
बाजुरा— मुलुकका दश जिल्लामा गरिबीको दर उल्लेख्य रूपमा उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरू गरिबीको उच्च जोखिममा रहेका देखिएका छन्। सूचीको पहिलो स्थानमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला रहेको छ। अछाममा ४९.५८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ। जिल्लाको कुल जनसंख्या २ लाख २७ हजार ७१९ मध्ये १ लाख १२ हजार ९०२ जना गरिब रहेका छन्।
दोस्रो स्थानमा सुदूरपश्चिमकै बैतडी जिल्ला परेको छ। बैतडीमा गरिबीको दर ४८.६५ प्रतिशत रहेको छ भने १ लाख १७ हजार ४६३ जना गरिबको सूचीमा परेका छन्। तेस्रो स्थानमा बाजुरा जिल्ला रहेको छ, जहाँ ४७.८१ प्रतिशत जनसंख्या गरिबीको अवस्थामा रहेको तथ्यांक छ।
कर्णाली प्रदेशको मुगु जिल्ला चौथो स्थानमा रहेको छ। मुगुमा गरिबीको दर ४४.६४ प्रतिशत पुगेको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा ४२.८१ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको छ।
कर्णाली प्रदेशकै कालिकोट जिल्लामा गरिबीको दर ४१.५४ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा ३९.९७ प्रतिशत जनसंख्या गरिबीको अवस्थामा रहेको देखिएको छ। लुम्बिनीकै कपिलवस्तु जिल्लामा गरिबीको दर ३९.२४ प्रतिशत पुगेको छ।
सूचीमा समावेश अन्य जिल्लामध्ये सुदूरपश्चिमको बझाङ जिल्लामा गरिबीको दर ३८.८३ प्रतिशत रहेको छ भने लुम्बिनी प्रदेशको रोल्पा जिल्लामा ३८.०९ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्यांक छ।
विकास विज्ञहरूका अनुसार दुर्गम भूगोल, रोजगारीका अवसरको कमी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँचका कारण यी जिल्लाहरूमा गरिबी दर उच्च देखिएको हो। उनीहरूले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर लक्षित कार्यक्रम सञ्चालन नगरे गरिबी न्यूनीकरण चुनौतीपूर्ण हुने बताएका छन्।
