
बाजुरा — जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा गौमुल गाउँपालिका–४ काे आयाेजनामा मानाकोट स्वास्थ्य चौकीमा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त एक दिने शिविरमा उल्लेखनीय सहभागिता देखिएको थियो। शिविरमा ३३ जना पुरुष र ३७ जना महिला गरी जम्मा ७० जना सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएको वडा अध्यक्ष अमर विकले बताएका छन् ।
शिविरमा आएका ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप जाँच, विभिन्न रोगहरूको परामर्श तथा आवश्यक औषधि वितरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित यस्तो शिविर सञ्चालन गरिएको हो।
स्थानीयवासीहरूले स्वास्थ्य सेवा आफ्नै गाउँमा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन् भने यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्। जिल्ला स्वास्थ्य कार्यालयले आगामी दिनमा पनि दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर यस्ता स्वास्थ्य शिविरहरू जिल्लाका अन्य पालिका सञ्चालन गरिने जनाएको छ ।


