
बाजुरा—बाजुरा उद्योग वाणिज्य संघले आगलागी पीडित प्रकाश थापालाई ५१ हजार बढी आर्थिक सहयोग गरेको छ । यहीँ मंसिर १७ गते दिउँसो सदरमुकाम मार्तडीका व्यवसायी प्रकाश थापाको न्यू सागर ग्यारेज र ग्रील तथा फर्निचर उद्योगमा आगलागी भएको थियो । विद्युतको तार सट भएर पसलमा आगलागी हुँदा फर्निचर तथा ग्यारेजका सम्पूर्ण सामान जलेर करिब २ करोडको क्षति भएको छ ।
उक्त घटनाप्रति बाजुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गर्दै राहत स्वरुप आर्थिक सहयोग गरेको हो । उद्योग वाणिज्य संघको संयोजकत्वमा मार्तडी बजारका करिब ६० जना व्यवसायीहरुबाट रकम संकलन गरिएको जनाएको छ । उक्त संकलित रकम पीडित थापालाई शान्त्वना स्वरुप शनिवार आगलागी भएकै पसलमा पुगेर हस्तान्तरण गरिएको बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । उनले व्यवसायीहरुबाट संकलन गरेको ५१ हजार ६ सय ७० रुपैयाँ पीडित थापालाई हस्तान्तरण गरेको बताएका छन्।
