• होमपेज
  • बाजुरा बिशेष
  • सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न

सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी सम्पन्न

  • मङ्लबार, माघ २८, २०८२
सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी   सम्पन्न

बाजुरा — “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित योगदानमा आधारित सामाजिक सुरक्षा र सामाजिक संवाद सम्बन्धी १ दिने कार्यशाला गोष्ठी बडीमालिका नगरपालिकामा  सम्पन्न भएको छ। याेगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी सचेताना दिने उदेस्यका साथ साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । बडीमालिका नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यशाला गोष्ठी सामाजिक सुरक्षा कोष, सशक्त महिला समृद्ध नेपाल, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका निकायको सहयोग, समन्वय तथा सहजीकरणमा सम्पन्न भएको बडीमालिका नगरपालिका राेजगार संयाेजक प्रमिला थापाले बताएकी छन।

कार्यक्रममा बोल्दै नगर प्रमुख अमर बहादुर खड्काले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली श्रमिकको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै स्थानीय तहले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए। “श्रम गर्ने नागरिकको सम्मान र सुरक्षा बिना समृद्ध स्थानीय अर्थतन्त्र सम्भव हुँदैन,” नगर प्रमुख खड्काले भने, “सामाजिक सुरक्षा कोषमार्फत श्रमिकलाई दीर्घकालीन सुरक्षा प्रदान गर्नु आजको आवश्यकता हो, यसमा स्थानीय सरकार सहकार्य गर्न तयार छ।”

त्यसैगरी सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले श्रमिकलाई रोग, दुर्घटना, बृद्धावस्था र रोजगारी गुम्दा समेत संरक्षण दिने स्पष्ट पारे। उनले स्थानीय तह, रोजगारदाता र श्रमिकबीचको समन्वयले मात्र योजनालाई सफल बनाउन सकिने बताउँदै सामाजिक सुरक्षा प्रणालीलाई औपचारिक रोजगारीसँग जोडेर लैजानु अपरिहार्य रहेको धारणा राखे।

बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका  अतिथिका रूपमा नगर उपप्रमुख नन्दा थापा तथा विशिष्ट अतिथिका रूपमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारी, निर्देशक रोहित रेग्मी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) परियोजना संयोजक तारा खनालको उपस्थिति रहेको थियो। कार्यक्रममा बडीमालिका नगरपालिकाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय तहमा योगदानमा आधारित सामाजिक सुरक्षा र सामाजिक संवादप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको सहजीकरण सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीले गरेका थिए। उनले सामाजिक सुरक्षा योजनाका प्रावधान, लाभ, चुनौती र सामाजिक संवादको महत्वबारे प्रस्तुति दिएका थिए। कार्यक्रमको स्वागत मन्तव्य बडीमालिका नगरपालिका रोजगार संयोजक प्रमिला थापाले राखेकी थिइन् भने कार्यक्रम सञ्चालन नगरपालिकाका गैसस फोकल पर्सन कृष्ण खड्काले गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार