
बाजुरा—राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर सडक सुधारसँगै कालोपत्र निर्माणका लागि धमाधम काम भइरहेको छ । गत बर्ष कालेपत्रका लागि ३ अर्ब बढीको पहिलो पटक ठेक्का भएको थियो ।
कर्णाली करिडोरको ५० किलोमिटर सडकखण्ड सुधारसँगै कालोपत्रका लागि निर्माण कार्य शुरु भएको आयोजना प्रमुख विसुन्दर लामाले बताएका छन् । सडक विभाग, उत्तर—दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीका अनुसार २ पिसमा ठेक्का भएर काम सुरु भएको छ । बाजुराको पिलुचौर देखि बाजुराको कुवाडीसम्म २३ किलोमिटर ७ सय मिटर र कुवाडी देखी हुम्लाको सर्केगाँड गाउँपालिका १ तुम्चासम्म २७ किलोटिमर ३ सय मिटर गरि ५० किलोमिटरको काम सुरु भएको हो ।
पिलुचौर देखि कुवाडीसम्म १ अर्ब ६७ करोड २१ लाख ८७ हजार ८३४ रुपैयाँको टेन्डर भएको थियो । उक्त सडकखण्ड पि एस कन्ट्रसनले १ अर्ब १० करोड १८ लाख १८ हजार ७ सय ३७ मा काम गर्ने गरी सम्झौता गरेको छ । कुवाडी देखि हुम्लाको तुम्चा सम्म १ अर्ब १८ करोड ४१ लाख ५२ हजार १५३ मा ठेक्का भएको थियो । उक्त सडक खण्ड सिंह कन्टेक जेभीले १ अर्ब १८ करोड ४१ लाख ५२ हजार १ सय ५३ मा सम्झौता गरेको थियो ।
दुवै ठेक्का २०८२ असारमा सम्झौता भएर तिन बर्षमा काम सक्ने गरी सम्झौता भएको छ । पिलुचौर देखि कुवाडीसम्म सडक सुधार सँगै कालोपत्रका लागि काम धमाधम शुरु भइरहेको छ । पि एस कन्ट्रसनले तिव्र गतिमा काम सुरु गरिरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन् ।
कुवाडी देखि हुम्लाको तुम्चासम्म भने काम सुरु नभएको स्थानियले बताएका छन् । त्यो सडकखण्डमा सम्झौता भएको ८ महिना वितिसक्दा पनि काम भने सुरु नभएको पाईएको छ । आयोजना कार्यालयका अनुसार चाडै काम सुरु हुने बताएको छ । कर्णाली करिडोरको यो क्षेत्र कालिकोटको खुलालु देखि बाजुरा हुदै हुम्लाको सरिसल्लासम्म १ सय २३ किलोमिटर रहेको छ । यो सडकको ट्रयाक भने नेपाली सेनाले खोलेको थियो । कालिकोटको खुलालु देखि बाजुराको पिलुचौरसम्म ६० किलोमिटर सडक सुधारको काम भइरहेको छ । यो सडकखण्डको बाँकी रहेको हुम्लाको तुम्चा देखि सरिसल्ला सम्मको १३ किलोमिटरको पनि ठेक्का आगामी बर्षमा गर्ने कार्यालयले जनाएको छ ।
यो सडक सरकारले गौरवको आयोजना सँगै त्रिदेशीय मार्गका रुपमा लिएको छ । यो मार्गले दक्षिणमा भारत र पश्चिममा चिन छुने रहेको छ । यो सडक २०६४ सालमा कालिकोट—हुम्ला—जुम्ला सडक आयोजनाले सुरु गरेको थियो । काममा ढिलासुस्ती हुने भएपछि यो सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले २०७१ चैत बाट शुरु गरेको थियो ।
लामो समयसम्म निर्माण कार्यमा प्रगति नभएपछि भौगोलिक विकटता लगायत प्रतिकूलता औंल्याउँदै सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडक परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सेनाले ट्रयाक खोली सकेपछि २०८० पुष १५ गते सडक विभागलाई कालिकोट खुलालु देखि १ सय १२ किलोमिटर जिम्मा दिएको थियो । ११ किलोमिटरमा भने अहिले पनि सेनाले काम गरिहेको छ ।
सडक विभागलाई सेनाले जिम्मा लगाएपछि सडक विभाग, उत्तर—दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना नामाकरण दिएर सडक स्तरोन्नतिसँगै कालेपत्र निर्माणको काम सुरु गरेको हो । सेनाले कर्णाली करिडोर अन्तर्गत हुम्ला, कालिकोट र बाजुराको बिचमा दर्जनौ चट्टान फोरिँदै छिचोलेर कर्णाली करिडोर बाटो निर्माण गरेको हो । हुम्ला जाने एक मात्रा सडक बाटो यहीँ कर्णाली करिडोर हो । कर्णाली करिडोर सडकको निर्माण तथा स्रोन्नतिको गतिले बाजुरा कालिकोट, मुगु र हुम्लाका स्थानीयमा आफ्नो जीवन फेरिने आस मात्रै बढाएको छैन, निकै खुसियाली पनि ल्याएको छ ।
यस सडकलाई बाँके तथा नेपालगञ्जको रुपडिहा नाकाबाट आरम्भ भई हुम्लाको सिमकोट हुँदै चीनको तिब्बत सिमाना सम्म र्पुयाउने लक्ष्य छ । यो सडक मार्ग बाजुरा र कर्णाली क्षेत्रका बासिन्दाको जीवन उकास्ने मेरुदण्ड बन्ने विश्वास छ । ‘यस क्षेत्रको गरिबी र विपन्नतालाई छुटकारा दिने मुख्य सेतु यही सडक हुनेछ,’ बाजुरा प्रदेशसभा ‘क’ का सांसद नरेश शाहीले भने । यस सडकबाट पूरै बाजुरा सडक सञ्जालमा गाँसिने छ । रारा जाने पर्यटकलाई यो मार्गले यात्रा सजिलो बनाइदिनेछ ।


