
बाजुरा — “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत जिल्ला स्तरीय सचेतना गोष्ठी बडीमालिका नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला आर्थिक गणना कार्यालय बाजुराको आयोजनामा भएको हो। उक्त्त कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले आर्थिक गणना देशको आर्थिक अवस्थाको यथार्थ चित्र प्रस्तुत गर्ने आधार भएकाले यसको सफल कार्यान्वयनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन। उनले तथ्यांक संकलनको विश्वसनीयता र पारदर्शितामा जोड दिँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन।
प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले नीति निर्माण, योजना तर्जुमा र स्रोत व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले बाजुराको विकासलाई दीर्घकालीन रूपमा मार्गदर्शन गर्न यस्ता तथ्यांक अपरिहार्य रहेको धारणा राख्दै सबै तहबाट आर्थिक गणनामा सहयाेग गरिदिन अनुराेध समेत गरेका छन ।
नेपाली कांग्रेसका उपसभापति पदम बडुवालले आर्थिक गणना सफल बनाउन राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै सही तथ्यांकले मात्रै वास्तविक अवस्था उजागर गर्ने बताए। उनले नागरिकस्तरसम्म सचेतना विस्तार गर्नुपर्नेमा जोड दिएका छन।
त्यस्तै नेकपा एमाले बाजुराका सचिव काशी विकले आर्थिक गणना केवल सरकारी कार्यक्रम मात्र नभई समग्र देशको आर्थिक आधार निर्माण गर्ने अभियान भएको उल्लेख गर्दै सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन। उनले उत्पादन, रोजगारी र व्यवसायको वास्तविक अवस्था बुझ्न यसले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले जनगणना २०७८ काे स्मरण गर्दै यस्ताे जनगणनकाे जस्ताे फेक तथ्याकं नल्यान समेत आग्रह गरेका छन ।
कार्यक्रममा सहभागी विभिन्न निकायका प्रतिनिधिहरूले राष्ट्रिय आर्थिक गणना अभियानलाई सफल बनाउन आ–आफ्नो तर्फबाट पूर्ण सहयोग र प्रतिबद्धता जनाएका छन्। सहभागीहरूले गाउँ–गाउँसम्म सचेतना फैलाएर तथ्यांक संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। जिल्ला आर्थिक गणना कार्यालय बाजुराका अनुसार आर्थिक गणना–२०८२ मार्फत जिल्लाभित्र सञ्चालनमा रहेका सबै प्रकारका आर्थिक गतिविधिहरूको विवरण संकलन गरिनेछ, जसले भावी योजना निर्माणमा ठोस आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। २०८३ बैसाख २ गते देखी आर्थिक गणनाकाे कार्य सुरु हुने कार्यालयले जनाएकाे छ ।
जिल्ला स्तरीय सचेतना गोष्ठी एक कार्यक्रका बिच संचालन भएकाे थियाे । कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पदम बडुवाल, नेकपा एमाले बाजुराका सचिव काशी विक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख/उपाध्यक्ष, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रमुख तथा व्यापारी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


