
बाजुरा, २७ वैशाख–बाजुरामा रक्तदाताको अभाव भएको छ । ब्लड बैंक नहुँदा बिरामीहरुका लागि रगत खोज्दै बजार चाहार्नू परेको छ । रगत अभावमा आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा प्रभावित हुने गरेका छन् । बिरामीका आफन्त रगत खोज्दै भौतारिरहेका हुन्छन् ।
‘जिल्ला अस्पताल बाजुरामा रगत चाहिने गर्भवती, सुत्केरी तथा बिरामी आएमा सेना, प्रहरी र स्वास्थ्यकर्मीहरुलाई गुहार्नको विकल्प रहेको अस्पतालमा सूचना अधिकारी नृपराज गिरीले बताए । ‘रगत दान गर्नुपर्छ भन्ने चेतनाकै कमी छ । रक्तसञ्चार केन्द्र नहुँदा पनि समस्या छ । रगतको आवश्यकता पर्ने बित्तिकै मान्छे बोलाएर दिनुपर्ने हुन्छ । यसले पनि सेवामा असहजता ल्याएको छ, गिरीले थपे ।’
जिल्ला अस्पताल बाजुरामा जटिलयुक्त प्रसुति सेवासँगै अन्य अप्रेसन सेवा पनि सञ्चालनमा छ । ‘अप्रेशन गरेर कुनै महिलाको बच्चा जन्माउनु पर्यो भने रगत आवश्यक पर्छ । त्यसैले पहिला रगत दिने मान्छेको जोहो गरेमा मात्रै अप्रेशनको तयारी हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल बाजुरामा अन्य अप्रेसन सेवा समेत सञ्चालन रहेको छ, अस्पतालमा तीन जना विशेषज्ञ चिकित्सक रहेका छन् । तर अप्रेसन गर्दा रगत नपाउँदा समस्या हुने गरेको छ ।
रक्त सञ्चार केन्द्रको अभावमा जिल्ला अस्पताल बाजुराको सेवालाई प्रभावकारी बनाउन नसकेको स्वास्थ्यकर्मीले बताए । बडीमालिका नगरपालिका ९ का गंग विकलाई रगत आवश्यक पर्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले रगत दिएर ज्यान जोगाएका थिए । अस्पताल बाजुरामा ९० प्रतिशत भन्दा बढी रगत सेना प्रहरी र स्वास्थ्यकर्मीले दिने गरेको अस्पतालले जनाएको छ । एक हप्तामा १० जना भन्दा बढी रगत आवश्यक पर्ने गरेको छ । आवश्यक परेको बेला मात्र आकस्मिक रुपमा रगत खोज्ने गरेका छन् ।
जिल्ला अस्पताल बाजुरा र नेपाल रेडक्रस सोसाइटीमा ब्लड बैंक नहुँदा यस्तो समस्या भएको हो । रेडक्रस सोसाइटीले ब्लड बैंक स्थापना गर्नलाई दुई पटक डि फ्रिज समेत ल्याए, तर सञ्चालनमा ल्याउन सकेका छैनन् । अस्पतालमा ब्लड बैङ्क नभएकाले आवश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ । स्थानीयलाई रक्तदान गर्नुपर्छ भन्ने चेतनामा समेत कमजोरी रहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत ब्लड बैङ्क स्थापनाका लागि पटकपटक बजेट व्यवस्थापन गर्दै आएको छ तर जिल्ला अस्पताल बाजुरामा भने ब्लड बैङ्क स्थापना हुन सकेको छैन् । ब्लड बैङ्क स्थापना गर्न प्रयाप्त बजेट व्यवस्थापन नहुँदा स्थापना गर्न नसकिएको अस्पतालका सूचना अधिकारी गिरीले बताएका छन् ।
रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिनुपर्ने सास्ती भोग्नु पर्ने कारण भएकाले जिल्लामा ब्लड बैङ्कको स्थापना हुनु पर्ने स्थानीयले बताएका छन् । आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय, कोल्टी अस्पताल र टाटे स्वास्थ्य चौकीमा रहेको छ ।


