
बाजुरा, १५ बैशाख — हिमाली गाउँपालिका–४ फैतीमा स्थानीय तहमा शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा प्रभावकारी सेवा प्रवाहलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सोमबार सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए भने विशिष्ट अतिथिमा हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, उपाध्यक्ष राजकला सार्की र जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी इकबाल हवारी सहभागी थिए।
कार्यक्रममा हिमाली गाउँपालिका–४ का वडा अध्यक्ष, बडिमालिका नगरपालिका–२ का वडा अध्यक्ष डम्मवर महत्त, जिल्ला समन्वय अधिकारी दीपेन्द्र पाण्डे, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधि तथा ठूलो संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकायाले स्थानीय तहमा शान्ति–सुरक्षा कायम गर्न सबै निकायबीच समन्वय आवश्यक रहेको बताए। उनले अपराध नियन्त्रणका लागि समुदाय स्तरमै सचेतना विस्तार गर्नुपर्नेमा जोड दिए।
प्रमुख जिल्ला अधिकारी निरौलाले सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन प्रशासन प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिक–प्रहरी–प्रशासनबीच सहकार्य मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको बताए। उनले आवश्यक कागजात अभावका कारण नागरिकता लिनबाट वञ्चित नागरिकलाई वडा अध्यक्षको सिफारिसमा सहजीकरण गरिने जानकारी दिए। साथै उनले शान्ति–सुरक्षा केवल प्रहरीको संख्याले मात्र सुनिश्चित नहुने, यो सामाजिक तथा मनोवैज्ञानिक विषय पनि भएको बताए। बालविवाह कानुनी रूपमा निषेधित भएकाले यसको न्यूनीकरणमा सबैको भूमिका आवश्यक रहेको उनको भनाइ थियो।
गाउँपालिका अध्यक्ष गोविन्द मल्लले सुशासन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेकोमा जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिँदै स्थानीय तहमा विगतभन्दा उल्लेखनीय विकास भएको बताए। उनले शान्ति–सुरक्षा कायम गर्न दण्ड मात्र पर्याप्त नहुने र समाज सुधारका लागि मानसिक रूपान्तरण आवश्यक पर्ने बताए।
उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजकला सार्कीले घरेलु हिंसा सहेर बस्न नहुने भन्दै पीडितलाई न्यायिक समितिमा उजुरी दिन आग्रह गरिन्। उनले उजुरी गर्दा परिवार विखण्डन हुने भन्ने भ्रम गलत भएको स्पष्ट पार्दै गल्ती सुधारतर्फ अग्रसर गराउने उद्देश्य रहेको बताइन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी इकबाल हवारीले अपराध नियन्त्रणका लागि समुदायको सूचना र सहयोग महत्वपूर्ण हुने बताए। उनले शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे। प्रहरीको उपस्थितिलाई मात्र शान्ति–सुरक्षाको मापन मान्ने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै उनले नागरिकस्तरमै सचेतना बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागीहरूले शान्ति–सुरक्षा, घरेलु हिंसा नियन्त्रण, सामाजिक विकृति न्यूनीकरण तथा सरकारी सेवा प्रवाहमा देखिएका समस्या र समाधानका विषयमा आफ्ना धारणा राखेका थिए। कार्यक्रमले स्थानीय स्तरमा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै प्रशासन, जनप्रतिनिधि र नागरिकबीच समन्वय अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।



