गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त क्षेत्रमा जग्गा धनी पुर्जा लिई बसोबास गर्दै आएको बाजुराका भोटे जनजाति स्थानीय, जनप्रतिनिधि, पर्यटकसहित माथि हुम्लाका ३ सय बढी अराजक समूहले योजनावद्ध रुपमा साङ्घातिक आक्रमण गरी घाइते बनाएको भन्दै भोटे जनजाति सेवा संघले आपत्ति जनाएको छ ।

नेपाल भोटे जनजाति सेवा संघले ज्ञापन पत्रमार्फत भनिएको छ, “यो कुनै सीमा विवाद वा दुई पक्षीय झडप होइन, बरु प्रहरी चौकी स्थापना पश्चात् आफूले गैरकानुनी क्रियाकलाप गर्न पाउँदैनौं भन्दै त्यस क्षेत्रमा कूर र अमानविय भौतिक आक्रमण हो ।” रानीसैन क्षेत्रको लाम्पाटा, च्याचौरमा २०१४ सालदेखि बाजुराका भोटे जातिले तिरो समेत तिरी आफ्‌नो थातथलोको रुपमा स्थापित गरेको भन्दै यो कुनै पनि प्रकारको सीमा विवाद नरहेको स्पष्ट पारेको छ ।

उक्त घटनामा घाइते हिमाली ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ र मीन कुँवरलाई बन्दक बनाई यातना दिई कागजमा जबरजस्ती सहीछाप गर्न लगाउने थला सामुदायिक वनका अध्यक्ष देवराज रावल, सचिव किशोर रावल, वडा सदस्य चन्द्रबहादुर रावल लगायतलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न ज्ञापन पत्रमार्फत माग गरिएको नेपाल भोटे जनजाति सेवा संघका अध्यक्ष जनक भण्डारीले बताए । उनले आक्रमणमा परी घाइतेहरू भएका सम्पूर्णको पूर्ण उपचारको ग्यारेन्टी गरिनु पर्ने बताए ।

यस्तै हुम्लाका सांसद जयपति रोकायाले उक्त घटनाका बारेमा मिडियामार्फत भोटे समुदायलाई “घुमन्ते फिरन्ते” को संज्ञा दिई अपशब्द प्रयोग गरेर आफ्‌नो सम्प्रदायको अपमान गरिएको भन्दै तत्काल सार्वजनिक रुपमा माफी मागी उक्त अपशब्द फिर्ता लिनु पर्ने जनाएको छ । त्यस्तै संघले ज्ञापन पत्र बुझाउँदै घटनामा भौतिक तथा व्यक्तिगत क्षति भएकाले प्रहरी मुचुल्कामार्फत एकिन गरी दोषिबाट क्षतिपूर्ति असुल गरिनु पर्ने, बिच्छ्या देखि रानीसैन सम्मको बाटोमा रहेका काठे पुल भत्काएर आवतजावतमा समस्या उत्पन्न गराएको भन्दै समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरिएको छ ।

यस्तै थला सामुदायिक वन उपभोक्ता समूह खार्पुनाथ २ थाली हुम्लालाई तत्काल खारेज गर्न पनि नेपाल भोटे जनजाति सेवा संघले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्‌दै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले उक्त स्थानीय, जनप्रतिनिधि, सुरक्षाकर्मी पर्यटक लगायतका व्यक्तिमाथि गरिएको आक्रमणप्रति दुःख व्यक्त गर्दै आफू पनि लागिरहेको भन्दै केन्द्रमा पनि छानबिनका लागि उच्च स्तरीय छानबिन समिति बन्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार