बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • निर्वाचनका लागि बाजुरामा ६ सय बढी कर्मचारी खटाइँदै, प्रहरी कति खटिन्छन् ?

निर्वाचनका लागि बाजुरामा ६ सय बढी कर्मचारी खटाइँदै, प्रहरी कति खटिन्छन् ?

  • सोमवार, माघ २०, २०८२
सेयर गर्नुहोस् :
निर्वाचनका लागि बाजुरामा ६ सय बढी कर्मचारी खटाइँदै, प्रहरी कति खटिन्छन् ?

टेक बहादुर बुढा/बाजुरा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ६ सय बढी कर्मचारी खटाइने भएका छन् । मतदान अधिकृत, सहायक अधिकृत सहित जिल्लाभर ६ सय बढीको संख्यामा कर्मचारी खटाउने तयारी भएको हो ।

जिल्ला सुरक्षा समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार एक सय १८ मतदान केन्द्र रहेको बाजुरामा एक केन्द्रमा करिब पाँचदेखि ६ जनासम्म कर्मचारी खटाइने भएको बताएका छन । उनले हाल कर्मचारी खटाउनका लागि विवरण संकलन कार्य भइरहेको भन्दै विवरण आएपछि जिम्मेवारी तोकिने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी निरौलाले सुरक्षाका हिसावमा विगतका निर्वाचनका घटना लगायतक आधारमा जिल्लाका ७७ मध्ये ६२ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेको भन्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने समेत बताए । उनले भने, “मतदानस्थलमा ९५० निर्वाचन प्रहरी, ३५० बढी नेपाल प्रहरी र २ सयको हाराहारीमा सशस्त्र प्रहरी परिचालन गर्छौ, त्यसमा सुरक्षा दृष्टिले मतदानस्थलमा कम बढी हुन सक्छ ।” यस्तै निर्वाचनका लागि जिल्लामा एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको छ भने निर्वाचन केन्द्रित सुरक्षाका लागि नेपाली सेना भने एक महिनाअघि नै खटिने छन् । अहिले जिल्लामा शान्तिपूर्ण वातावरण रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले आगामी निर्वाचनलाई शान्त, भयरहीत र निष्पक्ष रुपमा सम्पन्न गरेर यस पटक नयाँ सकारात्मक सन्देश दिनुपर्ने भन्दै सबैलाई आवश्यक सहयोगका लागि आव्हान समेत गरेका छन् ।

त्यस्तै आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जिल्लाका २२ वटा मतदानस्थल हिमपातबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले भने बाजुरा उच्च हिमाली जिल्ला नभएको भन्दै निर्वाचन मितिसम्म सम्वतः हिमपात नहुन सक्ने भएकाले यद्यपि त्यसको वैकल्पिक उपायबारे निर्वाचन आयोगले नै निर्णय गर्ने जानकारी दिए । त्यस्तै एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र भएको बाजुरामा एक स्वतन्त्र सहित ७ दलका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । उनीहरुले हरेक निर्वाचनमा तिता घटना हुने गरेको भन्दै आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्रपूर्वक मतदान गर्न पाउने वातावरण सिर्जना गर्नका लागि ९ बुदेँ सामूहिक प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

बाजुरामा हाल कुल ८७ हजार ८ सय ६१ जना मतदाता संख्या कायम भएका हुन् । जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता संख्या छन् । त्यस्तै ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार