शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • गौमुल–३ धल्काँडामा मनाइँदै मौलिक पर्व मैझाडो

गौमुल–३ धल्काँडामा मनाइँदै मौलिक पर्व मैझाडो

 (सात राठी) जातको सदियौँ देखिको परम्परा पुनर्जीवित, ६ सय ६८ बर्ष सम्म निरन्तरता 

  • आइतवार, मंसिर ८, २०८२
गौमुल–३ धल्काँडामा मनाइँदै मौलिक पर्व मैझाडो

सुशिल रोकाया– बाजुराको गौमुल गाउँपालिका–३ धल्काँडा क्षेत्रमा सदियौँदेखि मनाइँदै आएको मौलिक तथा सांस्कृतिक महत्त्वले भरिएको ‘मैझाडो’ पर्व आज विशेष विधि–विधानसहित मनाइँदै छ। स्थानीय सात राठी (जात समूह) को सामूहिक निर्णय र परम्परा अनुसार हरेक वर्ष मंसिर ७ गते यो पर्व मनाइने गरेको पाइन्छ।

धल्काँडास्थित कालिका भगवती मन्दिर परिसर बिहानैदेखि भक्तजन, राठी परिवार, युवायुवती तथा विभिन्न ठाउँबाट आएका अवलोकनकर्ताले भरिएको छ। यस पर्वको मूल ऐतिहासि धामी, बोहरा, मज्याडी बोहरा, माझपाले रोकाया, पडीकोटे रोकाया, गदाडी सार्की र दयाल जेठारा गरी सात राठी समूह यही स्थानमा जम्मा भई करिब १४ शताब्दी अघि मैझाडो पर्व मनाउने निर्णय भएको मानिन्छ। मंसिर महिनामा जौ, गहुँ, लगायतका मुख्य खेतीबाली लगाउने काम सकिएपछि आराम, कृतज्ञता र सामूहिक सांस्कृतिक अभिव्यक्तिका रूपमा यो पर्व मनाइने परम्परा छ।

असारमा लगाएको धान, कोदो, मकै लगायत बाली भित्र्याएर गहुँ, जौ लगाएपछि गोरुलाई आराम दिने र किसान स्वयं पनि आराम गर्ने दिनका रूपमा मैझाडो मनाइन्छ। २०७० सालयता गाउँलेकै पहलमा यो पर्व ‘किसान दिवस’ का रूपमा भव्यताका साथ निरन्तर मनाइँदै आएको स्थानीय केशव बोहरा बताउँछन्। २०७० सालअघि भने स्थानीय धामीले तोकेको दिन मैझाडो मनाइन्थ्यो।

किसानहरूले वर्षभरको मेहनतपछि बाली भित्याउने हिउदे बाली लगाइसके पछि प्रकृति, गाउँका देवता र पुर्खाप्रति आभार व्यक्त गर्दै मैझाडो पर्व मनाउने गरेका छन्। ३ नम्बर वडाका वडा अध्यक्ष गोरख बोहराका अनुसार खेती–पाती सकिए पछिकै कृतज्ञता, सामाजिक एकता र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले किसान समुदाय यस पर्वलाई विशेष मान्दछन् । स्थानीयका अनुसार यो पर्वले अगामी वर्षमा राम्रो उत्पादन, पशुधनको सुरक्षा र परिवारमा शान्ति आउने, समाजिक एकता कायम भई भाईचारको सद्भाव बढ्ने बिश्वास रहँदै आएको छ।

पर्वको विशेष आकर्षणको रूपमा चार जातका करिब चार सय हल (बल्द) गोरुहरू एकै ठाउँमा जम्मा गरिने, धामीले घण्ट बजाउँदै आवाज सुन्ने परम्परा पालना गरिने, तथा यदि त्यो आवाज गुञ्जन समय भित्र (बल्द) गोरूको काँध माथि राखेको जु खोइ अथवा निकालि सक्नु पर्ने हुन्छ, यदि त्यसो गर्न सकिएन भने अनिष्ट संकेत मानिने धार्मिक विश्वास पनि कायमै छ।

मन्दिर परिसरमा देवी–देवताको पूजा– अार्चना सहित परम्परागत विधिहरू आज दिनभर सञ्चालन हुनेछन्। सांस्कृतिक पक्षमा भने स्थानीय समुदायले डेउडा, चाली, मागल, भुवा लगायतका मौलिक नृत्य–गीत प्रस्तुत गर्ने गरेको छ। मेला हेर्न आसपासका गाउँ तथा जिल्लाबाट आएका मानिसको भीडले धल्काँडाको वातावरण उत्सवमय बनेको छ। पुर्खादेखि चलिआएको यो परम्परालाई पछिल्लो पुस्ताले निरन्तरता दिइरहेका छन्। खेतीपातीमा व्यस्त हुने किसानहरूका लागि मैझाडो पर्व आराम, खुसी र सामाजिक मेलमिलापको विशेष अवसर मानिन्छ।

आधुनिकताको प्रभाव र बाहिरी संस्कृतिको बढ्दो प्रभावले यस पर्वको संरक्षण चुनौतीपूर्ण बन्दै गएको भए पनि युवापुस्ता यसको पुनर्जीवनमा सक्रिय हुँदै गएको स्थानीय संस्कृतिका जानकार पुर्व वडा अध्यक्ष मान बहादुर बोहराको भनाइ छ। त्यहाँका स्थानीय बासिन्दाले यो पर्वलाई गाउँको पहिचान, संस्कार र मौलिकता जोगाउने महत्वपूर्ण सम्पदा भन्दै यसको थप संरक्षण तथा प्रवर्द्धनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। यता गौमुल गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि पर्वमा उपस्थित भई मौलिक संस्कृति जोगाउन पालिका सहयोग गर्न तयार रहेको बताएका छन्। धल्काँडामा आज रातभर मेला, लाग्ने र देउडा खेलहरू खेलिने छन्।

गोरुलाई माया र गोरुको कामप्रतिको सम्मान नै यो पर्वको मुख्य मान्यता हो। वर्षौंदेखि मनाइँदै आएको यस चाडलाई युवापुस्ताले पनि विशेष रुचिका साथ निरन्तरता दिने गरेको स्थानीय केशव बोहरा बताउँछन्। प्रविधिको विकास, बदलिंदो जीवनशैली र युवामा देश छोड्ने लहडका बीच यस्तो मौलिक पर्वलाई निरन्तरता दिनु चुनौती रहेको पनि उनी बताउँछन्।

केशवको जस्तै गुनासो गर्छन् मानबहादुर पनि। खेती गर्नेहरूले गोरुको सट्टा बिस्तारै ट्र्याक्टरको प्रयोग गर्न थालेका कारण यो पर्व हराउने पो हो कि भन्नेमा चिन्तित छन् उनी। “गोरु भनेको घरको बलियो खम्बा हो। गोरु नभई कुनै पनि बाली लाग्दैन। गोरुलाई किसानको सहाराका रूपमा पनि हेर्ने गरिन्छ तर हरेक दिन गाउँ रित्तिंदै छ,” मानबहादुरले भने, “गोरु पाल्ने चलन घटेको छ। खेतबारी बाँझो देखिन थालेका छन्।”

चर्चामा

सम्बन्धित समाचार