
बाजुरा—आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई तालिम दिइदैँ छ । बाजुरामा निर्वाचन प्रहरी भर्ना प्रक्रियामा अन्तिम नतिजाबाट उत्तीर्ण भएका उम्मेदवाहरुलाई आइतबार देखि तालिम दिइने भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक इकवाल हवारीले ९ सय ६४ जना निर्वाचन प्रहरीका लागि तालिम सञ्चालन गर्न लागिएको बताए । उनले निर्वाचन प्रहरीलाई जिल्लाका ८ स्थानबाट तालिम दिइने बताए । जसमा जिल्ला प्रहरी कार्यालय बाजुरा मार्तडीमा ४ सय ४४, इलाका प्रहरी कार्यालय बुढीनन्दामा ९९, इलाका प्रहरी स्वामीकार्तिकमा ९५, गौमुलमा ५१, प्रहरी चौकी बार्जुगार्डमा एक सय ४, टाँटेमा ७९, मौरेमा ३५ र अस्थायी प्रहरी पोष्ट आटिचौरमा ५७ जनालाई तालिम दिइने छ ।
त्यस्तै सशस्त्र प्रहरी बल गुल्म बाजुरामा आवेदन दिएर उत्तीर्ण भएका ९६ जना उम्मेदवारलाई पनि सशस्त्र प्रहरीले सदरमुकाम मार्तडीमै तालिम दिने जनाएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहीत वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि बाजुरामा एक हजार ६० जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।

