
बाजुरा—प्रेस चौतारी नेपाल बाजुराले हरेक बर्ष प्रदान गर्दै आएको स्व.विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा बाजुराका पत्रकार प्रकाश सिंह र सन्तोषी रावल सम्मानित भएका हुन् ।
विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट प्रेस चौतारी नेपाल बाजुराका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार सिंह र रावललाई सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायले बिहीवार सदरमुकाम मार्तडीमा संगठनको स्थापना दिवस कार्यक्रममा दुवै जनालाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको बताएका छन् । प्रेस चौतारीमा आवद्ध रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई हरेक बर्ष स्थापना दिवसमा पुरस्कारसहित सम्मान गरिदैँ आएको उनले बताए ।

त्यस्तै प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवस जिल्लामा पनि भव्यताका साथ मनाइएको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरुले जिल्लामा प्रेस चौतारी हरेक कुरामा अब्वल र निर्णायक भूमिकामा देखिने गरेको भन्दै आगामी दिनमा थप सक्षम र स्वतन्त्र रुपमा नागरिकका आवाज बुलन्द गर्न तल्लिन हुनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी बहादुर विकले जिल्लाको विकास निर्माण र खबरदारीमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने भन्दै जिल्लाको सकारात्मक, सम्भावना र योजनाका बारेमा सूचना सम्प्रेषणमा अग्रणी स्थानमा हुनु पर्ने बताए ।
प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको स्थापना दिवस कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव काँशी बहादुर विक प्रमुख अतिथि रहेका थिए । त्यस्तै अतिथिमा बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापासहित जनप्रतिनिधि, एमाले जिल्ला कमिटी सदस्य, प्रेस चौतारीका प्रदेश तथा जिल्ला समितिका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । बडीमालिका नगरपालिकाको सभाहलमा प्रेस चौतारी बाजुराका उपाध्यक्ष धनकृष्ण विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सुशील रोकायाले गरेका हुन् ।
