
बाजुरा– नेपाली काँग्रेस बाजुरा जिल्ला कार्यसमितिले सञ्चालन गरेको चुनावी अभियानलाई तीव्र बनाएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा तथा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानीय तहमा घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरिएको काँग्रेसले जनाएको छ।
सदरमुकाम मार्तडीमा पत्रकार सम्मलेन गर्दै काँग्रेसले लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायका मूल्यप्रति प्रतिबद्ध रहँदै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न आफू दृढ रहेको स्पष्ट पारेको छ। पार्टीले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण अवसरका रूपमा लिँदै सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, निर्वाचन आयोग, प्रशासन र सुरक्षा निकायलाई आ–आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्न आह्वान गरेको छ।
जिल्ला कार्यसमितिका अनुसार खप्तड छेडेदह, गौमुल, बुढीगंगा, बडिमालिका नगरपालिका तथा अन्य पालिकाका विभिन्न वडाहरूमा उम्मेदवारसहितको टोलीले घरदैलो र भेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरेको गरेर सकरात्मक सन्देश आएकाे जनाएकाे छ।
पत्रकार सम्मेलनमार्फत नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा आसन्न प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनकराज गिरीले बाजुराको गरिबी र बेरोजगारीलाई अन्त्य गर्ने धारणा समेत राखेका थिए । सदरमुकाम मार्तडीमा आयाेजित पत्रकार सम्मलेलनमा साे कुरा बताएका हुन । कांग्रेस उम्मेदवार गिरिले जिल्लाको समग्र विकासलाई जोड दिदै गरिबी र बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
युवाको बढ्दो वैदेशिक पलायन, कृषिको परम्परागत अवस्था, शिक्षा र स्वास्थ्य सेवामा देखिएको कमजोरीलाई समाधान गर्ने लक्ष रहेको समेत उनले बताए । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन आफ्नाे उम्मेद्धवारी रहेकाे बताएका छन । जिल्लामा कृषि, पर्यटन, जडीबुटी र साना उद्योगको ठूलो सम्भावना रहेको छ,यसबाट रोजगारी सिर्जना गर्न जोड दिने गिरिले बताए । कृषि प्राबिधिक शिक्षालय,कृषि उत्पादनको बजारीकरण मार्फत हजारौं युवालाई रोजगारी दिन सकिने बताएका हुन ।
सडक,पूर्वाधार र पर्यटन क्षेत्रमा बाजुराको सडक सञ्जाल विस्तार, पुल निर्माण तथा दुर्गम बस्तीलाई यातायात सञ्जालसँग जोड्ने,ईन्टनेट कार्यलाई तीव्रता दिने बताएका छन्। साथै, धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको क्षेत्र बडिमालिका लगायतका स्थलहरूको प्रचार–प्रसार र पूर्वाधार विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना रहेको उनले बताए। गिरिले आफू जितेपछि दलभन्दा माथि उठेर सम्पूर्ण बाजुरालीको साझा प्रतिनिधि भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
