बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ/वाणिज्य
  • पाँच वर्षदेखि अलपत्र बाउली खोला पुल निर्माणका लागि ३ महिनाको लागि अन्तिम मौका 

पाँच वर्षदेखि अलपत्र बाउली खोला पुल निर्माणका लागि ३ महिनाको लागि अन्तिम मौका 

पटक–पटक म्याद थप्दा पनि प्रगति न्यून, अव म्याद थप नहुने

  • सोमवार, चैत्र २३, २०८२
सेयर गर्नुहोस् :
पाँच वर्षदेखि अलपत्र बाउली खोला पुल निर्माणका लागि ३ महिनाको लागि अन्तिम मौका 
बाजुरा– बाजुरामा ठूला पूर्वाधार आयोजना समयमै सम्पन्न नहुने समस्या नयाँ होइन । प्राविधिक कमजोरी, कमजोर अनुगमन, ठेकेदारको लापरबाही र भौगोलिक कठिनाइका कारण धेरै आयोजना वर्षौंदेखि अधुरै रहने गरेका छन् । बाउली खोला पुल पनि त्यही समस्याको उदाहरण बनेको छ । जिल्लाकै मेरुदण्डको रुपमा रहेको मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिको बाउलीमा रहेको  निर्माणाधीन आरसीसी पुल पाँच वर्षदेखि अलपत्र जस्तै बनेपछि जिल्ला प्रशासन कार्यालय बाजुरा लगायत सरोकारवालाले चासोको रुपमा लिएका छन । सुस्त गतिमा भईरहेको निर्माण कार्यप्रति सरोकारवालाहरुले ३ महिनाका लागि ठेकेदार कम्पनीलाई अन्तिम मौका दिने निर्णय गरेको छ ।
  जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले निर्माण व्यवसायीलाई तोकिएको समय ३ महिना भित्र काममा उल्लेख्य प्रगति गर्न निर्देशन दिएको छ । बैठकमा जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, सडक डिभिजन कार्यालयका ईन्जीनियर शुभास शाह, देबेन्द्र स्वार सुरक्षा निकायका प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरूको रोहबरमा ३ महिने अल्टीमेटम दिइएको छ । सर्बपक्षिय बैठकले तोकेको समयमा तोकिएको काम नभए कम्पनीका लागि यो नै अन्तिम मौका रहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताएका छन ।
सडक डिभिजन कार्यालयसँग भएको सम्झौता अनुसार निर्माण कम्पनी टीडीआर–जुगल–कौशिक जेभीले पुल निर्माणको जिम्मा लिएको भए पनि विभिन्न प्राविधिक, व्यवस्थापकीय तथा निर्माण सामग्री व्यवस्थापनमा देखिएको ढिलासुस्तीका कारण काम अपेक्षित गतिमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालयका ईन्जीनियर सुभाष साहले बताए । २०७८ साल असार १५ गते सम्झौता भएको यो पुलको म्याद २०७९ साल अर्थात १६ महिनामै सकिने लक्ष्य थियो । तर काम सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिए पनि हालसम्म सन्तोषजनक प्रगति हुन नसकेको कार्यालयका ईन्जीनियर साहले बताए ।
बैठकले गरेका निर्णयलाई ठेक्का सम्झौताको अभिन्न अंग मान्दै सबै पक्षले कार्यान्वयनमा प्रतिबद्धता जनाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । तर विगतका अनुभवका आधारमा निर्माण कम्पनीले कार्यान्वयनलाई बढी महत्व दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । बैठकले निर्माण कार्यलाई गति दिन स्पष्ट समयसीमा सहितका निर्णय गरेको छ । जसअनुसारः २०८२ बैशाख मसान्तसम्म आवश्यक उपकरण र रड साइटमा पुर्‍याउने,बैशाख १५ गतेसम्म राइट एबटमेन्टको राफ्ट फाउन्डेसन निर्माण गर्ने बैशाख मसान्तसम्म लेफ्ट एबटमेन्टको क्याप लेभलसम्मको काम सक्ने, राइट एबटमेन्टको स्टेम संरचना दुई मिटरसम्म निर्माण गर्ने र जेठ २० गतेसम्म राइट एबटमेन्ट क्याप लेभलसम्म पुर्‍याउने अल्टीमेटम दिएको छ ।
त्यसै गरि जेठ मसान्तभित्र विंग वाल र नदी नियन्त्रण (रिभर ट्रेनिङ) का काम अघि बढाउने र  प्रगति नभए कारबाही गरिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।  बैठकले तोकिएको समयभित्र सन्तोषजनक प्रगति नभए ठेक्का सम्झौता अनुसार सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने  चेतावनी दिएको छ। आजकाे बैठकले दिइकाे समयभित्र गर्नुपर्ने कार्य नगरेमा कम्पनीलाइ कालाेसुचीमा राख्ने सडक डिभिजन कार्यालय अछामले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार