
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी प्रवक्ता मनिष झाले सदनमा सत्ता पक्ष बलियो हुँदा दम्भ देखाउनु नहुने बताएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले संस्कार, संकृति र सिद्धान्त देखाउनुपर्ने भएकाले सबैको योगदान आवश्यक रहेको बताएका हुन्।
मतदाता समक्ष साउथ एसियाको सफल संसद् परिकल्पना गरेको प्रतिबद्धता जनाएको बताउँदै उनले अब अभ्यास गरेर देखाउन लागिपर्ने बताए। झाले सदन यस अगाडि खुमलटार, बुढानिलकण्ठ, बालकोट र बालुवाटारको मात्र बन्दी भएकाले संख्यामात्र गणना भएको तर सिद्धान्तमा नगएकाले अब त्यस्तो नहुने धारणा राखे।
सदन चिया पसल र चौतारी नभएको बताउँदै उनले मन लागे आउने, मन लाग्दा बस्छु नत्र जान्छु भन्न नहुने बताए। उनले सदनलाई गुरुकुल र एउटा विश्वविद्यालयको रुपमा लिनुपर्ने बताए।
सदनले जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने उनको भनाई छ। उनले भने, ‘सदनमा जनताको प्रश्नको अस्तित्व भएन भने सदनमै जनता नै छिर्छन्। जुन गत भदौमा देखियो।’


