
बाजुरा — स्थानीय सूचना, आवाज र सरोकारलाई डिजिटल माध्यममार्फत विश्वभर पुर्याउने उद्देश्यसहित स्थापना भएको ‘बडिमालिका खबर’ ले आफ्नो डिजिटल यात्राको सात वर्ष पूरा गरेको छ। बाजुरा जस्ताे दुर्गमबाट सुरु भएको यो अनलाइन समाचार माध्यम आज स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय पाठकमाझ विश्वसनीय प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ।
वि.सं. २०७५ माघ २७ गतेबाट सुरु गरिएको बडिमालिका खबरले सुरुवाती दिनमा सीमित स्रोत–साधन र चुनौतीबीच पनि जिल्लाका राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकताका साथ समाचार प्रवाह गर्दै आएको छ। विशेषगरी मुख्यधारका मिडियामा कमै समेटिने दुर्गम गाउँ, आवाजविहीन समुदाय र स्थानीय समस्यालाई उजागर गर्नु यस मिडियाको मूल पहिचान बनेको छ।
डिजिटल प्रविधिको सदुपयोग गर्दै बडिमालिका खबरले वेबसाइट, सामाजिक सञ्जाल र मोबाइलमैत्री प्लेटफर्ममार्फत समाचार, विश्लेषण, विचार र फिचर सामग्री प्रकाशन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा पाठकको सहभागिता, सूचनाको पहुँच र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको सञ्चालक प्रकाश बहादुर सिंहले बताएका छन।
बडिमालिका खबरले सात वर्षको अवधिमा स्थानीय सुशासन, विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा गतिविधि र राजनीतिक चेतना जस्ता विषयमा निरन्तर कलम चलाउँदै आएको छ। यसले नागरिकलाई सूचना मात्र होइन, प्रश्न गर्न र सचेत बन्न प्रेरित गर्ने भूमिका खेलेको विश्लेषकहरूको भनाइ छ।
सातौँ वर्ष पूरा भएको अवसरमा बडिमालिका खबर परिवारले पाठक, विज्ञापनदाता, शुभेच्छुक, समाचार स्रोत र सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ तथ्यपरक, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता जनाएको छ।
‘दुरदराज गाँउमा ओझेलमा रही प्रचार प्रसारको अभावमा फस्टाउन नसकेको ब्यबसायलाई प्रोत्साहन गर्दै लक्ष्य अनुरुप स्वच्छ लक्ष्य हामीले आत्मसात गरेका छौं । सूचनाको पहुँचलाई सर्वसुलभ गराउँदै हामी सम्पूर्ण गाँउबासिका आवाज बोल्नेछौं ।’ भन्ने मूल नारासहित अघि बढिरहेको बडिमालिका खबरको सात वर्षे यात्रा डिजिटल पत्रकारितामा स्थानीय मिडियाको सम्भावना र प्रभावको उदाहरण बनेको छ।
