
सुर्खेत–नेपालगञ्ज बीचको त्यो सुन्दर बाटोमा यात्रा हुदै थियो। त्यही बाटोमा एक दिन म यात्रा गरिरहेको थिएँ। सिटको अगाडि बसेका हाइस्–ड्राइभर दाइको अनुहारमा थकान हुँदा–हुँदै पनि कसैलाई दुख नदिने, नरम स्वभाव झल्किन्थ्यो। गाडी धीरे–धीरे चढाइ चढ्दै थियो। गाडीको गती जस्तै, दाइको मनका कथा पनि बिस्तारै बाहिर निस्कँदै गयो। “सर, मान्छेको जीवन सधैं एउटै हुँदैन,” दाइले गाडी सीधा पार्दै भन्नुभयो।
“मेरो त बाल्यकाल पनि बाल्यकाल जस्तो थिएन…” त्यसपछि सुरु भयो भिमसेन नेपालको कथा…….म ध्यान पुर्बक सुनिरहेको थिए। मलाई कथा सुन्दा आनन्द महसुस भैरहेको थियो। बर्दियाको राझापुर गाउँ। हरियाली खेत, कर्कलाको आवाज, र कहिलेकाहीँ देखिने बाघको छाया। बर्दिया जिलाको राझापुर थियो। त्यही गाउँमा असार २०३२ मा भिमसेन जन्मिनुभएको थियो। तर जन्मेको तेस्रो दिनमै आमाको स्वर्गबास हुन पुग्यो।
दु:खद घटना घट्यो।भिमसेन दाइ सानै नाबालक थिए।
आमाको स्वर, अंगालो, स्पर्श—कुनै याद छैन। छिमेकी काकीले “माया ,ममता दिएर ,म हुर्काउँछु” भन्दै आँसु, दूध र मायाले उनलाई पालिन्।
उनका बुबा व्यस्त मान्छे थिए, घर–परिवार, खेत–बारीका काम, बजार–हाट—सबैको दौडधूप थियो। बुवाको अलि बानी खराब भएर पनि होला।अलि अलि मादक पर्दार्थ सेवन गर्न नसा थियो। तर छोराप्रतिको माया केही वर्षमै ओझेल पर्न थाल्यो।पहिले माया धेरै गर्दथे। भिमसेन छ वर्ष पुगेका थिए।
घरमा नयाँ आमा–कान्छी आमा आइन्। शुरुका केही दिन त उनी सीधै आँखामा हेरेर मुस्कान गर्थिन्, तर पछि त्यो मुस्कान मुस्कान रहेन।घरमा काम धेरै,काम र तनाबले राम्ररी पढ्न पनि पाएनन् । भिमसेन लाइ भने सबै कामको भार हुन्थ्यो ।।विचारा ति बालक थिए। कान्छी आमाको कठिर बचन,र घृणा उहाँका लागि काल जस्तै थियो।बेलामा कराइरहने त्यो बानि “ए, यो गर! त्यो ल्याउ! किन ढिलो गरेको?” आदेशसँगै कठोरता थपिँदै गयो। उनीले कहिल्यै नचोरेको कुरा चोरीको आरोप लाग्यो। केही दिन त पिटाइले निद्रा हरायो, कहिलेकाहीँ त क्षणभर बोल्न पनि डर लाग्थ्यो।
एक साँझको कुरा हो। आकाशमा बादल खतरा जनाउँदै उभिएको थियो। भिमसेन खेततिरबाट दाउरा बटुलेर घर फर्किँदै थिए। घर पुग्दा कान्छी आमाको आवाज आयो, “यो बच्चाले मेरो कोठाको सामान चोरेछ।” भिमसेन रोएर भने, “आमा, मैले छोएको पनि छैन।” तर आरोप साँचो हो कि होइन—कसैले जाँचेन। बुवाको आँखामा क्रोध थियो। उनी सोच्नभन्दा अगाडि निर्णय गरिहाल्ने मान्छे थिए। “चोरलाई पनि सिकाउनुपर्छ!” भन्दै छोरालाई बकाइनाको रुखमा लगेर डोरीले टाउको तल, खुट्टा माथि झुण्ड्याइदिए। आकाश गर्जिएको थियो।
रुख हल्लिँदो थियो।
बालक भिमसेन ग्लानी, पीडा र डरमा कापिरहेका थिए। छिमेकी काकी दौडँदै आईन्, “के गर्नु भयो दाइ! यो त बच्चा हो!” उनले रोइरै डोरी खोलिदिइन्। उही काकी जिन्दगीभर “आमा” भएर उभिइन्। त्यो दिनपछि भिमसेन चुपचाप,भए। आफ्नै मनभित्र बिस्तारै ठूलो हुँदै गएका दुखसँगै बाँच्न सिके। दुख भोग्दा–भोग्दै पनि उनले पढाइ छोडेनन्। कहिलेकाहीँ नजिकैको घाँसेडाँडामा बसेर किताब पढ्थे। २०४६ सालमा कक्षा ८ पास गरे। त्यही वर्ष उनलाई एउटा कुरा मात्र मनमा बस्यो।
“यस घरमा जसरी जिउँदै छु, म ठूलो भएपछि चाहिँ यस्तो जीवन बन्न दिन्न।” भन्दै मनमा सोचिरहे। एक दिन एउटा नेपाल आर्मिमा फर्म खुलेको थाहा पाए । नेपाल आर्मीमा दरखास्त दिन दिनुभयो पहिलो प्रयासमै उहाँ पास हुन सफल हुनुभयो। जिन्दगीमा पहिलोपटक आफूलाई ‘अवसर’ भन्ने कुरा नजिकबाट देखे। २०५० सालतिर उनको जीवनमा प्रेम आयो। नयाँ उमेर, नयाँ भविष्यको आशा। समझदारी, सम्मान र साथ मिल्यो।
त्यही प्रेम विवाहमा परिणत भयो। २०५५ सालमा छोरी जन्मिइन्।
उनले पहिलोपटक जीवनलाई स्थिर रूपमा महसुस गरे। २०७३ साल तिर को कुरा थियो। आर्मीको २३ वर्ष लामो सेवापछि उनी अबकाश भए।
सेवा सकिएको थियो, तर संघर्ष होइन। अब उनले भाडामा ट्याक्सी चलाउन थाले। बर्दियाको तातो गर्मी, नेपालगञ्जको भीड, कहिलेकाहीँ सुर्खेतको जोखिमपूर्ण मोड— सबै पार गर्दै परिवार पाल्न थाले। कमाइ बचत गर्दै–गर्दै कोहलपुरमा एउटा सानो घडेरी किने। २०७५ सालमा दुइतले घर बनेको दिन तिनीहरूका आँखामा खुशीको आसुँ झरे।
उनका छोरा २०७५ तिर अस्ट्रेलियामा नाम निकाल्न सफल भयो। भिमसेन दाइ फेरी थप्नु हुन्छ। “छोरा ठूलो बनोस्, मेरो जस्तो बाल्यकाल उसले कहिल्यै नदेखोस्।” २०७७ सालमा उनले आफ्नो कमाइबाट आफ्नै हाइस् किने। जीवन फेरि अर्को मोडमा पुगेझैँ लाग्यो। २०७८ सालमा बुबाको निधन भयो। आश्चर्य, जीवनभर कठोरता देखाउने बुबाको अन्त्यमा कान्छी आमाका छोराहरू आएनन्। भिमसेनले दाइले निरास हुदै मनको बेदना पोख्नुभयो। “ठिकै छ, सर। मैले मेरो धर्म पुरा गरें।” उनको आवाजमा आरोप होइन, गहिरो मानवीयता थियो। आज भिमसेन दाइ सडकमा हाइस् चलाउने, यात्रुहरूलाई सुरक्षित गन्तव्य पुर्याउने माध्यम बनिरहनु भएकोछ।
एक सामान्य, तर असल मानिसका प्रतिमूर्ति जस्तै बन्नुभएको छ। भिमसेन दाइ ले थप्दै भन्नुभयो ।, “सर, म अरुको दुख देख्न सक्दिन। बाल्यकालमा कसैले मेरो हात समातिदिएको भए, सायद धेरै कुरा सजिलो हुन्थ्यो। अब अवसर पाएँ भने, म कसैको हात समातिदिन्छु।” उनको कथा सुन्दा मलाई सुर्खेत पुगेको पत्तै भएन। गाडी सुर्खेत झर्दै थियो, तर मन भिमसेन दाइको बाल्यकालतिर झर्दै थियो र त्यो रुखतिरको जिबन आज निरन्तर चलिरहेको छ। जहाँ एकदिन एक बालक उल्टो झुण्डिएको थियो। उस्तै बालक आज मान्छेलाई मुस्कान बाँडिरहेछ। जिबन निरन्तर बगिरहने नदि जस्तै रहेछ।आफ्नो बाटो खोज्दै जाने रहेछ।
