बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गौमुल
  • बाजुराको गौमुल–३ मा पहिरोले जलविद्युतमा क्षति, विद्युत सेवा अवरुद्ध

बाजुराको गौमुल–३ मा पहिरोले जलविद्युतमा क्षति, विद्युत सेवा अवरुद्ध

  • आइतवार, चैत्र २२, २०८२
सेयर गर्नुहोस् :
बाजुराको गौमुल–३ मा पहिरोले जलविद्युतमा क्षति, विद्युत सेवा अवरुद्ध

बाजुरा—बाजुराको गौमुल गाउँपालिका–३ मा पहिरोका कारण लघु जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। शनिवार राति परेको वर्षाले माथिबाट पहिरो गएपछि त्यहाँको रौदीगाड लघु जलविद्युत आयोजनामा क्षति भएको हो ।

आइतबार बिहान करिब ६ः३० बजे सञ्चालनकै अवस्थामा रहेको पावरहाउस माथिबाट पहिरो खस्दा आयोजनाका विभिन्न मेसिनहरूमा क्षति पुगेको जनाएको छ । उक्त वडाका अध्यक्ष गोरख बोहराकाअनुसार राति देखिको बर्षासँगै विद्युत नहरको पाइट फुटेर पहिरो खस्दा लघु जलविद्युत आयोजना पूर्ण रुपमा क्षति भएको छ । विद्युत आयोजनाको भवन माथिबाट खसेको पहिरोले छापिए पछि त्यहाँ विद्युत सेवा अवरुद्ध भएको वडा अध्यक्ष बोहराले बताए ।

पहाडी भू–भागमा भिरालो कमजोर भूगोलका कारण वर्षा परेपछि पहिरोको थप जोखिम उच्च रहेको स्थानीयहरुले बताएका छन् । लघु जलविद्युत आयोजनाका अध्यक्ष लालबहादुर रोकायाले पहिरोले भवनसँगै जेनेरेटर, ट्रान्समिटर, मदरबोर्ड, एलसी लगायतका महत्वपूर्ण उपकरणहरूमा क्षति पुर्‍याएको बताए ।

उक्त आयोजना वि.सं. २०६९ साल चैत २५ गतेदेखि सञ्चालनमा आएको थियो। ३१.५ किलोवाट क्षमताको उक्त विद्युत आयोजनाबाट वडा नम्बर ३ का २ सय बढी घरधुरी लाभान्वित हुँदै आएका थिए। स्थानीय स्तरमा वैकल्पिक ऊर्जाको कुनै व्यवस्था नभएकाले अहिले त्यहाँका नागरिकहरू अन्धकारमा बस्न बाध्य भएका छन्। विद्युत आपूर्ति बन्द हुँदा स्थानीय विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयका दैनिक कामकाज समेत प्रभावित भएका छन्।

स्थानीयवासीले छिटो पुनःनिर्माण तथा वैकल्पिक ऊर्जा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। अहिले क्षतिको विवरण संकलनका लागि गाउँपालिकाको केन्द्र घट्मुनाबाट प्रहरीको टोली गएको छ । पहिरोले जलविद्युतमा पूर्ण रुपमा क्षति भएर विद्युत सेवा अवरुद्ध हुँदा समस्या भएको भन्दै मर्मतका लागि पहल भइरहेको वडा अध्यक्ष बोहराले बताए ।

चर्चामा

सम्बन्धित समाचार