बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बडीमालिका जाने पर्यटक संख्या बढे

बडीमालिका जाने पर्यटक संख्या बढे

चर्चामा बडीमालिका

  • शुक्रबार, जेष्ठ १, २०८३
सेयर गर्नुहोस् :
बडीमालिका जाने पर्यटक संख्या बढे

बाजुरा–धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको चर्चा चुलिँदो छ । पछिल्लो समय बडीमालिका जानेको संख्या बढिरहेको छ । प्रधानमन्त्री बालेन शाहले चुनावी प्रचारका क्रममा कैलालीको धनगढीमा ‘स्विजरल्याण्डको बाउ’ बडीमालिका यहीँ रहेको भन्दै अभिव्यक्ति दिएपछि झन् यसको चर्चा चुलिएको हो ।

प्रधानमन्त्री बालेनले बडीमालिका बारेमा अभिव्यक्ति दिएपछि अहिले धार्मिक पर्यटकहरूको संख्या बढिरहेको पदप्रदर्शक (गाइड) नर बहादुर रावल बताउँछन् । सरकारले १०० कार्यसूचीमा पनि बडीमालिकाvलाई समेटेको छ ।

बडीमालिका समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइमा छ । पछिल्ला दिनहरुमा प्रचारप्रसार बढेसँगै यहाँ आउनेको संख्यामा वृद्धि भइरहेको बडिमालिका नगरपालिका नगरप्रमुख अम्मर बहादुर खडका बताउँछन् ।

‘हरेक बर्ष जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजा हुने दिनमा मात्र भक्तजन तथा पर्यटक आउने गर्थे । अहिले सबै समयमा तीर्थयात्रीहरू आइरहेका छन्,’ उनले भने । यहाँको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबाली, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रशिद्ध स्थल हुन् । खेतिबेति क्षेत्रमा परापूर्वकालमा भगवती र मैसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान अहिले पनि यहाँ रहेको किंवदन्ती पाइन्छ । यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् ।

हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्लो समय देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउने क्रम बढेको छ । बडीमालिकाको टुप्पोबाट देखिने अपूर्व हिमश्रृंखला यहाँको अर्को मुख्य विशेषता हो । सफा मौसममा अपी, सैपाल, र विभिन्न हिमशिखर स्पष्ट देख्न सकिन्छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रुपले बडीमालिका पर्यटक र भक्तजन दुवैका लागि अविस्मरणीय गन्तव्य बन्दै गएको छ । बडीमालिका पुग्न कठिन भए पनि त्यहाँको आध्यात्मिक शान्ति, हरियाली पाटन, हिमश्रृंखला र प्राकृतिक सौन्दर्यका अगाडी यात्रा कठिनाइ गौण हुन्छ ।

धार्मिक र पर्यटकीय दृष्टिले बडीमालिकाको महत्व अत्यन्त उच्च भए पनि सरकारी ध्यान अझै पुगेको छैन । सहज पैदल मार्ग, पानी र शौचालयको अभाव, धर्मशाला र बासस्थानको कमी, बाटोमा संकेत चिह्न नहुँदा तिर्थालुहरूलाई कठिनाइ भइरहेको छ । पैदल मार्ग समेत बन्न नसकेका कारण बाटोमै चिप्लियर बर्षेनी दर्शनार्थीहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ भने केहीले अकालमै ज्यान गुमाइ रहेका छन् । गत बर्ष मात्र बडिमालिका बाट फिर्ता हुने क्रममा लडेर २ जनाको मृत्यु भएको थियो ।

दुर्गन्ध र फोहोर व्यवस्थापनको चुनौती समाधान गर्न तथा तत्काल संरक्षण र पूर्वाधार विकासमा राज्यको ध्यान आवश्यक छ । प्रकृतिले दिएको अनुपम उपहार र अलौकिक धार्मिक आस्थाको केन्द्र बडीमालिकाको संरक्षण, प्रवद्र्धन तथा विकासमा राज्यले कदम चाल्न सकेको देखिदैन् ।

बडीमालिकामा पुगेका पर्यटक तथा दर्शनार्थीहरुका लागि अस्थायी स्वास्थ्य सेवा उपलब्धता र व्यवस्थित बासस्थानको विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ । बडीमालिकालाई राज्यले आफ्‌नो स्वामित्वमा लिएर संरक्षण क्षेत्र तथा समिति नै बनाएर भएपनि व्यवस्थित गर्न तथा यसको सम्वद्र्धनका लागि राज्यको ध्यान जानुपर्ने स्थानीयहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार